Latest Updates :

एउटै विद्यालयका विद्यार्थी आमा–छोरा

SHARE THIS POST :
 नयाँ शैक्षिक सत्र सुरु भएसँगै सिरानचोक गाउँपालिका ६ गाँखुको नयाँ साँघुकी सकुन्तला विकलाई सासू डल्लीले संसारी महेन्द्र माविमा कक्षा ९ मा भर्ना गरिदिइन् । अब २५ वर्षीया विक र २ कक्षा पढ्ने उनका छोरा रिदम एउटै विद्यालयका विद्यार्थी भएका छन् ।

गोरखाको सिरानचोक गाउँपालिका गाँखुकी सकुन्तला विक र उनका छोरा रिदम विद्यालय पोसाकमा । तस्बिर : कान्तिपुर

भर्ना भएपछि उनले कक्षा छुटाएकी छैनन् । छोरासँगै किताब–कापी च्यापेर उनी दैनिक विद्यालय जान्छिन् । गरिबी र चेतना अभावले ९ वर्षअघि बीचमै पढाइ छाडेकी उनलाई यतिखेर उच्च शिक्षा हासिल गर्ने इच्छा जागेको छ । ‘अब १२ पास नगरी पढाइ छाडदिन,’ उनी भन्छिन् ।

कलिलै उमेरमा विवाह गरेकी सकुन्तलाले ९ कक्षामा छँदै विद्यालय छाडेकी थिइन् । काफलडाँडाको जीवनज्योति मावि पढदै गरेका बेला १७ वर्षको उमेरमै उनको विवाह भएको थियो । बिहेपछि विद्यालय परिवर्तन गरेर परीक्षा दिए पनि उनी उत्तीर्ण हुन सकिनन् । ‘त्यसबेला स्कुल पनि नयाँ भयो, फेल भएँ,’ उनी भन्छिन्, ‘फेल भएपछि पढ्नै मन लागेन ।’ सँगै पढेका साथीहरू डाक्टर र स्टाफ नर्स भएको थाहा पाउँदा उनलाई हाल पढाइ छाडेकोमा पछुतो छ ।

सकुन्तलालाई पढ्ने इच्छा त्यसै जागेको भने होइन । दुई महिनाअघि विद्यालयले कार्यालय सहायक पदमा विज्ञापन खुलाएको थियो । उनले पनि फारम भरिन् । नाम निक्लियो, जागिर पनि पाइन् । उमेरले आफूभन्दा केही कम उमेरका भाइबहिनी किताब च्यापेर विद्यालय आएको देखेपछि उनलाई पनि दिवा कक्षामा भर्ना हुन इच्छा जाग्यो । शिक्षकलाई आफ्नो रहर बताउँदा पढ्नका लागि प्रेरणा दिए । ‘बिहान ११ र १२ को कक्षा चल्छ, त्यहाँ कार्यालय सहायकको काम गर्छु,’ उनी भन्छिन्, ‘दिउँसोमा आफू पढ्न विद्यालय आउँछु ।’ कार्यालय सहायकको तलबले छोरा र आफ्नो पढाइ खर्च धानेको उनले बताइन् ।

जागिर, छोराको स्याहार र घरधन्दा सकेर समय बचाउँदै शिक्षकले दिएको गृहकार्य गर्न उनले छुटाएकी छैनन् । ‘पहिले छोरालाई विद्यालय पठाउन हतार गर्थें,’ उनले भनिन्, ‘अहिले बिहान घरधन्दा सकेर आमा–छोरा तयार भएर सँगै पढ्न जान्छौं ।’ पहिले टेलिभिजन हेरेर साँझको समय काट्ने उनी हिजोआज बेलुकी अबेरसम्म कक्षामा दिएको ‘होमवर्क’ गर्छिन् । आफूले पढाइलाई निरन्तरता दिएपछि छोरालाई सिकाउन पनि सजिलो भएको उनको अनुभव छ । यतिखेर उनी कक्षाका अन्य विद्यार्थीकी अभिभावकजस्तै बनेकी छन् । घरमा पनि उनको पढ्ने रहरलाई सासू र श्रीमान्ले बुझेर सहयोग गरेपछि उनलाई सजिलो भएको हो । ड्रेस लगाएर पढ्न जाँदा सासू र श्रीमान् पनि खुसी भएको उनले बताइन् । ‘स्कुल जान ढिला भए सासूले पनि कराउनुहुन्छ,’ उनले भनिन् ।

सुरुमा बढी उमेरकी छात्रा देखेर आन्टी भनेर जिस्क्याउँदै बोलाउने विद्यार्थी पनि अब उनलाई आदर गर्न थालेका छन् । ‘अहिले त सबैले दिदी भन्न थालेका छन्,’ उनी भन्छिन्, ‘हाल त साथीहरूले हल्ला गरे भने पनि म गाली गर्छु । मैले भनेको पनि मान्छन् ।’ सकुन्तलाको पढाइ राम्रो रहेको शिक्षक जनकराज कोइरालाले बताए । ‘यहाँ जागिर खाएपछि हामीले नै पढ्नुपर्छ भनेका हौं,’ उनले भने ।

सकुन्तलाजस्तै अर्की विद्यार्थी सुष्मिता विकले पनि पुन: भर्ना भएर पढ्न थालेकी छन् । चार वर्षअघि उनले बीचमै पढाइ छाडेकी थिइन् । ‘१७ वर्षकी भएँ,’ उनले भनिन्, ‘उमेरले पढाइ छेक्दैनजस्तो लागेर ७ कक्षामा भर्ना भएकी छु ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger