Latest Updates :

खदीमा पहिलो पटक पुग्यो सडक

SHARE THIS POST :
रुकुम(पश्चिम)को आठबीसकोट नगरपालिका वडा नम्बर ३ खदी गाउँमा सडक पुगेको छ । नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ४५ लाख बजेटबाट उक्त वडाकै बसेराबाट खदी गाउँमा बाटो पु¥याईएको हो ।

बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकालाई जोडने फालेमेगौडा, नदुवा, खदी सडकखण्ड अन्तरगत बसेरासम्म सडक विभागको खर्चमा अघिल्लो वर्षनै सडक पुगेको थियो । त्यहाँबाट ७ किलोमिटरको दुरीमा चालु आर्थिक वर्षमा नगरपालिकाको खर्चमा सडक खनिएपछि खदी गाउँमा पहिलो पटक सडक पुगेको हो ।

साविकको स्यालाखदी गाविसमा पर्ने उक्त ठाउँमा पहिलो पटक सडक पुगेपछि त्यहाँका नागरिकहरु हर्षित भएका छन् । पहिलो पटक गाउँमा सडक पुगेपछि यातायातका साधन सञ्चालनमा आउने भन्दै वडावासी हर्षित भएका हुन् । गाउँमा सडक पुगेपछि नगरपालिकाको केन्द्र तथा सदरमुकाम सहित अन्य ठाउँमा आवत जावत गर्नका लागि पैदल हिँड्नुपर्ने बाध्यता अब हट्ने खदीवासीको भनाई छ । गाउँमा पहिलो पटक सडक पुगेपछि खदीवासीले सडक खन्न प्रयोग भएका डोजर चालकलाई भव्य स्वागत गरेका थिए ।

बैकल्पिक सडकका रुपमा प्रयोग गरिने
फालेमेगौडा, नदुवा, खदी सडक खण्ड अन्तरगत वडा नं. ३ खदी गाउँमा सडक पु¥याईएपनि यसलाई मुख्य सडकका रुपमा भने नलिईएको नगर प्रमुख गोर्खवहादुर केसीले बताए । राज्य पुनर्संचना नहुँदै सदरमुकाम मुसीकोटलाई लक्षित गरेर सर्वे गरिए अनुसार सडक खनिएकाले यो सडक नगरपालिकाको केन्द्रका लागि त्यति उपयुक्त नभएको उनको भनाई छ ।

‘पहिलो कुरा नगरपालिकाको केन्द्र राडिमा पुग्न यो सडक निकै लामो छ ।’ उनले भने, ‘समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटरको उचाईमा रहेकाले हिउँ तथा वर्खामा हिलोले गर्दा यो सडक बाह्रै महिना चल्न गाह्रो छ ।’ अहिलेलाई यहाँ बाटो पुग्नुनै ठुलो कुरा भएको र अव आगामि आर्थिक वर्षमा राडिबाट छोटो बाटो निर्माणको काम सुरु हुने प्रमुख केसीले जानकारी दिए ।

हाल रहेको सडक मार्फत नगरपालिकाको केन्द्र राडिबाट खदी पुग्न ४५ किलोमिटर दुरी पार गर्नुपर्छ । तर नगरपालिकाले निर्माण गर्न लागेको सडकको दुरी भने २१ किलोमिटर मात्र छ । उक्त सडक निर्माणका लागि नगरपालिकाले करिब पाँच करोड लाग्ने अनुमान गरेको छ । नगर प्रमुख केसीका अनुसार एक करोड नगरपालिकाका तर्फबाट विनियोजन भैसकेको छ भने आरसिआई डब्लुबाट ३० लाख प्राप्त हुने र बाँकी सहयोग संघ तथा प्रदेशको समपुरक कोषबाट छुट्याउँनका लागि अनुरोध गरिने छ ।

वडा नं. १ मा अझै सडक पुग्न बाँकी
साविकको स्यालाखदी गाविसमा हाल १, २ र ३ नम्बर वडा बनेकामा अझै वडा नं. १ मा सडक पुग्न बाँकी रहेको नगर प्रमुख केसीले जानकारी दिए । ‘हामी निर्वाचित हुँदा नगरका १४ मध्ये ६ वडालाई सडकले छोएकै थिएन ।’ उनले भन, ‘चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट पाँच वटा वडामा सडक पु¥याउँन सफल भएका छौं । अब नगरको १ नम्बर वडामा मात्र सडक पुग्न बाँकी छ ।’ उक्त वडामा पनि अर्को आर्थिक वर्षमा सडक पुगिसक्ने उनको भनाई छ । आफुहरु निर्वाचित भएपछि ८० किलोमिटर बढी नयाँ सडक खनिएको नगरप्रमुख केसीले बताए ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger