Latest Updates :

डोल्पामा अहिलेसम्म कै ठूलो सडक दुर्घटना,सबैको ज्यान बचाउन सकिएन:प्रमुख जिल्ला अधिकारी!

SHARE THIS POST :
दुनै : डोल्पामा जिप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। एक जना बेपत्ता छन् भने दुई जनाको उद्धार गरिएको छ। सदरमुकाम दुनैबाट १३ यात्रु बोकेर त्रिपुरासुन्दरी नगरपालिकाको सुँपानी जाँदै गरेको भे१ज १६११ नम्बरको जिप ठूली भेरी नगरपालिका ९ कालागौंडामा दिउँसो साढे दुई बजेतिर भेरीमा खसेको थियो।घटनामा परी मृत्यु हुनेमा त्रिपुरासुन्दरी १ का ६५ वर्षीय नरसिंह कठायत, ४८ वर्षीय हेमराज हमाल, २५ वर्षीय शेरबहादुर थापा, वडा नम्बर २ का २४ वर्षीय कुमार रोकाया, १३ वर्षीया अस्मिता रोकाया, वडा नम्बर ३ का ४५ वर्षीय बोध धराला, १५ वर्षीया मनिषा धराला, वडा नम्बर ५ की २५ वर्षीया लक्ष्मी रोकाया, १२ वर्षीय यम रोकाया र ठूलीभेरी ५ का भद्र रोकाया छन्। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो।

त्रिपुरासुन्दरी ३ की २२ वर्षीया अमिना बुढा बेपत्ता छिन्। चालक दिनेशबहादुर बोहोरा र यात्रु नन्दबहादुर थापा गम्भीर घाइते छन्। घाइते दुई जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ। थापा त्रिपुरासुन्दरी २ का वडाध्यक्ष हुन्। उनको टाउकोमा १० सेमि टाका लगाइएको छ। चालक दिनेशको कम्मरमा चोट लागेको जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर हिमबिक्रम शाहीले जानकारी दिए।घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले तत्काल उद्धार गरेका थिए। जिप भेरीमा डुबेपछि जीवितै उद्धार गर्न नसकिएको प्रहरी नायब उपरीक्षक अवधेश विष्टले बताए। शवहरू पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

जिप दुर्घटनापछि दुनै शोकमा डुबेको छ। यो घटना डोल्पाको इतिहासमै ठूलो भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए। उनले भने, ‘ डोल्पामा आजसम्म १८ जनाको ज्यान गइसकेको छ तर यो घटना सबैभन्दा ठूलो हो। म धेरै दुःखी छु। सकेजति उ द्धार भयो, तर सबैको ज्यान बचाउन सकिएन।’हेमराज हमाल लिकु संयुक्त क्याम्पसका प्रमुख हुन्। उनी त्रिपुराकोट माविका प्रधानाध्यापक थिए। तिहार मनाउन घर जाँदै गरेकी १३ वर्षीया अस्मिता रोकायाले समेत ज्यान गुमाइन्।चालक बोहोराले भने, ‘उकालोमा गाडीको गति राम्रै थियो। ब्रेकले काम गरेन। मैले मोडमा मोड्न प्रयास गरें। त्यसपछि मलाई केही थाहा छैन।’ घाइते यात्रु थापाले पनि भेरीमा गाडी खसेपछि आफू बेहोस भएको बताए। डाक्टर शाहीका अनुसार दुवैको अवस्था गम्भीर रहेको छ।

राजमार्गसँग नजोडिएको जिल्लामा झण्डै २८ किलोमिटर आन्तरिक सडकमा जिप सञ्चालन भइरहेका छन्। धुलैधुलो, कच्ची र घुम्ती नै घुम्ती रहेको डोल्पाको सडकमा २०६९ सालको फागुनमा हेलिकप्टरबाट जिप पुर्‍याइएको थियो। डोल्पामा १० वटा निजी जिप चलि रहेका छन्। तर, सडक विभागले अनुमति दिएको छैन। ती जिपहरू डोल्पाको आन्तरिक सडकमा दुनै जुफाल, दुनै सुँपानीमा यात्रु र सामान ढुवानी गर्छन्।यसैबीच डोल्पा (ख) का प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जिप दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकहरू प्रति श्रद्धाञ्जली एवं घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger