Latest Updates :

आर्थिक सहयोग पाएपछि दृष्टिविहीन विक दम्पतीका छोरी विद्यालय पुगे

SHARE THIS POST :

 म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मिता विकका तीन छोरी पाँच महिनापछि बुधबारदेखि विद्यालयमा जान थालेका छन्।

दृष्टिविहीन विक दम्पतीका चार छोरीमध्ये विद्यालय उमेर समूहका तीन छोरी घरपरिवारको आर्थिक अवस्था कमजोर भएपछि विद्यालय जान छाडेको विषयमा राससमार्फत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन गरेपछि नेपाल विद्यार्थी सङ्घ म्याग्दीले उनीहरुलाई अध्ययनको व्यवस्था मिलाएको हो।

बाबा र आमा दृष्टिविहीन भएको र घरपरिवारको आर्थिक स्रोत नभएपछि विद्यालय जानबाट वञ्चितीमा परेको सम्बन्धी समाचार प्रकाशन भएपछि आफूहरु विक परिवारलाई भेटेर उनका छोरीको पठनपाठन गराउने जिम्मा लिएको नेविसङ्घ म्याग्दी बहुमुखी क्याम्पस इकाई सभापति निर्मल खत्रीले बताए।

“तीन बालिका पाँच महिनादेखि नै विद्यालय जान छाडेका रहेछन्, अध्ययनको अवसरबाट वञ्चित हुन नपरोस् भनेर उनीहरुको पठनपाठन गर्ने सबै जिम्मा हामीले लिएका हौँ, उनीहरु आजैदेखि विद्यालय जान थालेका छन्”, खत्रीले भने।

नेविसङ्घले दृष्टिविहीन विक दम्पतीकी ११ वर्षीया छोरी निरुता, ८ वर्षीया माइली कमला र साइली ५ वर्षीया अञ्जली विकलाई बेनीस्थित बालमन्दिर आधारभूत विद्यालयमा क्रमशः कक्षा ४, २ र बालकक्षामा भर्ना गराएर अध्ययन गर्ने व्यवस्था मिलाएको छ। विद्यालय उमेरका तीन बहिनीलाई आवश्यक पर्ने लत्ताकपडा, विद्यालय पोसाक, शैक्षिक सामग्री, लगायतको व्यवस्थापनसमेत नेविसङ्घले नै गर्ने जनाएको छ।

गाउँमा अरूको जग्गामा सामान्य घर बनाएर बस्दै आएपनि जग्गाधनीले पटक-पटक जग्गा किन्न या घर छाड्न दबाब दिएपछि गाउँ नै छाडेर पर्वतको लामाखेतमा अरूको घर भाडामा लिएर बसेका उनीहरुको कोठामा नेविसङ्घले उज्यालोका लागि सोलार जडान गरिदिएको छ भने उनीहरुको परिवारका लागि आवश्यक पर्ने खाद्यान्न र मासिक रुपमा तिनुपर्ने कोठाभाडा लगायतको बन्दोबस्तसमेत सङ्घले नै गर्ने खत्रीले बताए। दृष्टिविहीन विक दम्पतीको परिवारलाई खाना पकाएर खाने ग्यास सेटको व्यवस्थापन भने अपाङ्ग सङ्घ म्याग्दीले गरिदिएको छ।

आफूहरु बस्दै आएको घरका जग्गाधनीले रु ८० हजार मागेपछि विक परिवार गत पुसदेखि म्याग्दी सदरमुकाम बेनी नजिकै पर्वतको लामाखेतमा कोठा भाडामा लिएर बसेका छन्।

आफूहरुको समस्या बुझेर विद्यालय जान छाडेका छोरीलाई पुनः अध्ययन गर्ने अवसर प्रदान गरेको भन्दै विक दम्पतीले नेपाल विद्यार्थी सङ्घलाई धन्यवादज्ञापन गरेका छन् भने आफूहरुको समस्याबारे समाचार प्रकाशन गरेको भन्दै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई समेत आभार प्रकट गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger