Latest Updates :

कालीकोटका तीनवटा गाउँ पहिरोको उच्च जोखिममा

SHARE THIS POST :


रुपेन्द्र ऐडी

कालीकोट। जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन्। वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन्। ती गाउँमा कुनै पनि निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन्। वर्षौंदेखि सुक्खा पहिरोले सताएको पचालझरनाको खार्दु, शुभकालिकाको छाती र नरहरिनाथको माझगोठीमा समस्या आएको छ।

लगातारको वर्षाले गर्दा तीन स्थानका बासिन्दाको निद्रा हराम हुने गरेको पचालझरनाका चम्फसिं बस्नेतले बताए। उनका अनुसार सुक्खायाममा गएको पहिरोको डरले अहिले बस्तीका बासिन्दा गाउँमा भन्दा पनि गोठतिर स्थायी बसोबास गर्न थालेको दुई वर्ष भइसकेको छ। तलतिर गाउँ छ, माथिल्लो भाग दरार भएर जोखिमयुक्त गाउँमा बस्न असुरक्षाका कारण अधिकांश स्थानीयबासी खार्दुको गाउँ छाडेर डुंग्री, कांग्रे, डाँडागाउँ, खिब्लालगायतका ठाउँमा बसाइँ सरेको बताइएको छ।

अहिले पचालझरना गाउँपालिकाका वडा नं ३, साविकको राम्नाकोट गाविसको वडा नं ७, ८ र ९ रहेको सो बस्तीमा ३०० घरधुरी रहेको बताइएको छ। सो गाउँलाई पाँचवर्ष अघि बसाइँ अन्य जिल्लामा सार्ने भनिए पनि बेवास्ताका कारण जोखिम मोल्न बाध्य भएको स्थानीय बताउँछन्।

त्यसैगरी, शुभकालिका गाउँपालिकाको वडा नं १ छातीको बस्तीको तल्लो भागबाट पहिरो गएको एक वर्ष भयो कसैको ध्यान नगएका कारण अहिलेसम्म ती बस्तीका एक दर्जन घरका बासिन्दाको उठिबास भएको छ।

गएको वर्ष गोठमा बसेका स्थानीय हिउँदको समयमा घरमा आए पनि अहिले भने पुनः गोठमा फर्केका छन्। स्थानीय अर्जुन सुनारका अनुसार आफूहरुले पुनर्वासका लागि पहल चालेको भएपनि कुनै पनि निकायको ध्यान जान सकेको छैन। यस सम्बन्धमा शुभकालिका गाउँपालिकाका प्रमुख खडानन्द चौँलागाईले सो बस्तीका ११ घरपरिवारलाई वैकल्पिक व्यवस्थामा जोड दिएको बताउँदै अहिले अति जोखिममा रहेको अमृते सुनारलाई अन्यत्र व्यवस्था गरिएको र अन्य घरपरिवारलाई तत्काल उचित व्यवस्थापन गर्न लागेको बताएका छन्।

त्यसैगरी, पाँचवर्ष पहिलेदेखि पहिरोको जोखिममा रहेको नरहरिनाथ गाँउपालिका–४ को माझगोठीमा गाउँको तल्लो भागमा पहिरोले जमीन भाँसिदै गएपछि सो बस्तीका स्थानीयको विचल्ली भएको छ।

वर्षाको समयमा आफूहरु घर छोडेर बस्नुपर्ने बाध्यता आइलागेको बताउँछन् स्थानीय टेकबहादुर विक। ४० घर रहेको सो दलित बस्तीमा अहिलेसम्म गाउँपालिकालगायतका निकायमा बस्तीको जोखिम कम गर्नका लागि मागसहित पहल गरेपनि कसैको ध्यान नगएको बताउँदै जीवन विकले आफूहरुका लागि ध्यान दिने न त स्थानीय निकाय छ न त कुनै माथिल्लो सरकार, आफूहरुले राखेको माग पुनर्बास हो कुनै पनि निकायले ध्यान नदिएको जीवनको गुनासो रहेको छ।

यस सम्बन्धमा माझगोठीको समस्याबारे आफूहरु गम्भीर भएको उल्लेख गर्दै नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले निवेदन आएको र सो बस्तीको पुनर्बासका लागि स्थानान्तरण गर्न पहल भएको बताए। उनले भने, विपद् व्यवस्थापनका लागि त्यही योजनाका लागि बजेटको व्यवस्थापन गरेका छौँ।

उनले तुरुन्तै सो बस्तीमा उचित व्यवस्थापनमा जोड दिने दाबी गरेका छन्। आठवर्ष अघि हालको शुभकालिका साविकको मु्रगाह गाविसको समलागाउँ उच्च जोखिममा हुँदा पुनर्बासका लागि पहल भए पनि जिल्लाभित्र व्यवस्थापन गर्ने भनेपछि सो क्षेत्रका स्थानीयले नमान्दा सोही स्थानमा बसेका थिए। कालीकोटजस्तो हिमाली क्षेत्रमा भिरालो जमीन र त्यहीमाथि सुख्खा पहिरोका कारण वर्षेनी समस्या आउने गरेको छ।

जिल्लामा विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय किर्डाक नेपाल, नेपाल रेडक्रस लगायतले काम गर्दै आएपनि स्थायी व्यवस्थापनको अभावमा पुनः समस्या दोहोरिने गरेको सामाजिक अगुवा कमल महताराको भनाइ रहेको छ।

कालीकोट जिल्लामा विपद् व्यावस्थापनका लागि उच्च सतर्कता अपनाइएको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्दनाथ गौतमले बताए। उनले उच्च जोखिममा रहेको शुभकालिकालगायतका अन्य क्षेत्रको बारेमा जिल्ला प्रशासन कार्यालयमा आधिकारिक जानकारी केही नभए पनि जानकारी आएका ठाउँमा तत्काल व्यवस्थापन गर्ने बताए।

अहिलेसम्म कालीकोटमा मानवीय क्षति नभएको बताइएको छ। कर्णाली राजमार्गको सुर्खेत—जुम्ला सडकखण्डको गगने खोलालगायतका ठाउँमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ भने कर्णाली करिडोरको लालीघाट—पलांता सडकसमेत अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger