कालिन्जोर स्वास्थ्यचौकीमा स्वास्थ्य प्रयोगशाला सञ्चालन भएको छ । सिन्धुलीको सीमाक्षेत्रनजिक दुर्गम गाउँको स्वास्थ्यचौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना भएपछि स्थानीय खुसी भएका छन् । प्रयोगशालामा न्यूनतम शुल्कमा दिसा, पिसाब, रगत, खकार र मलेरियाको जाँच गर्न सकिने स्वास्थ्यचौकीका इन्चार्ज सुरेन्द्र खतिवडाले जानकारी दिए ।
‘खकार र मलेरिया परीक्षण गरेको पैसा लाग्दैन,’ खतिवडाले भने, ‘रगत र दिसा–पिसाब परीक्षण गर्नुपरे थोरै शुल्क लिएर सेवा दिन्छौँ ।’ गाउँकै स्वास्थ्यचौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना भएपछि स्थानीयलाई स्वास्थ्य परीक्षणका लागि लालबन्दी, हरिवन, बर्दिवासलगायतका ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।
प्रयोगशाला सञ्चालनका लागि राष्ट्रिय प्रयोगशाला टेकु, काठमाडौंले उपकरण र ईश्वरपुर नगरपालिकाले प्राविधिक सहयोग गरेको स्वास्थ्यचौकीका इन्चार्ज खतिवडाले जानकारी दिए । सर्लाहीका केही स्वास्थ्यचौकीमा मात्र स्वास्थ्य प्रयोगशालाको सुविधा उपलब्ध छ ।
स्थानीय वासिन्दालाई गाउँघरमै सहज र सुलभ स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनले बताए । स्वास्थ्य प्रयोगशालामा रहेका उपकरण सञ्चालनका लागि तालिमप्राप्त प्राविधिक र चिकित्सकको व्यवस्था गरिएको ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार देवकोटाले जानकारी दिए ।
Post a Comment