लाखौँ खर्चेर विदेशी सिकारीले आरक्षका लागि खुला गरिएका विभिन्न सिकार ‘ब्लक’मा पुगी सिकार खेलेका थिए ।
सिकारबाट ४६ लाख १६ हजार रुपैयाँ राजस्व उठेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । कार्यालयका अनुसार पहिलो सिकारयाममा चारवटा झारल र नौवटा नाउरको सिकार भएको थियो भने दोस्रो याममा ६ वटा झारल र १० वटा नाउरको सिकार गरिएको थियो ।
सिकारका लागि ६ ब्लक खुला
आरक्षका घुस्तुङ, बार्से, सेङ, दोगाडी, फागुने, र सुनदह गरी ६ ‘ब्लक’मा सिकार खेल्न अनुमति दिइन्छ । सिकारका लागि नेपाल वाइल्डलाइफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज र ट्र्याक एन्ड टे«ल्स प्रालिमार्फत सिकारी ढोरपाटन पुगेका थिए । सिकारीले रोजेको ‘ब्लक’मा लगेर कम्पनीले सिकार खेलाउने गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकारयाममा बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्वदर निर्धारण गर्ने गरेको छ । यो वर्ष २० नाउर र ११ झारलको कोटा भए पनि १९ झारल र १० नाउरको मात्र सिकार भएको हो । सिकारको माग बढी हुँदा राजस्वदर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।
झारलबाट दुई लाख २१ हजार राजस्व
प्रतिस्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले सिकार गराउने अनुमति पाउने गरेका छन् । यो वर्ष प्रतिस्पर्धा कम हुँदा सिकारको राजस्वदर पनि घटेको आरक्ष कार्यालयले जनाएको छ । नाउर सिकारको अधिकतमदर एक लाख १५ हजार र झारलको दुई लाख २१ हजार रुपैयाँ कायम भएको थियो । सिकार कम्पनीले केही वर्षअघि एउटा झारल सिकारको १३ लाख पाँच हजारसम्म बुझाएका थिए । सिकारको दर बढ्दा वार्षिक करोडभन्दा बढी राजस्व उठ्ने गरेको छ ।
१५ दिनसम्म चल्छ सिकार
बन्दुक, गोलीगट्ठा र सहयोगीसहित सिकारी सिकार खोज्न आरक्ष छिर्ने गरेका छन् । खर्चिलो र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचाउँछन् । विदेशी सिकारीसहितको टोलीले १५ दिन सिकारमा बिताउने गरेका छन् ।
सिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वेजस्ता देशबाट पेसेवर सिकारी बर्सेनि ढोरपाटन आउने गरेका बरालले जानकारी दिए । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन सिकार आरक्ष विदेशीको आकर्षक गन्तव्य मानिन्छ । सिकार आरक्ष क्षेत्रमा होमस्टे सञ्चालनका लागि ढोरपाटन नगरपालिकाले पहल थालेको छ । मध्यपहाडी लोकमार्गमा यातायात नियमित सञ्चालन भएसँगै आरक्ष क्षेत्रमा पर्यटक बढ्दै गएका छन् । सिकार आरक्ष बाह्य र आन्तरिक पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनेको छ ।
Post a Comment