प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणपछि तातोपानी भन्सार नाका खुल्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले आफनो चीन भ्रमणको मुख्य एजेन्डा नै तातोपानी भन्सार नाका खुलाउने र अरनिको राजमार्ग विस्तार गर्ने चीनसँगको सम्झौता कार्यान्वयनमा लैजाने रहेको बताए।
तातोपानी भन्सार नाका खुलाउन कूटनीतिक पहल गरिदिन आग्रह गर्दै बुधबार विहान बालुवाटार पुगेका नेपाल ट्रक कन्टेनर व्यवसायी संघका पदाधिकारीसँगको सामुहिक भेटमा प्रधानमन्त्रीले तातोपानी नाका खुलाउन आफूले पटक पटक पहल गरिरहेको र आफ्नो चीन भ्रमणका क्रममा पनि कुरा राख्ने जनाए।
चीन भ्रमणको मुख्य एजेन्डा नै तातोपानी भन्सार नाका खुलाउने र अरनिको राजमार्ग विस्तार गर्ने चीनसँगको सम्झौता कार्यान्वयनमा लैजाने
प्रधानमन्त्री दाहालले बिहीबारदेखि चीनको औपचारिक भ्रमण गर्दैछन्। प्रधानमन्त्री दाहालले सोही भ्रमणका क्रममा तातोपानी भन्सार नाका खुलाउन र अरनिको राजमार्ग विस्तार गर्ने सम्झौता कार्यान्वयन गर्न चिनियाँ राष्ट्रपति समक्षनै कुरा गर्ने प्रतिवद्धता गरे। प्रधानमन्त्रीले तातोपानी नाका नेपाल–चीन सम्बन्धको आधार तथा नेपालको आर्थिक समृद्धिको पनि आधारमा भएकाले यसबारे सरकार बेखवर हुने कुरै नआउने बताए।
प्रधानमन्त्री दाहालले तातोपानी भन्सार नाका खुलाउने विषयलाई परराष्ट्र मन्त्रालयले पनि उच्च प्राथमिकता दिएको र आफूले पनि पटक पटक चिनियाँ दुतावासमार्फत सो समस्या समाधानका लागि पहल गरिरहेको बताए।
सो अवसरमा कन्टेनर व्यवसायीहरुले तातोपानी नाका ठप्प हुँदा चीनसँगको व्यापार ठप्प भएको र त्यसैमा आश्रित रहेका १५ सय भन्दा बढि कन्टेनर व्यवसायी बिस्थाथित हुने अवस्था आउँदा समेत सरकारले बेवास्ता गरेको गुनासो गरेका थिए । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि तातोपानी भन्सार नाका बन्द हुन गएको थियो।
व्यवसायीहरुले त्यसयता सरकारले पहल नगरेकै कारण चीनले समेत तातोपानी भन्सार नाका खुलाउन चासो नदिएको गुनासो गर्दै आएका छन । करिव १५ सय कन्टेनर व्यवसायी विस्थापित हुने अवस्था आउँदा समेत सरकारले तातोपानी नाका खुलाउन पहल नगरेपछि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेको संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाले जानकारी दिए। उनले प्रधानमन्त्रीको चीन भ्रमणपछि सो नाका खुल्नेमा आफूहरु विश्वस्त रहेको प्रतिक्रिया दिए।
व्यवसायीहरुले तातोपानी भन्सार नाकालाई नेपाल चीन सम्बन्धको ऐतिहासिक आधार भएको उल्लेख गर्दै त्यसलाई खुलाउन कूटनीतिक पहल गर्न सरकारसँग अनुरोध समेत गरेका छन । विनाशकारी भूकम्पका कारण तातोपानी भन्सार नाका बन्द भएयता रोजीरोटी समेत खोजिएको स्थानीयले पनि गुनासो गर्दै आएका छन । तातोपानी भन्सार नाका नेपाल र चीन व्यापारको मुख्य नाका हो।
Post a Comment