Latest Updates :

सीमा क्षेत्रका बासिन्दाको गुनासो, एसएसबीबाट सधैँ दुर्व्यवहार

SHARE THIS POST :
सीमा क्षेत्रका बासिन्दाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुर्व्यवहार गर्दै आएको गुनासो गरेका छन् । उनीहरूले नेपाल–भारत सीमामा सहज आवतजावतको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

भारतसँग जोडिएको कैलारी गाउँपालिकाको हसुलियास्थित कैलालीका बासिन्दाले भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार नरोकिएको बताए । एसएसबीले सुरक्षाजाँचका नाममा दुःख दिने र विनाकारण रोक्ने गरेको स्थानीय रमेश चौधरीले बताए । ‘किनमेल एवं उपचारका लागि पारी नगई हुँदैन, त्यहाँ जाँदा दुर्व्यवहार खेप्नुपर्छ,’ उनले भने, ‘चन्दनचौकी सीमामा नेपाली नकुटिएको दिनै हुन्न ।’ यहाँका बासिन्दा किनमेलका लागि नजिकको भारतीय बजार चन्दनचौकी पुग्ने गर्छन् ।

स्थानीय गीता चौधरीले घरायसी सामान ल्याउँदा पनि भारतीय सुरक्षा अधिकारीले पैसा माग्ने गरेको बताइन् । नेपालको भन्दा भारतमा सस्तो पाइने भएकाले किनमेल गर्न चन्दनचौकी जाने गरेको बताउँदै उनले भने, ‘आतजावत गर्दा सिमानामा सुरक्षाकर्मीले दुःख दिन्छन् ।’ वषौंदेखि भाग्दै आएको भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार नरोकिएको उनीहरूको गुनासो छ ।

‘दाउरा चिराउँछन्’
भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा आवतजावत गर्ने नेपालीलाई विनाकारण दुःख दिने गरेको स्थानीय बासिन्दाले गुनासो गरे । केही निहुँ नभए क्याम्पमा लगेर काममा गराउने गरेको उनीहरूको भनाइ छ ।

ओहोरदोहोर गर्दा एसएसबीले सीमा क्षेत्रमा रहेको क्याम्पमा सरसफाइसमेत गर्न लगाउने गरेको साबिक हसुलिया गाविसका अध्यक्ष होमबहादुर गुरागार्इंले बताए । ‘कतिपयलाई क्याम्पमा झाडु लगाउने, दाउरा चिराउने कामसमेत लगाइएको छ । मानेन भने कुटाइ खानुपर्छ,’ गुरागार्इंले भने । धेरैले यो यातना खेपेको उनको भनाइ छ ।

सुरक्षाको माग
सीमा क्षेत्रवरपरका बस्तीमा नेपाली सुरक्षाकर्मीको उपस्थिति न्यून हुँदा सुरक्षा चुनौती रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । उनीहरूले सुरक्षा उपस्थिति बढाउन माग गरेका छन् । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले स्थानीय प्रहरी चौकीमा जनशक्ति बढाउन आग्रह गरे ।

झन्डै ५९ हजार जनसंख्या रहेको यस क्षेत्रमा २० जनाको प्रहरी जनशक्ति पर्याप्त नभएको उनको भनाइ थियो । जनप्रतिनिधिलाई पनि सुरक्षा चुनौती रहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले भने, ‘सुरक्षाकर्मी थपेर गाउँमा शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउन आवश्यक छ ।’

कैलारी गाउँपालिका–१ का वडाध्यक्ष प्रेमबहादुर चौधरीले सीमा क्षेत्रका गाउँ सुरक्षाका दृष्टिले संवेदनशील भए पनि आवश्कताअनुसार प्रहरी चौकीहरू नरहेको बताए । शान्ति, सुरक्षाको अनुभूति गर्नका लागि सुरक्षा निकायको उपस्थिति बढाउनुपर्ने उनको भनाइ थियो ।

पहल गर्छौँ : प्रजिअ

स्थानीय बासिन्दाको गुनासो सुन्न र शान्तिसुरक्षाको अवस्था बुझ्न सुरक्षा निकायका प्रमुखसहित सीमा क्षेत्रका गाउँ पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सीमा ओहोरदोहोरका क्रममा भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने बताए । ‘आवतजावतमा अप्ठ्यारो गर्ने र दुव्र्यवहार गर्ने गरेको गुनासो स्थानीयले गरेका छन्,’ प्रजिअ श्रेष्ठले भने, ‘यसबारे स्थानीयस्तरमा दुई देशका सुरक्षा अधिकारीबीच हुने काउन्टर पार्ट मिटिङमा पनि पुनः कुरा उठाउँछौँ ।’



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger