Latest Updates :

४० वर्षे बुढो क्रिकेट कप्तान, जसले आफ्नो देशलाई विश्वकप दिलाएर सन्यास लिए

SHARE THIS POST :

एजेन्सी। पाकिस्तानका पूर्व क्रिकेटर इमरान खान अहिले देशको प्रधानमन्त्री बन्ने संघारमा छन् । १९९२ को विश्वकपको फाइनलमा कप्तानको हैसियतमा आफ्नो देशलाई विश्वकपको उपाधि दिलाएपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका इमरान त्यसको २६ वर्षपछि देशकै नेतृत्व गर्ने ठाउँमा पुगेका छन् । उनले १९९२ मा पाकिस्तानलाई विश्वकप दिलाउँदै पाकिस्तानी क्रिकेटमा नयाँ क्रान्ति ल्याएका थिए । उनलाई पाकिस्तानका अहिलेसम्मकै सबैभन्दा सफल क्रिकेटर मानिन्छ ।

१९९२ को त्यो विश्वकप अस्ट्रेलिया र न्यूजिल्याण्डमा भएको थियो । यो विश्वकपको इतिहासमा दोस्रो पटक थियो जब विश्वकप इङल्याण्डभन्दा बाहिर खेलिँदै थियो । २५ मार्च १९९२ मा अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्डमा पाकिस्तान र इङल्याण्डबीच विश्वकपको फाइनल खेलिएको थियो । यतिबेला पाकिस्तानका कप्तान इमरान खान थिए र इङल्याण्डका कप्तान ग्राहम गुच थिए । यो पाँचौं आधिकारिक विश्वकप थियो र यसको फाइनलमा पाकिस्तानले २२ रनले खेल जित्दै विश्वविजेता बनेको थियो ।



यो विश्वकपमा अस्ट्रेलियाले पहिलो पटक विश्वकप आयोजना गर्ने अवसर पाएको थियो । फाइनलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २४९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान इमरान खानले सर्वाधिक ७२ रन बनाएका थिए । २५० रनको लक्ष्य पच्छ्याएको इङल्याण्डले ४९.२ ओभरमा २२७ रन बनाएर अलआउट भयो ।

यो फाइनल नै इमरान खानको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो । यो विश्वकप जितेसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । यो फाइनल हुँदा इमरानको उमेर ४० वर्षको थियो । इमरान ५ अक्टोबर १९५२ मा जन्मिएका हुन् । अहिले उनी ६६ वर्षका भएका छन् । सामान्यतया खेलाडीहरु ४० वर्षको हुँदा रिटायर भइसक्छन् तर इमरानले यतिबेला कप्तानी इनिङ खेल्दै आफ्नो देशलाई विश्वकपको उपाधि दिलाएका थिए ।

इमरान अलराउण्डर हुन् । उनले यो विश्वकप फाइनलमा एक विकेट पनि लिएका थिए । इमरानले आफ्नो २० वर्षे करिअरमा ब्याटिङतर्फ ८८ टेस्टको १२६ इनिङमा ३ हजार ८०७ रन बनाएका छन् । टेस्टमा ६ शतक र १८ अर्धशतक बनाएका इमरानको उच्चतम स्कोर १३६ रन छ । वन डेतर्फ इमरानले १७५ वन डेमा १५१ इनिङ खेल्दै ३ हजार ७०९ रन बनाएका छन् । वन डेमा उनले १ शतक र १९ अर्धशतक बनाएका छन् । वन डेमा उनको उच्चतम स्कोर नटआउट १०२ रन छ ।

बलिङतर्फ ८८ टेस्टको १४२ इनिङमा १९ हजार ४ सय ५८ बल फालेका छन् । यसमा उनले ८ हजार २५८ रन दिँदै ३६२ विकेट लिएका छन् । उनको टेस्टमा बेस्ट बलिङ इनिङ ५८ रनमा ८ विकेट र बेस्ट बलिङ म्याच ११६ रनमा १४ विकेट छ । वन डेमा उनले १७५ वन डेको १५३ इनिङमा ७ हजार ४६१ बल फालेका छन् । यसमा उनले ४ हजार ८४४ रन दिँदै १८२ विकेट लिएका छन् । उनको वनडे बेस्ट बलिङ इनिङ १४ रनमा ६ विकेट छ । उनले टेस्टमा २८ र वन डेमा ३६ क्याच लिएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger