Latest Updates :

रहस्यमय बन्दै दुई धामीको हत्या : पक्राउ परे २४ भन्दा बढी गाउँले

SHARE THIS POST :
धादिङबेसी।  गत शनिवार गाउँलेको कुटाइबाट हत्या गरिएको भनिएको घटना रहस्यमय बन्दै गएको छ । सदरमुकाम धादिङबेसीबाट २ दिनको पैदल दुरीमा रहेको गंगा–जमुना गाउँपालिका–२ को लताव गाउँमा शनिवार २ स्थानीय धामी ६५ वर्षीय साइँला तामाङ र ५५ वर्षीय नरुङ्ग तामाङको स्थानीयबासीको कुटाइबाट मृत्यु भएको थियो ।

गाउँलेको सामुहिक कुटाइपछि ज्यान गुमाएका भनिएका २ धामीको शव तत्कालै जलाएपछि मात्रै घटना बाहिर आएको हो । शनिवार दिउँसो घटना भए पनि साँझतिर पीडित परिवारले दार्खास्थित प्रहरी चौकीमा खबर गरेपछि मात्रै हत्या प्रकरण बाहिर आएको थियो ।

घटनाको खबर पाएपछि दार्खा प्रहरी चौकीबाट प्रहरी खटिएको थियो । तर गाउँलेकै मिलेमतोमा हत्या भएकाले सानो संख्याको प्रहरी टोली असुरक्षित बन्ने भएकाले त्यही दिन घटनास्थल पुग्न सकेको थिएन ।

आइतबार जिल्ला सदरमुकाम धादिङबेीबाट डिएसपी रामबहादुर केसीको नेतृत्वमा ६० जना भन्दा बढी सशस्त्र र नेपाल प्रहरीको टोली सोमबार अपरान्ह घटनास्थल पुगेका थिए । गाउँसम्म पुग्ने मोटरबाटो खनिए पनि लगातारको बर्षाले गाडी नचल्दा प्रहरी पुग्न समस्या भएको थियो ।

घटनापछि आइतवार घटनास्थल पुगेका गाउँपालिका उपाध्यक्ष एन्जिला तामाङसहितको टोलीलाई शव जलाइएको भन्दै गाउँलेले फर्काइदिएको वडाअध्यक्ष फैसिंह तामाङले बताए । अन्नपूर्णसँगको टेलिफोन कुराकानीमा फैसिङले भने, ‘घटना मेरै वडामा भए पनि मेरो गाउँ भन्दा टाढा छ लताव गाउँ । २ जनाको मृत्यु भएको विषयमा कुरा बुझ्न जाँदा हामीलाई गाउँललेले केही बताउन मानेनन् ।’

वडाअध्यक्ष फैसिङका अनुसार धामी र गाउँलेबीच यसअघि पनि विवाद हुने गरेको थियो । त्यही विवाद फेरि बल्झिएपछि ज्यान लिइएको हो । ‘पहिले पनि धामीझाँक्री बसेको बेला गाउँलेलाई तथानाम आरोप लगाउने गरेका थिए, गाउँलेलाई बोक्सी आरोप लगाउने गरेको भनेर पहिले पनि कुटपिट भएको रहेछ’ घटनास्थलमै पुगेका वडाअध्यक्ष तामाङले भने, ‘शनिवार पनि पहिलेकै विवाद  दोहोरिँदा दुवैको ज्यान लिइएको खुल्यो ।’ कुटपिटबाट मृत्यु भएपछि गाउँले मिलेर शव जलाइदिएको पनि उनले बताए ।

घटनाको अनुसन्धानको लागि खटिएको प्रहरी टोली स्थलगत अनुसन्धान गरेर फर्किएको छ । । अनुसन्धानका क्रममा २४ जना भन्दा धेरै स्थानीयलाई नियन्त्रणमा लिइ जिल्ला सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

‘घटनास्थल र शव जलाइएको स्थानमा अनुसन्धान गरेर टोली फर्किएको छ । नियन्त्रणमा लिएका सबैजनासँग प्रारम्भिक सोधपुछपछि जिल्ला अदातलमा म्याद थप गरेर अनुसन्धान अघि बढाएका छौँ,’ जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख डम्बरबहादुर विकले भने, ‘हामीले संदिग्ध गाउँलेलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि ल्याएका छौँ । सवै दोषी नहुन सक्छन्, त्यसकारण सबै कुरा बताउन मिल्दैन । थप अनुसन्धानपछि मात्रै घटना र त्यसका दोषीबारे थप तथ्य बाहिर ल्याउने छौँ।’




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger