Latest Updates :

संगीत, फिलोसोफी र नवीन

SHARE THIS POST :

ए झरी नझरिदेऊ यसरी
एकान्त यो रातमा मलाई पागल गरी…

झरी परिरहेको पुतलीसडक । बेस्ट फुड क्याफे । रफ जिन्स, रातो फेसनेबल जुत्ता, राघेपाटे टिसर्ट र क्याप । म नमस्कार गर्छु । गायक नवीन के भट्टराईको दाहिने हात अलिकति उठ्छ फिस्स मुस्कानसहित ।

बस्नुभन्दा अघि नै प्रश्न फ्याँक्छु, ‘क्याप त कहिल्यै पनि छाड्नुहुन्न नि ?’ क्याप मिलाउँदै सीधा उत्तर आउँछ, ‘यो त नवीन के भट्टराईको अंग बनिसक्यो ।’ प्रसंग जोड्छन्, ‘०५१ सालतिर म कलेजबाट निस्केर पुतलीसडकमा चिया खाइरहेको थिएँ ।



कपाल लामो थियो । त्यतिवेला अच्युत खरेल डिएसपी थिए । पुलिसको भ्यान आयो, समातेर कपाल काटिदियो । त्यसपछि मैलै क्याप लाउन थालेँ । अहिले त आदत नै भइसक्यो (क्याप फेरि मिलाउँदै) ।’

०००

पपसंगीतमा त्यति ठूलो परिवर्तन नै गरेकोजस्तो त लाग्दैन नवीनलाई । त्यतिवेला पपगीतलाई हेर्ने दृष्टिकोण बदल्न भने कोसिस गरेकोचाहिँ लाग्छ । पपगीतलाई मान्छेले नपत्याएका कारण पनि आफूले शब्दमा बढी ख्याल गरेको बताउँछन् ।

उनले ‘रात बित्यो’ गीतलाई राग र क्लासिकल टेक्निक प्रयोग गरेर रकतिर ढल्काए । त्यस्तो टेक्निक नयाँ पुस्ताले प्रयोग नगरेको उनी बताउँछन् । त्यसो हुनुमा नयाँ पुस्ता अलि बढी अल्छी भएकोजस्तो लाग्छ, नवीनलाई ।

नवीन के भट्टराईका लागि संगीत फिलोसोफी हो । ‘संगीतले केही गर्न नसके पनि मुड परिवर्तन गर्ने ल्याकत राख्नुपर्छ । आत्मालाई शान्ति दिन सक्नुपर्छ,’ भन्छन् नवीन । उनी क्वान्टम फिजिक्स पढ्छन् ।

एरिस्टोटल, प्लेटो, सुकरात पढ्छन् । ‘पाइथागोरसले पाँच सय बिसीअगाडि नै आविष्कार गरेको सात स्वरबाट नै संगीत जन्मिएको हो’ भन्दै अझ सजिलो गरी बस्छन् ।

भर्खरै बिहे गरेको समयमा उनले तीन–चार दिनमा एक हजार पेज लामो किताब पढी सिध्याउँदा उनकी जीवनसंगीनी छक्क पर्थिन् । नवीन अनेक पढ्छन्, त्यही पढेका कुरालाई गीटारका तारहरूमा समेट्छन् र संगीत सिर्जना गर्छन् ।

नवीनका लागि संगीत सिर्जना गर्नु भनेको आविष्कार हो । उनी प्रस्ट्याउँदै भन्छन्, ‘आविष्कार कसरी हो भने हामी कन्सस माइन्डबाट सोच्छौँ र गर्छौं, हरेक काम । तर, त्यसको रिजल्ट सबकन्सस माइन्डमा आउँछ । जब आउँछ नि, तब आफैँ चकित भइन्छ, ‘ओहो !’ आर्किमिडिजले ‘युरेका’ भनेजसरी ।’

०००

सुरुवाती दिनमा उनी खुबै खोजहरू गर्थे, कस्तो शब्द, संगीत राख्ने ? घोत्लिन्थे । अहिलेजस्तो कम्प्युटरबाट रेकर्ड हुँदैनथ्यो । लाइभ रेकर्डिङ गर्नुपर्र्ने । अहिले भने भिडियोमा मात्र फोकस गरिएका कारण गीतका शब्द र संगीत निकै कमजोर भएको बताउँछन् ।

एउटा संगीतले अर्को संगीतलाई कहिल्यै च्यालेन्ज नगर्ने बताउँदै भन्छन्, ‘संगीत गेम नै होइन । यो त श्रोताको चाहनामा भर पर्छ ।’ संगीत भनेको के हो त ?



‘संगीत भनेको सातवटा स्वरहरूको सम्मिलन हो, जसले मान्छेलाई आनन्द दिन्छ, मान्छेमा झंकार सिर्जना गर्छ ।’ उनी अझै दार्शनिक उत्तर दिन्छन्, ‘हामी यो पृथ्वीमा आयौँ, यसको सेलिब्रेसन नै संगीत हो ।’

नवीनलाई संगीतमा लागेका कारण एउटा कुराले खुसी दिन्छ, त्यो हो उनी पलङमा या सोफामा बसेर कम्पोज गरेको गीतलाई समुद्रपारिको मान्छेले मन पराइदिन्छन् । बेलुका ८ बजेसम्ममा प्रायः सुतिसकेका हुन्छन् ।

बिहान ४ बजे नै निद्रा भाग्छ । त्यसपछि कहिले सोफामा, कहिले पलङमा भौँतारिन्छन्, गिटार र किताब लिएर । अचानक दिमागमा संगीतको नयाँ ट्युन बज्छ, त्यसलाई संगीतमा ढाल्छन् र गीत लेख्न लगाउँछन् ।

‘पहिले संगीत अनि शब्द,’ मुखको दाहिने कुनाबाट फिस्स मुस्कान फ्याँक्दै बोल्छन्, ‘यो मेरो आफ्नो स्टाइल हो ।’ यसैकारण पनि भनेका होलान् उनले ‘संगीत भनेको आविष्कार हो ।’

०००

संगीतमा नलागेका भए नवीन के भट्टराई के बन्थे होलान् ? ‘इन्जिनियर’ । संगीतमा नलागेका भए नवीन जीवनप्रति सन्तुष्ट हुन्थे होलान् त ? उनी क्याप खोल्छन् ।

तालु सुमसुम्याउँछन् अनि भन्छन्, ‘फ्युचर भनेको फ्युचर नै हुन्छ । त्यही एउटा रमाइलो के । कसैलाई थाहा नै हुँदैन । फेरि थाहा भयो भने जिउनुको मजा आउँदैन ।’

आफ्नो विगतलाई समीक्षा गर्नुपर्दा नवीनले संघर्षलाई कसरी सम्झन्छन् ?, ‘म विगतलाई कहिल्यै सम्झन्नँ । जब मान्छेले विगतलाई सम्झन्छन् नि ! तब मान्छे छुटेका कुराहरू सम्झिएर दुःखी हुन्छ ।

आजको काम आजै गर्ने नवीन के भट्टाईको जीवनको फिलोसोफी हो । हिजो के गरेँ, अस्ति के गरेँ, त्यतिवेला जे गरेको थिएँ, सक्कियो ।’

नवीनको जीवनको अर्को फिलोसोफी छ : ‘संसारमा कुनै चिज स्थायी छैन । सबथोक सकिएर जान्छ । लोभ, घमण्ड केका लागि ? संसारमा सबैभन्दा ठूलो भनेको ज्ञान हो र असल कर्म हो ।’

संगीत भनेको आत्माबाट आएन भने त्यो बुख्याँचा हुने उनको मान्यता छ । जोसँग आकार त छ तर सास फेर्न सक्दैन । नवीनले हिट हुने कामना गरेनन् । थुप्रै पुरस्कार पाए, तर त्यसले भन्दा ज्यादा उनलाई आफूले गरेका संगीतहरूले नै बढी खुसी दियो ।

कुनै जमानामा एफएमहरूमा एकदेखि पाँच नम्बरसम्म नवीनकै गीत बज्थे, ‘हिट हुनु ठूलो कुरा होइन । राम्रो गरेको छ भने एक दिन जरुर मान्छेले मन पराउँछन्,’ कफीको लामो र अन्तिम चुस्की लिँदै बोल्छन्, ‘एफएमहरूमा टपटेनमा पर्न होइन, गीत आत्मसन्ुतष्टिका लागि बनाउने हो ।’

०००

अहिलेको पुस्तासँग संगीतको अध्ययन कम भएको आरोप छ, नवीनको । ‘संसारका सबैखाले गीत सुन्नुपर्छ । संगीत भनेको श्रुतिका लागि हो ।

ज्याज, ब्लुज, रक, क्लासिकल, अफ्रिकन रिदम सबै सुन्नुपर्छ,’ फेरि दुईवटा कफीका लागि इसारा गर्दै बोल्छन्, ‘ज्ञानविना केही हुँदैन । तर, चोर्नुचाहिँ हुँदैन । त्यो आफैँमाथि सबैभन्दा ठूलोे झुट हो । त्यसले कोमल तकियामा पनि राम्रो निद्रा दिँदैन ।’



नवीनको ‘आँखामा तिमीलाई’ पहिले ‘अन्तरा नै नहुने पनि गीत हुन्छ ?’ भनेर एफएमहरूले रिजेक्ट गरेका थिए । तर, त्यही गीत पछि नम्बर वान भयो । उनले आधुनिक पपमा बाँसुरी प्रयोग गरे । ‘तिमीलाई म दोबाटोमा’ गीतमा फोल्क प्रयोग गरे ।

गिटारका तारहरूमा नयाँ कर्ड खोज्दाखोज्दा औँलाका टुप्पाहरूमा बसेका डाम देखाउँदै भन्छन्, ‘नयाँ कुरालाई मान्छेले अचम्म मान्छन् । किनभने, त्यो अरूले बनाएको रोड होइन । आफैँले बनाएर ड्राइभ गर्दाखेरि अरूलाई अचम्म लाग्छ ।’

०००

संगीतमा तीन दशकको यात्रा गरिसकेका नवीन अब नयाँ के दिन सक्छन् त ? भन्छन्, ‘नयाँ–नयाँ अचम्म खालको प्रयोग ।’ अस्ति भर्खरै पनि ‘चाहना एउटै’, ‘मेरो नाम’ गीत रिलिज गरे । ती सबै गीत लाइभ रेकर्ड गरे । हालै उनी म्युजिक नेपालमा गएका थिए ।

लाइभ रेकर्ड गर्नुपर्ने । गोलो पुरानो टेप देखे । ‘यो चिज चल्छ ?’ उनले सोधे । उनीहरूले ‘चल्छ’ भने । ‘कहिलेदेखि चलाएको छैन’ भनेर फेरि सोधे । ‘२०६३ सालदेखि’ भन्ने जवाफ आयो । उनले भने ‘अब मेरा सबै नयाँ गीत यसैमा रेकर्ड गर्नुपर्छ ।’

संगीत क्षेत्रमा अप एन्ड डाउन भइरहन्छ । ‘समय बलवान् छ’ भन्छन् । अहिलेका वैज्ञानिकले समयलाई सीधा लाइनजस्तो भने पनि नवीनका लागि समय चक्र हो, साइकल हो ।

नवीन धर्मग्रन्थविनाको ईश्वरलाई विश्वास गर्ने बताउँदै भन्छन्, ‘डाउन हुँदा प्रकृतिले अब सिक् ! भनेर भनेको हुन्छ । त्यतिवेला सिक्नुपर्छ, अध्ययन गर्नुपर्छ । साधना गर्नुपर्छ । किनभने, संगीत सौख होइन, साधना हो । संगीत सौख मात्र भयो भने ऊ श्रोता हुन्छ ।’

संगीत कस्तो हुने र कसरी बनाउने भन्ने कुरामा बौद्धिक बहस हुन जरुरी देख्छन्, नवीन । ‘संगीतमा केही गर्नका लागि लामो रेसको घोडा हुन जरुरी छ,’ उनी बोल्छन् ।

संगीतले ठूलो रिभोलुसन गर्न सक्ने उनको तर्क छ । ‘मानिसको सोचाइ परिवर्तनदेखि राजनीतिसम्म संगीतले परिवर्तन गर्न सक्छ, जस्तो बब मार्ली र जमैका,’ थप्छन्, ‘त्यही भएर पहिले ठूला–ठूला राजनीतिज्ञ संगीत र कलादेखि डराउँथे । यसले के बोलिदेला या लेखिदेला भनेर ।’

नवीनलाई ‘अफ बिट’मा रहेर काम गर्न आनन्द लाग्छ । चलिहरहेको भन्दा फरक गर्न चाहन्छन् । ‘संगीत भनेको कल्पना, आत्मा र दर्शनको संयोजन हो’ भन्छन् । ‘गीत चलेन भनेर दुःखी हुनुहुन्न ।

खाल्डो बनेर पु-यो भने पनि दश वर्षपछि झिल्का बनेर निस्कन सक्छ,’ टेबलमा आइपुगेको कफीतिर नजर लग्दै बोल्छन् । यतिवेला क्याफेमा अचानक उनकै गीत बज्छ–

आँखामा तिमीलाई पाउँछु म धेरै धेरै
जलाई आफूलाई देखाउन म सक्दिनँ
माया तिमीलाई गर्छु म धेरै धेरै…
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger