होटेल व्यवस्थापन एवं पर्यटनसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सम्मेलन पहिलोपटक एसियामा हुन लागेको आयोजक इयुहोफाले जनाएको छ । सम्मेलन सन् २०१९ को नोभेम्बर २६ देखि ३० तारिखसम्म हुनेछ । सम्मेलनमा विश्वभरिका होटेल व्यवस्थापन एवं पर्यटनसम्बन्धी शैक्षिक प्रतिष्ठानका २ सयभन्दा बढी डिन तथा उच्च तहका सञ्चालक–व्यवस्थापकहरू सहभागी हुने इयुहोफाका बोर्ड सदस्य खेम लकाईंले जानकारी दिए ।
सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउन लागेको सन्दर्भमा नेपालमा विश्वभरिकै अग्रणी होटेल व्यवस्थापन शिक्षा प्रदायकहरू जम्मा हुनु अभूतपूर्व अवसर भएको पर्यटन शिक्षाविद् उज्ज्वल सत्यालले बताए । नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथम)का पूर्वप्राचार्य उज्ज्वल सत्यालले संयोजन गरेको बैठकमा नेपालका प्रमुख होटेल शिक्षा प्रदायकहरूको
सहभागिता थियो ।
नेपाल भ्रमणमा रहेकी इयुहोफाका अध्यक्ष डा. मारिया विसिंगरले सम्मेलनको पूर्वतयारीबारे नेपालका सदस्य होटेल स्कुलहरू, ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज), इन्टरनेसनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आइएसटी), एकेडेमी अफ कल्नरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्ट, नेपाल एकेडेमी एन्ड होटेल म्यानेजमेन्ट, सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्ट, गोल्डेन गेटलगायतका होटेल शिक्षा प्रदायकका प्रमुखसँग छलफल गरेको जनाइएको छ ।
हाल नेपालमा ४० भन्दा बढी शैक्षिक प्रतिष्ठानले होटेल व्यवस्थापन एवं पर्यटन शिक्षासम्बन्धी उच्चस्तरको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
Post a Comment