१३ वर्षीया छोरी निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाहीको गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअघि अनिश्चित धर्ना बसेका यज्ञराज पन्तलाई मानसिक समस्या भएको भन्दै आइतबार काठमाडौं ल्याइएको थियो । उनको काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टर भन्छन्, ‘यज्ञराजलाई कुनै मानसिक रोग छैन, मनोसामाजिक परामर्शको खाँचो छ ।’
कञ्चनपुरमा यज्ञराजले ‘अस्वभाविक गतिविधि’ गरेको भन्दै केही मानिसले उनलाई मानसिक रोगी भनेका थिए । जुन सामाजिक सञ्जालमा निकै चर्चित भयो ।
छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मलाका बा, आमालगायत केही अधिकारकर्मी कात्तिक २५ गतेदेखि अनिश्चितकालिन धर्नामा बसेका थिए । धर्नाकै क्रममा यज्ञराजको स्वस्थ्यमा समस्या देखिएको थियो । यद्यपि, यज्ञराजलाई विगतमा पनि कुनै मानसिक समस्या नभएको निर्मलाकी अामा दुर्गादेवी पन्तको भनाई छ ।
मानसिक समस्या नभए पनि यज्ञराजमा आएको स्वास्थ्यसमस्याबाट आफू थप पीडित भएको दुर्गादेवी बताउँछिन् । छोरी गुमाउनुको पीडा र न्याय नपाउँदाको सकसबीच श्रीमनको स्वास्थ्यमा देखिएको समस्याबाट दुर्गादेवी विक्षिप्त छिन् ।
उपचाररत यज्ञराजलाई भेट्न नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई पनि सोमबार शिक्षण अस्पताल पुगेका थिए । उनले निर्मला हत्या प्रकरणका दोषी प्रहरीलाई बर्खास्त गरेर सरकार पन्छन मात्रै खाजेको आरोप लगाए ।
गत साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पूरा भयो, तर अझैसम्म अपराधी पत्ता लाग्ने संकेत देखिएको छैन ।
के-के भयो चार महिनामा ?
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना पूरा भइसक्दापनि अझै हत्यारा पत्ता लागेको छैन । निर्मलाको हत्यारा पत्ता लगाएर कारबाहीको माग गर्दै आन्दोलन भयो, संसदमा आवाज उठ्यो, हत्यारा पत्ता लगाउन सात वटा छानबिन समिति बन्यो, सयौंसँग सोधपुछ भयो, केहीको डिएनए परीक्षण भयो, एसपी र इन्सपेक्टर बर्खास्त भए, केही प्रहरी निलम्बित भए । न्यायको भिख माग्दै निर्मलाका बाआमा धर्ना बसे । धर्ना बसेकै ठाउँमा निर्मलाका बुबाको मानसिक स्वस्थ्यमा समस्या आयो । र, निर्मलाका बुबा यज्ञराज पन्तको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
चार महिनाबीचमा यस्ता थुप्रैथुप्रै घटना भयो, उत्तार चढाव भयो । तर हत्यारा पत्ता लाग्न सकेको छैन । जसकारण सरकारको चौतर्फी आलोचना भइरहेको छ । सरकारले नै हत्यारालाई संरक्षण गर्न खोजेको आरोप छ ।
निर्मलाको हत्या, हत्यापछि उठेको जनआवाज, बलात्कारी एवम् हत्यारालाई कारबाहीसँगै निर्मलाको न्यायका लागि भएका आन्दोलन र हत्यारा पत्ता लगाउन भएका प्रयासको श्रृङ्खला यस्तो छ ।
साउन १०ः बलात्कारपछि हत्या
१० गते निर्मलाको बलात्कारपछि हत्या भयो । साथीको घरमा पढ्नका लागि भन्दै गएकी निर्मलाको बलात्कारपछि हत्या भएको हो ।
साउन ११ः शव भेटियो
साथीको घरमा पढ्नका लागि गएकी छोरी अबेलासम्म घर नफर्किएपछि निर्मलाका बाआमाले खोजी गरे । प्रहरीमा उजुरी दिए । ११ गते घरभन्दा अलि परको उखुबारीमा निर्मलाको शव भेटियो । चोट लागेको र अर्धनग्न स्थितिमा शव फेला परेको थियो ।
साउन १४ः अनुसन्धानका लागि सिआईबीको टोली परिचालन
बलात्कारपछि हत्या भएको प्रमाणित भएपछि साउन १४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआईबी)को टोली घटनाको अनुसन्धानका परिचालन भयो । टोलीले अनुसन्धान प्रयास गर्यो । घटनास्थल र शव भेटिएको ठाउँमा जान प्रतिबन्ध लगायो ।
भदौ ४ः दिलिपसिंह विष्ट सार्वजनिक
घटना भएको २५ दिनपछि अर्थात् भदौ ४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सिआईबीको टोलीले दोषी भन्दै स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गर्यो । मानसिक सन्तुलन ठिक नभएका विष्टलाई प्रहरीले अभियुक्तका रुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।
भदौ ५ः आन्दोलन चर्कियो
मानसिक सन्तुलन गुमेका दिलिपसिंह विष्टलाई प्रहरीले जबरजस्ती दोषी करार गर्न खोजेको भन्दै स्थानीय आन्दोलनमा उत्रिए । प्रहरीले वास्तविक दोषी उम्काउन विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको भन्दै स्थानीयले गरेको आन्दोलनलाई मानवअधिकारवादीलगायतले साथ दिए । आन्दोलन उग्र बन्दै गयो ।
भदौ ६ः एसपी विष्ट र सिडियोको सरुवा
स्थानीयको आन्दोलन प्रहरीकेन्द्रित हुन थालेपछि कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट, तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार खड्का र जिल्ला प्रहरी कार्यालयका तत्कालिन असई ज्ञानबहादुर सेठिको सरुवा भयो ।
भदौं ७ः छानबिन समिति गठन
घटनामा प्रहरीकै भूमिका शंकास्पद देखिएपछि भदौ ७ गते गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्सीय छानबिन समित गठन भयो । अनुससन्धानका लागि टोली घटनास्थलमा खटियो । अनुसन्धानकै क्रममा समिति संयोजकले राजीनामा घोषणा गरे । पछि फेरि काममा फर्किए ।
भदौं ८ः शनी खुनाको मृत्यु
छानबिन समिति गठन भए पनि स्थानीयले आन्दोलन रोकेका थिएनन् । भदौ ८ गते झन् ठूलो प्रदर्शन भयो । स्थानीयको प्रदर्शनमाथि प्रहरीले गोली चलायो । प्रहरीले चलाएको गोली लागेर १६ वर्षीय शनी खुनाको मृत्यु भयो । दर्जनौं घाइते भए ।
भदौ ९ः एसपी विष्ट निलम्बित
भदौ ९ गते गृहमन्त्रालयको निर्देशनमा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट निलम्बनमा परे । कञ्चनपरमा अर्का एसपी पठाइयो ।
भदौ २६ः दिलिपसिंह विष्ट रिहा
प्रहरीले सार्वजनिक गरेका विष्ट दोषी नभएको भन्दै जनमास उर्लिएपछि विष्टको डिएनए परीक्षण र उनको मानसिक अवस्था पत्ता लगाउन उनलाई काठमाडौं ल्याइएको थियो । तर उनको डिएनए नमिलेपछि भदौ २६ गते रिहा गरियो । र सोही दिन अनुसन्धानका लागि हिरासतमा राखिएका वम दिदिबहिनी पनि हिरासत मुक्त भए । त्यसपछि प्रहरीको अनुसन्धान प्रक्रियामाथि झन् धेरै शंका उब्जियो । यसबीचमा प्रहरीले तत्कालिन एसपी विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टसँग सोधपुध भयो । उनीहरुको पनि डिएनए परीक्षण भयो । तर, उनीहरुको डिएनए मिलेन । यसपछि घटना झन् रहस्यमयी भयो ।
भदौ ३०ः पाँच प्रहरी निलम्बित
गृहमन्त्रालयले पठाएको छानबिन समितिको प्रारम्भिक प्रतिबेदनले अनुसन्धानको क्रममा प्रहरीले नै लापरबाही गरेको प्रतिवेदन बुझायो । प्रतिवेदनका आधारमा पाँच प्रहरीः ज्ञानबहादुर सेठी, अंगुर जिसी, जगदिश भट्ट, एकेन्द्र खड्का र रामसिंह धामी निलम्बित भए ।
असोज ९ः छानबिन समितिले अन्तिम प्रतिवेदन बुझायो
छानविन समितिले असोज ९ गते गृहमन्त्रीलाई अन्तिम प्रतिवेदन बुझायो । उक्त प्रतिवेदन असोज २१ गते सार्वजनिक भयो । प्रतिवेदनमा अनुसन्धानका क्रममा प्रहरीले नै लापरबाही गरेको उल्लेख छ ।
कात्तिक ८ः एसपी विष्ट बर्खास्त
अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालिन एसपी डिल्लीराज विष्ट र ईन्स्पेक्टर जगदिश भट्ट सेवाबाट बर्खास्त भए । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्री रामबहादुर थापाले दुबैजनालाई बर्खास्त गरेका हुन् ।
कात्तिक २५ः निर्मलाका बाआमा धर्नामा
छोरीको बलात्कारपछि हत्या भएको साडे तीन महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकेपछि निर्मलाका बाआमा अनिश्चितकालिन धर्नामा बसे । अपराधी पत्ता लगाएर कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरु धर्ना बसेका छन् । धर्नामा स्थानीयसँगै मानवअधिकारकर्मीले साथ दिएका थिए ।
मंसिर ७: निर्मलाका बुबामा मानसिक समस्या
धर्ना बसेकै ठाउँमा निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्यस्थिति बिग्रियो । उनीमा मानसिक समस्या आएपछि अहिले उपचारका लागि काठमाडौं ल्याइएको छ । र, काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
Post a Comment