Latest Updates :

हवाई सेवा प्रभावित हुँदा मानसरोवर यात्रीको बिचल्ली

SHARE THIS POST :

दुई सयको उद्धार, ६ सय अझै हिल्सा र आसपास क्षेत्रमै

वर्षाका कारण हवाईसेवा प्रभावित हुँदा मानसरोवर यात्री हुम्लाको हिल्सा र आसपासको क्षेत्रमा बिचल्लीमा परेका छन् । केहीलाई नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरले नेपालगन्ज र सुर्खेत पु-याए पनि करिब ६ सय तीर्थयात्री उद्धारको पर्खाइमा छन् ।

तिब्बतको कैलाश पर्वत परिक्रमा गर्न बर्सेनि भारतीय तथा नेपाली तीर्थयात्री सिमकोट हुँदै मानसरोवर पुग्ने गरेका छन् । यस वर्ष पनि दुई हजारभन्दा बढी तीर्थयात्री मानसरोवर पुगेको जनाइएको छ । तर, चार दिनदेखिको वर्षाले हवाईसेवा प्रभावित भएपछि मानसरोवर जाने तथा फर्किने तीर्थयात्री बिचल्लीमा परेका हुन् ।


ट्राभल एजेन्सीहरूका अनुसार हिल्सा, सिमकोटलगायत क्षेत्रमा ६ सय तीर्थयात्री अड्किएका छन् । मौसमका कारण हवाई उडान हुन नसक्दा समस्या भएको समिट एयरका स्टेसन प्रमुख गोविन्द लामाले बताए । ‘दिनदिनै पानी परिरहेको छ । बिहान र दिउँसो हुस्सु लाग्छ, अपराह्नतिर मात्रै उडान हुँदा धेरै तीर्थयात्रीलाई उडाउन सकिएको छैन,’ लामाले भने ।

हिल्सा तथा तिब्बत क्षेत्रमा रहेका तीर्थयात्रीलाई खान र बस्नको समेत समस्या भएको छ । हिल्सा र आसपासको क्षेत्रमा पर्याप्त मात्रामा होटेल नभएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिल्सामा पाल टाँगेर तीर्थयात्रीलाई बासको व्यवस्था गरिएको छ ।

टिकट पाउँनै मुस्किल
मानसरोवर यात्रीले घर फर्किन टिकट पाइरहेका छैनन् । तीन दिनअघि नै फर्किने तालिका भए पनि बुधबारसम्म टिकट नपाएको भारत बेंग्लोरका विश्वनाथले बताए । ‘दिनभरि विमानस्थलमा प्रतीक्षा गर्छौँ, तैपनि टिकट पाइँदैन । चार दिनदेखि कुर्दाकुर्दै बिरामी भइसकेँ,’ उनले भने ।

प्रत्येक दिन विमानस्थल पुग्ने र होटेल फर्किने मात्रै भइरहेको भारत चेन्नईका रेनुका बर्माले बताइन् । ‘विमानस्थल आउँदा–जाँदा थाकिसकेँ, टिकट पाउनै सकेकी छैन,’ उनले गुनासो गरिन् । मानसरोवर यात्राको जिम्मा लिएको ट्राभल एजेन्सीले बन्दोबस्त नगरेको उनको भनाइ छ ।
यात्रुको अत्यधिक चापले टिकट वितरण गर्न असहज भएको जनाउँदै विमान कम्पनीले कार्यालय बन्द गरेका छन् । उनीहरूले आन्तरिक रूपमा टिकट बिक्री–वितरण गर्दै आएका छन् ।

सिमकोटका होटेलमा बसोवाससँगै खानपानको पनि समस्या भएको छ । यात्रुको चापले राम्रोसँग खानपान र बसोवासको व्यवस्था हुन नसकेको मानसरोवर होटेलका सञ्चालक चिन रावतले बताए । ‘तीर्थयात्रीका लागि खाने र बस्ने राम्रै बन्दोबस्त गरेका छौँ, तैपनि भिडभाडले अव्यवस्थित भएको होला,’ उनले भने ।

नेपाली यात्रीलाई समस्या
नेपाली सेनाको हेलिकोप्टर र निजी कम्पनीका उडानमा भारतीय तीर्थयात्री मात्रै ओसार्न थालेपछि नेपाली यात्री समस्यामा परेका छन् । बिरामी भएर उपचार गर्न हिँडेका स्थानीय बासिन्दालाई पनि समस्या भएको छ । हुम्लाका बासिन्दाले कामका लागि पनि बाहिर जान पाएका छैनन् ।

शिक्षक सेवा आयोगको परीक्षा दिन जानका लागि टिकट नपाएको शिक्षकहरूले गुनासो गरेका छन् । ४८ जना शिक्षकले टिकट नपाएको जनाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूका लागि टिकटको व्यवस्था गरिने प्रजिअ पोखरेलले आश्वासन दिएका छन् ।

हिल्सामा हेलिप्याड निर्माण
हुम्लाको हिल्सामा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ । तीर्थयात्री तथा बिरामीलाई उद्धार गर्न सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको भैरवी दल गुल्मले जनाएको छ ।  नवनिर्मित हेलिप्याडलाई बुधबार उत्तर–पश्चिम पृतनापति कर्मेन्द्रविक्रम लिम्बूले नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामालाई हस्तान्तरण गरेका छन् । सेनाले १५ लाखमा हेलिप्याड निर्माण गरेको जनाएको छ ।

सैनिक हेलिकोप्टरबाट उद्धार

मानसरोवर यात्री बिचल्लीमा परेपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्न थालिएको छ । बुधबार मात्रै सैनिक हेलिकोप्टरले तीन उडान गरेको छ । त्यस्तै, तारा, सीता र समिट एयरले पनि एक–एक उडान भरेका छन् । मंगलबार र बुधबार गरी करिब दुई तीर्थयात्रीलाई  नेपालगन्ज र सुर्खेत पु-याएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger