Latest Updates :

कसले जित्दैछ काठमाडौं महानगरमा ?

SHARE THIS POST :
प्रकाशित मिति: आइतबार, बैशाख ३१, २०७४ समय - २०:४६:१७   |  14 May, 2017

 - प्रबिन कुलुङ राई
काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा ३ वटा प्रदेशमा भएको निर्वाचनको मतदान सकिएको छ । प्रदेश ३, ४ र ६ मा भएको पहिलो चरणको चुनाव केही घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आइतबार भएको मतदानमा ७० प्रतिसतसम्म मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणको यो चुनावबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि चुनिने छन् । उक्त पदका लागि ४९ हजार ३ सय ३७ उम्मेदवार प्रतिस्पर्धी छन् । आज ३ वटा प्रदेशका ४ महानगरपालिका, १ वटा उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा प्रतिनिधि चयनका लागि मतदान भएको छ । पहिलो चरणमा तीन वटै प्रदेशबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुदैछन् । यी मध्ये सबैको ध्यान काठमाडौं महानगरपालिकामा छ ।

देशको राजधानी रहेको काठमाडौंमा मेयरका लागि ७ जना मैदानमा उत्रिएका छन् । एमालेबाट बिद्या सुन्दर शाक्य, कांग्रेसबाट राजुराज जोशी, नेकपा माओवादी केन्द्रबाट सर्वोत्तम डंगोल, संघीय समाजवादी फोरमबाट पवित्र बज्राचार्य, विकेकशील नेपाल दलबाट रञ्जु दर्शना, राष्ट्रिय जनमोर्चाबाट निर्मलकुमार थापा र साझा पार्टीबाट किशोर थापा मैदानमा छन् ।

यो पनि पढ्नुहाेस्
अपडेट : स्थानीय तहको निर्वाचन-२०७४
युगले कोल्टे फेर्ने दिन !



एमालेको पुरानो लालकिल्ला
अहिलेसम्मको निर्वाचन हेर्दा काठमाडौंको जनमत परिर्वतनशील छ । २०४८, ०५१ र ०५६ सालको निर्वाचनमा काठमाडौं एमालेको लालकिल्ला जस्तै थियो । ०४८ सालमा काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये एमालेले चारवटा स्थानमा जितेको थियो । ०५१ को मध्यावधि निर्वाचनमा एमालेले सातको सात स्थान जितेका थिए ।

२०५६ को आमनिर्वाचनमा सात क्षेत्रमध्ये पाँचमा एमालेले जितेको थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमाले भने एमालेले नराम्ररी धक्का खायो । शुन्यको अवस्था भयो । दोस्रो संविधानसभामा कांग्रेसले काठमाडौंका १० मध्ये ७ क्षेत्र आफ्नो पोल्टामा पार्यो भने एमालेले ३ स्थानमा विजयी भएको थियो । तर, उपनिर्वाचनमा एमालेले एक स्थान गुमायो ।

के होला नतिजा ?

कांग्रेसबाट जोशीलाई जिताउन कांग्रेसले पनि सिंगो शक्ति परिचालन गरेको छ । यसअघि काठमाडौंमा कांग्रेसले ७ निर्वाचन क्षेत्रमा चुनाव जिते पनि यो निर्वाचनमा त्यो अनुपातमा मत आउने कम सम्भावना देखिन्छ । माओवादी केन्द्रबाट सर्वोत्तम डंगोल निकै कमजोर देखिएका छन् । डंगोलभन्दा विकेकशील नेपाल दलबाट रञ्जु दर्शनाले बढी मत ल्याउने अनुमान गरिएको छ । दर्शनापछि संघीय समाजवादी फोरमबाट पवित्र बज्राचार्यले मत ल्याउन सक्ने सम्भावना छ । बज्राचार्यलाई नयाँ शक्तिको पनि साथ भएको कारण केही मत बढ्ने सम्भावना छ ।

यसपटक निर्वाचनमा काठमाडौंमा एमाले फेरि बलियो देखिएको छ । काठमाडौंमा एमालेको मुख्य प्रतिस्पर्धा काग्रेससँग नै हो । तर, एमालेले यसपटक वाजी मार्ने अधिकांसको अनुमान छ । ती अनुमानहरुलाई निम्न आधारले पुष्टी गर्छ ।
आधार नम्बर एक : सृदढ संगठन, एकताबद्ध परिचालन
काठमाडौंमा यसअघि पनि नेकपा एमालेले जितेको महानगर हो । केशब स्थापितको नेतृत्वमा काठमाडौंमा धेरै उदाहरणीय काम सम्पन्न भएका छन् । कांग्रेस माओवादीको आशा थियो, ‘एमालेभित्र अन्तरबिरोध हुन्छ, त्यही भित्र खेलेर चुनाव जित्न सकिन्छ ।’ तर, त्यसको ठिक उल्टो भइदियो । उम्मेदवारको निधो भए लगत्तै काठमाडौंमा एकताबद्ध भएर नेताहरु चुनावी मैदानमा लागे । उम्मेदवारका दाबेदार एमाले केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ र स्थापित उम्मेदवार शाक्य जत्तिकै सक्रिय भएर मैदानमा खटे । सत्तारुढ दलले एमालेलाई घेराबन्दीमा पार्ने प्रत्यन्नपछि सबै वडादेखी टोलसम्म एमालेका सबै नेता कार्यकर्ता एकताबद्ध रुपमा खटिएका छन् ।

आधार नम्बर दुई : महानगरलाई समृद्ध बनाउने प्रष्ट अवधारणापत्र
अन्य उम्मेदवार भन्दा एमाले उम्मेदवार शाक्यको प्रष्ट चुुनावी एजेन्डा भएको सर्बसाधरणको भनाई छ । ‘शाक्यको भिजन प्रष्ट थियो । एमालेले काठमाडौं निर्माणको प्रष्ट अबधारणा प्रस्तुत गरेको छ । त्यतिमात्रै होइन सय दिनमा गर्ने कामका एक सय एक सुची समेत शाक्यले सार्वजनिक गरेका थिए । जुन निकै लोकप्रिय बनेको छ ।

हाल राज्यले दिएको मासिक सुरक्षा भत्तामा तीन हजार थप गरी ५ हजार बनाउने, ८४ वर्ष पुगिसकेकोलाई दसहजारबाट हजार बनाउने (मेयरले गर्ने प्रथम निर्णय), भक्ता रकम सम्वन्धित व्यक्तिको बैंक खाता मार्फत सिधै पठाउने व्यवस्था गर्ने लगायतका समाजिक सुरक्षाका कार्यक्रम अघि सारिएको छ । ‘ग्रिन एण्ड क्लिन काठमाडौं’, ‘घरघरमा अचम्मको सियो र घरघरमा गज्जबको चुला’, ‘सही समय सही ठाम, नो ट्राफिक जाम’, ‘भोकरहित जनता शोकरहित महानगर’, ‘काठमाण्डौ महानगर झिलिक्क : घर घर टिलिक्क’ लगायतका आकर्षक नारा अघि सारिएका छन् । सय दिनमा गर्ने एक सय काम काठमाडौं नगरबासीकोबीचमा निकै लोकप्रिय बनेको छ ।

आधार नम्बर तीन : समृद्धि र स्वाभिमानको पक्षमा उभिएका सचेत मतदाता
काठमाडौं तुलनात्मक रुपमा सबैभन्दा बढी सचेत मतदाता बस्ने महानगर हो । काठमाडौं यस्तो शहर हो, जहाँका जनताहरु भारतीय नाकाबन्दीमा महिनौं कष्टकर जीवन बिताउन तयार भएर पनि राष्ट्रिय स्वाभिमानको आन्दोलनको पक्षमा उभिए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाभिमानको पक्षमा राखेको अडानलाई बलियो साथ थियो महानगरको ।

नाकाबन्दीमा जनताहरुले चामल, औषधी, इन्धन पाएनन् तर चाउचाउ उमालेर खाए पनि निरन्तर राष्ट्रिय स्वाभिमानको आन्दोलनमा सामेल भए । सरकारलाई सहयोग गरे । एमालेले राष्ट्रियताको पक्षमा राखेको अडानको कारण पनि काठमाडौंको सचेत जनताहरु एमालेको पक्षमा रहेको अनामनगरका हरि अधिकारी बताउँछन् ।

एमाले नेतृत्वको सरकारले अघि सारेका योजना र सपनाप्रति काठमाडौंका जनताहरु यसअघि नै उत्साही थिए । कांग्रेस र माओवादीले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले अघि सारेका योजना र सपनाहरुलाई सुरुका चरणमा हावादारी गफ भनेका थिए । तर, अहिले आफ्नो घोषणापत्रमा ओलीले अघि सारको तिनै योजनाहरुलाई आफ्नो घोषणापत्रमा समावेश गरेका छन् । ती सबै समृद्धिका योजनाका शुत्रधार एमाले नै भएको तथ्यप्रति सबै मतदाता जानकार छन् ।

आधार नम्बर चार : कांग्रेस–माओवादीभित्रको कलह
कांग्रेस र माओवादीले चारैवटा महानगरमा चुनावी तालमेलको तयारी गरेका थिए । तर, अन्तिम अवस्थामा दुबै दलभित्रको आन्तरिक कलहले त्यो सफल हुन सकेन । काठमाडौंमा कांग्रेसले चुनाव हार्ने अनुमानका साथ माओवादी केन्द्रसँग तालमेल गर्ने प्रस्ताव राखेका थिए । माओवादीको शिर्ष नेतृत्वले पनि कांग्रेसको प्रस्तावलाई स्वीकार गरेको थियो । तर, माओवादीका उम्मेदवार सर्वोत्तम डंगोलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि कांग्रेस समस्यामा परेको छ । डंगोलले फिर्ता नलिएपछि माओवादी नेतृत्वले डंगोललाई पुरै वेवास्ता जस्तै गरेको छ । महानगरको चुनावी सभाहरुमा कही पनि शिर्ष नेतृत्व देखिएका छैनन् ।

यता कांग्रेसमा नरोत्तम वैद्य र प्रगति रञ्जितले मेयरको दाबेदार प्रस्तुत गरेका थिए । संस्थापन पक्षका मानिएका वैद्य र रञ्जितले जोशीलाई कुनै सहयोग गरेका छैनन् । सभापति शेरबहादुर देउवाले समेत जोशीको लागि कुनै पहल नगरेको कांग्रेस नेताहरु बताउँछन् ।
आधार नम्बर पाँच : लोकप्रिय व्याक्तित्व र स्थानीय मनोविज्ञानको प्रतिनिधित्व

शाक्यले काठमाडौंको स्थानीय मनोविज्ञानको प्रतिनिधित्व समेत गरेका छन् । काठमाडौं नेवार समुदायको बहुल्य भएको महानगर हो । एमालेले यो मनोविज्ञानलाई मात्रै होइन उनीहरुको प्रतिनिधित्वको अधिकारलाई समेत सुनिश्चित गरेर शाक्यलाई उम्मेदवार बनाएको छ । तर, कांग्रेसले भने समुदायको भावनालाई वेवास्ता गरेको छ ।

यता डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले पनि महानगरमा आफ्नो बलियो अवस्था रहेको दाबी गरेको थियो । यसको बलियो दाबेदार थिए, पार्टीका केन्द्रीय सदस्य तथा उपत्यकाको नेवार समुदायका सुपरिचित नेता सानुराजा शाक्य । उनी नेवार समुदायमा लोकप्रिय छन् । तर, शाक्य सोमबार एमालेमा प्रवेश गरे लगत्तै एमालेको अवस्था झनै मजबुद बनेको छ ।

यता विकेकशील नेपाल दलकी रञ्जु दर्शना र साझा पार्टीबाट किशोर थापाले पनि केही मत तान्ने देखिएको छ । तर, उनीहरुले सबै मत कांग्रेसको नै हो । यी दुबै दल कांग्रेससँग लिगेसी जोडिएका नेताहरुले नै स्थापना गरेका हुन् । उनीहरुले कांग्रेसको नै मत काट्नेछन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger