Latest Updates :

निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

SHARE THIS POST :



निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई पुनःसंरचित ७४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराउनुभएको हो । स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते हुन गइरहेको छ ।प्रधानमन्त्री प्रचण्डसँग भएको भेटका विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा जानकारी गराउनुका साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

आफूले राजनीतिक सद्भाव र विश्वासको वातावरण पनि सिर्जना हुनुपर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको जानकारी दिँदै उहाँले भन्नुभयो – “वैशाख ३१ मा हुने महाअभियानमा सबैको सहभागिता होस् भन्ने निर्वाचन आयोगको चाहना हो ।”

प्रमुख आयुक्त यादवले तोकिएको समयमा निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दैे विद्यमान अवस्थामा देखिएको असमझदारी सुल्झाउने समय अझै बाँकी छ, मिलेर अगाडि बढ्नुपर्दछ भन्नुभयो ।

“संसद्मा भएका राजनीतिक दल तथा नभएका दल सबै निर्वाचनमा भाग लिन चाहेका छन्, त्यसका लागि सहकार्य गरेर अगाडि जानुपर्छ,” उहाँले भन्नुभयो – निर्वाचनको अपनत्व सबै नेपाली जनता र राजनीतिक दलले लिनुपर्छ भन्ने आयोगको धारणा छ ।

आयोगको धारणा सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई विश्वस्त पार्नुभएको बताउँदै प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीले सद्भावको विश्वसनीय वातावरण बनाउनेतर्फ आफ्नो प्रयास केन्द्रीत हुने बताउनुभएको जानकारी दिनुभयो ।

निर्वाचन आयोगले निर्वाचनका लागि कर्मचारी खटाउने र जिल्लामा निर्वाचन सामग्री पठाउने कार्य भइराखेको तथा मतपत्र छापिरहेको जानकारी दिँदै उहाँले तराई तथा अन्य जिल्लामा हुन सक्ने कठिनाइलाई कमी गर्दै लगिने बताउनुभयो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger