म परिवारलाइ बोझ मान्दिन। एउटा छोराको अभिभारा, श्रीमानको कर्तब्य र बाउको दायित्व थियो सब मेरो। बाआमाले आफ्नो गाँस काटाएर मेरो स्कुलको फि नतिरेका भए सायद अहिले म यो अवस्थामा हुने थिइन। २०६२ सालमा एस. एल. सि. दिएर राजधानी पसि एउटा सानो डेराभित्रबाट गुज्रिएर सुरु भएको मेरो जीवन २०६७ सालमा राजधानी नै बस्ने चितवनकी आशा तामाङसँग अन्तरजातीय बिबाह गरेको थिए। २०७२ साल बैशाख १२ गते गएको भुकम्पले गाउँ नै सखाप भएपछी बाआमालाइ पनि यहि शहर लेर्याएर अर्को डेरा थपी फराकिलो बनाएको थिए; मेरो आशाको मन जस्तै।
आशा! मेरि श्रीमती। म रुपको हैन दिलको पुजारी हुँ। होलान् उ केहि कमजोरी होला म भित्र पनि असंख्य कमजोरी होला तर हाम्ले सम्बन्धलाई कहिल्यै दाउमा राखेनौ। कमजोरिहरु औल्याउँदै अनि सुधार्दै र सम्बन्ध मजबुत बनाउदै गयौं। उसले धेरै पहिला मैले तलब नपाई जागिरबाट निकालिदिएपछी काधमा मुन्टो राखी ढाडस दिएकी छ। भान्सामा चामल सकिदा मन्दिरबाट अक्षता बटुलेर लेर्याइ `बाबाको र मेरो आज व्रत हो तिमिहरु खाओ´ भन्दै छोराछोरिको पेट भरेकी छ। बाआमाको प्यारी बुहारी बनेकी छ ।
हाम्रो सम्बन्धलाई समाजले अझै स्विकारेको छैन तर त्यस्ती दिलदार भोटिनिको लागि म यो समाजसग जस्तोसुकै परिस्थितिको सामना गर्न हरपल तयार थिए र छु पनि। सायद मेरा बाआमाले पनि अन्तरजातीय बिबाह गरेर होला मेरो बाआमा म र आशाको बिचमा कहिल्यै तगारो बन्नुभएन। त्यो भन्दा ठूलो अहोभाग्य मेरो लागि के नै हुनसक्थ्यो र?
आमा पहिला पहिला सुनाउनुहुन्थ्यो `तलाइ बुढेसकालमा पा’को मैले´ भनेर। बिहा हुदा नै आमाको उमेर तीस र बाको पैतिस थियो रे। त्यामाथी सातवटा छोरीहरु जन्मिएपछी मात्रै म जन्मिएको। अहिले म सत्ताइस बर्ष हुदा बुढेसकालले बाआमाको आँखामाथी पानी चढाउनु कुनै नौलो कुरा थिएन। म निजामती कर्मचारी। पेशा सम्मानित नै थियो। सानले सिंहदरबार पस्थे जागिर खान। यो शहरमा घरहरु अनगिन्ती छन। तर आफ्नो छैन। अर्काकै घरमा भएपनी भाडा तिरेर श्रीमतीलाई सानो तिनो पसल खोलिदिएको थिए। बिहान पसलमा म बस्थे आशा भान्साको काम गर्थिन। मेरो लागी हटकेसमा खाना प्याक भएर बसेको हुन्थ्यो। म हतार हतार हटकेस बोकेर सिंहदरबार तिर कुद्थे। बेलुका पनि उहीँ थियो मात्र न मलाइ हटकेस पर्खिन्थ्यो न मलाइ हतार नै हुन्थ्यो अपिस पुग्न। बेलुका पसल बन्द गरेर आएपछी सबै परिवार वरिपरि बसेर खान्थेम। साच्चै एक हिसाबले मेरो लागि पारिवारिक सुख स्वर्गीय थियो।
जिन्दगीको सत्ताइस वटा खडेरिका खुड्किला पार गरिसक्दा रोजगारी भएको भर्खर दुई बर्ष मात्र भएको थियो। जुन स्वाभाविक पनि हो। हाम्रो नेपालमा पढाइ पूरा गर्न जिन्दगीको एक भाग बितिसकेको हुन्छ। अझ मैले त आफ्नो औपचारिक पढाई सक्ने बित्तिकै जागिर पाएको थिए। अझै पनि कतिपय मेरा सहपाठिहरु `एउटा सानोतिनो जागिर मिलाइदे न यार´ भन्दै छन्। एक मनले आफ्नो जिन्दगी देखेर बेलाबेला खुसी पनि लाग्छ। परेको बेला दुइचार लाख खर्च गर्न बैंकमा पैसा पनि बचत छ , तामाको मुना जस्तै छोराछोरी हुर्किदैछन्। संसारमै खोजेर नपाइने सुन्दरी र सुशील श्रीमती छ। हरबखत उपदेश दिने बाआमा छन। उसो त पुर्ण रुपमा ब्यबहारिक भैसकेको थिए। तर पनि खै किन हो मनले घर अफिस, अफिस घर भनेर दिक्क मानिरहेको थियो। कहिलेकाही मन बैरागिन्थ्यो, खाएर मोजमस्ती गर्दै हल्लिदै हिड्नुपर्ने उमेरमा कति छिटो ब्यबहारिक भैयो भनेर। तर फेरि अर्को शान्तीबादी मनले घ्याच्य थिच्थ्यो `छोरा मान्छे जति छिटो व्यबहारमा पार्यो उति राम्रो´ भन्दै ।
कुरा दशै भन्दा ठिक केही दिन अगाडिको हो। दिनभरको कामले दिमाग ह्यङ्ग भएको थियो। बिहान खाना लेर्याएको हटकेसलाई हातमा झुन्ड्याएर भद्रकाली हुँदै भृकुटीमण्डप नीर आइपुगेको थिए खल्तीमा भएको मोबाइलले घुर्रर घुर्रर गर्दै तिघ्रा थर्कायो। फोन अरु कसैको थिएन २०६२ सालमा काठमाण्डौ आउदा पहिलोपटक चिनेको साथी सुनिलको थियो। पहिला हाम्रो डेरा नजिक नजिकै थियो प्राय सधैं भेट हुन्थ्यो। तर गत बर्षको असारमा उसले `पाठ्यक्रम बिकास केन्द्र, सानोठिमी भक्तपुर´मा जागिर पाएपछी उ उतै डेरा सर्यो, हाम्रो भेटघाट फितलो भयो। फुटपाथको किनारा लागेर उभिएर फोन उठाए। उसको बोल्ने उहीँ पुरानो रुखो शैली थियो ।
Post a Comment