Latest Updates :

युद्धमा मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता

SHARE THIS POST :
सिओल। कोरियाली युद्धका क्रममा उत्तर कोरियामा मारिएका अमेरिकी सैनिकको अवशेष आज अमेरिकालाई हस्तान्तरण गरिएको छ। ती अवशेष ल्याउन एउटा अमेरिकी सैनिक बिमान उत्तर कोरिया पुगेको थियो। ह्वाउट हाउसले यो घटनालाई “सकारात्मक” कदम भनेको छ।

कोरियाली युद्ध समाप्तिको ६५औं वर्षका अवसरमा भएको यस अवशेष फिर्तीको घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ उनबीच हालै सिंगापुरमा सम्पन्न ऐतिहासिक सम्झौताको एक हिस्साका रुपमा लिइएको छ।

“यतिका वर्षपछि नै सही, धेरै आफन्तजनका लागि यो अपूर्व क्षण हो। धन्यवाद कीम जोङ उन,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन्।

ह्वाउट हाउसले अमेरिकी सैनिकको अवशेषको फिर्ती र “सकारात्मक परिवर्तनको यस क्षण”ले उत्साहित बनाएको जनाएको छ । “आजको यो कार्य उत्तर कोरियाबाट थप अरु सैनिकका अवशेष फिर्ता ल्याउनेतर्फ एक महत्वपूर्ण कदम हो । साथै, युद्धको समाप्ति पश्चात उत्तर कोरियाबाट स्वदेश फिर्ता नआएका अनुमानित ५,३०० अमेरिकी सैनिकको खोजी गर्न यसले मद्दत गर्नेछ,” ह्वाइट हाउसले भनेको छ।

उत्तर कोरियाली तटीय सहर वोनसानबाट सैनिकका अवशेष बोकेको सी–१७ नामको कार्गो बिमान दक्षिण कोरियास्थित ओसान अमेरिकी हवाई अखडामा अवतरण गरेको थियो। बिमानस्थलमा अमेरिकी सैनिकहरु लामबद्ध भई बिमानको प्रतिक्षामा थिए। ओसान पु–याइएका अवशेषलाई अमेरिकाको हवाइमा परीक्षण गरिनेछ।

दक्षिण कोरियास्थित संयुक्त राष्ट्रसंघीय कमान्ड (युएनसी) का अनुसार उक्त बिमानमा ५५ वटा अवशेष रहेका छन्। “व्यापक समन्वय पश्चात यो कार्य सफल भएको हो,” एक वक्तव्य जारी गर्दै युएनसीका कमान्डर जनरल भिन्सेन्ट ब्रूक्सले बताएका छन्।

युद्धका क्रममा कोरियाली प्रायःद्वीपमा ३५,००० भन्दा बढी अमेरिकीहरु मारिएका थिए जसमध्ये करिब ७,७०० अझै हराइरहेको मानिन्छ। अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका अनुसार तीमध्ये उत्तर कोरियामा मात्र ५,३०० जना हराएका थिए।

सन् १९९० र २००५ को अवधिमा, उत्तर कोरियाबाट २२९ वटा अवशेष फिर्ता गरिएका थिए, तर उत्तर कोरियाको आणविक हतियार कार्यक्रम पश्चात अवशेष खोजीका सम्पूर्ण कार्यक्रम बिथोलिएका थिए।

अमेरिकी अधिकारीहरुका अनुसार, उत्तर कोरियामा हस्तान्तरणका लागि करिब २०० थान अवशेष तयारी अवस्थामा छन्।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger