Latest Updates :

किन हुन्छ ट्राफिक जाम सिंहदरबारभित्र

SHARE THIS POST :
काठमाडौं। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा दैनिक २ हजार ५ सयभन्दा बढी मानिस प्रवेश गर्ने गरेका छन्। संविधानअनुसार सिंहदरबारको अधिकार गाउँगाउँमा पुगे पनि नागरिकहरू भने सिंहदरबार धाउन क्रम घटेको छैन।

संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार गठन भएर सञ्चालन आए पनि विकास निर्माणका योजनाको र सरुवा बढुवाको काम लिएर नागरिकहरू सिंहदरबार धाउने क्रम अझै जारी छ। संविधानले नै अधिकार स्थानीय तहमा प्रत्यायोजन गरे पनि स्थानीय तहका जनप्रतिनिधिहरू अहिले विकास योजना र कर्मचारीको माग गर्दै सिंहदरबार प्रवेश गर्ने क्रमलाई तीव्रता दिइरहेका छन्।
सिंहदरबारमा रहेको चारवटा गेटबाट दैनिक २ हजार ५ सय मानिस प्रवेश गर्ने गरेको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले बताएको छ।

प्रहरीका अनुसार दैनिकरूपमा १ हजार ५ सय चारपांग्रे सवारी साधन र २ हजार मोटरसाइकल सिंहदरबार प्रवेश गर्ने गरेका छन्। चारवटा गेटमध्ये दक्षिण गेट मात्र सर्वसाधारणका लागि सञ्चालनमा छ। दक्षिण गेटबाटै प्रवेश गर्ने र बाहिरिने गरेको कारण ट्राफिक जाम हुने गरेको छ। सिंहदरबारभित्र पर्याप्त पार्किङ नभएको कारण फुटपाथमा समेत सवारी साधन पार्किङ हुने थालेपछि अहिले भने ट्राफिक प्रहरीले व्यवस्थित गर्ने काम गरिरहेको छ।
सिंहदरबारको पश्चिम गेटबाट चारपांग्रे सवारी साधन जसमा सरकारी कर्मचारी मात्र आवतजावत गर्न पाउँछन्। त्यसैगरी पश्चिम गेटबाट बिहान ९ देखि ११ बजे र ४ बजेदेखि ६ बजेसम्म मात्र सरकारी कर्मचारीहरू मात्र आवतजावत गर्न पाउने प्रावधान रहेको छ।

सिंहदरबारभित्रको सुरक्षा व्यवस्थालाई ख्याल गर्दै हाल २९ वटा सीसी क्यामेरा जडान गरिएको छ। महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक अजय केसीले सिंहदरबारको सुरक्षालाई ध्यान दिएर २४सै घण्टा सञ्चालन हुन गरी सीसी क्यामेरा जडान गरिएको बताए।

उनले भने– ‘सिंहदरबारभित्र प्रवेश गर्नका लागि अहिले दक्षिण गेट मात्र सञ्चालनमा छ, एउटै गेटबाट आवतजावत गर्दा समस्या छ, पूर्वी गेटबाट सर्वसाधारण र सवारी साधन बाहिरिने गरी हामीले प्रस्ताव गरेका छौं।’सिंहदरबारमा कार्यालय समयमा सवारी साधन र पाटपुर्जा हराउने घटनाको कारण प्रहरीले हाल बाहिरिने सवारी साधनलाई समेत चेकजाँच गर्ने गरेको छ।

सिंहदरबारको दक्षिण गेटमा दैनिकरूपमा प्रवेश गर्नका लागि लाइन लाग्ने गरेको छ। गृह मन्त्रालयअन्तर्गत रहेको सुरक्षा समन्वय समितिले सिंहदरबारभित्र प्रवेश गर्नेका लागि एकद्वार प्रणालीमार्फत प्रवेश गराउने गृहकार्य अगाडि बढाएको छ। हाल हरेक मन्त्रालयले गेटमा प्रवेश पासका लागि पठाउने गरेका छन्। प्रहरीका अनुसार मन्त्रीको सचिवालयले धेरै पास वितरण गर्ने गरेका छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूको सचिवालयले बनाएको कार्ड देखाएर समेत अहिले सिंहदरबार प्रवेश गर्ने गरेकाले समस्या भएको बताउँदै प्रहरीले सिंहदरबार प्रवेश गर्नका लागि एकद्वार प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिँदै आएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयले गृहकार्य गरिरहेको छ।
स्रोत: समाचारपत्र दैनिक



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger