Latest Updates :

मोदी आउँदा अघि बढेको पशुपतिमैत्री धर्मशाला निर्माणकार्य अन्तिम चरणमा

SHARE THIS POST :
काठमाडौँ । नेपाल–भारत पशुपतिमैत्री धर्मशाला निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। शिलान्यास भएर १६ वर्षसम्म बन्न नसकेको धर्मशाला विसं २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको पशुपतिनाथ मन्दिरमा दर्शन एवं विशेष पूजासहितको भ्रमणपछि अघि बढेको थियो।

हाल रंग रोगन, बत्ती, धारा जडानलगायत केही प्राविधिक काम मात्र बाँकी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिए।

मैत्री धर्मशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, पूर्वसांसद डा राजन भट्टराई, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, महानगरपालिका वडा नं ८ का अध्यक्ष दीनेश डंगोललगायतले निरीक्षण गरे।

तीनतारे होटलको सुविधा हुनेगरी निर्माण गरिएको धर्मशालाका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको कोषले जनाएको छ। धर्मशाला निर्माणपछि नेपाल, भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सकिने विश्वास गरिएको छ।

तिलगंगा आँखा अस्पतालको दक्षिण पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ५९ कोठा छन्।

चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ। धर्मशालामा एकैपटक ४०० तीर्थयात्री बस्न सक्नेछन्। यसले गर्दा नेपालको धार्मिक एवं आध्यात्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको कोषका सदस्य सचिव डा. ढकालले बताए।

“डेढ महिनामा रंगरोगनलगायत पानी, बत्ती जडानको काम सकेर मैत्री धर्मशाला उद्घाटन हुनेछ, सञ्चालनमा आएपछि धार्मिक पर्यटकका लागि सुविधा बढ्ने विश्वास छ, योभन्दा सुविधा सम्पन्न अर्को धर्मशाला तिलगंगा क्षेत्रमै निर्माणका लागि गृहकार्य भइरहेको छ”, उनले भने।

धर्मशालाको निर्माणपछि निम्न वर्ग र निम्न मध्यम वर्गका यात्री पनि बस्न सक्नेगरी सहुलियतको व्यवस्था गरिने कोषले जनाएको छ। हाल पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई सुविधा सम्पन्न धर्मशालाको व्यवस्था नहुँदा महंगो होटलमा बस्न बाध्य हुने गरेका छन्। विसं २०५८ देखि विभिन्न व्यक्तित्वले चारपटक धर्मशालाको शिलान्यास गरेका थिए। जसमा शंकराचार्य जयन्द्र सरस्वती र राष्ट्रियसभाका पूर्वअध्यक्ष बेनीबहादुर कार्कीलगायत थिए।

गत चैतमै निर्माण सम्पन्न हुने भनिए पनि केही काम बाँकी रहेकाले भदौसम्ममा सकिने जनाइएको छ। धर्मशाला निर्माणको ठेक्का रमण÷लामा जेभीले पाएको थियो। नेपाली शैलीमा निर्माण हुने धर्मशालामा मल्लकालीन रातो इँटा ‘दचि अपा’ को प्रयोग गरिएको कोषले जनाएको छ।

निरीक्षणपछि मन्त्री अधिकारीले धर्मशालासम्म जाने सडक मर्मतका लागि सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ र ढल निर्माणका लागि खानेपानी तथा ढल निकास विभागलाई निर्देशन दिए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger