कनकाई नगरपालिका–४ स्थित कनकाई पुलभन्दा करिब १५ मिटर दक्षिण ट्युबमाथि ३१ क्युबिक सखुवाको काठ राखेर बुधबार राति भारततर्फ लाँदै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक गोकर्ण कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-१० का ४० वर्षीय शंकर कार्की, २६ वर्षीय धमेन्द्र साह, ३३ वर्षीय रमेश सिटौला, ४३ वर्षीय ताला हास्दा र ३९ वर्षीय भुवन दाहाल रहेको प्रहरी नायब निरीक्षक कार्कीले जानकारी दिए।
“नदीको बहावमा काठ तस्करी हुँदैछ भन्ने गोप्य सूचना पायौँ”, उनले भने, “त्यसपछि हामीले काठसहित त्यसमा संलग्नहुनेलाई पक्राउ गर्यौँ।” पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला वन कार्यालय झापामा बुझाइएको छ भने बरामद काठलाई सेक्टर वन कार्यालय सुरुङ्गामा राखिएको छ।
कनकाई नदीमा बर्खाको समयमा बाँसको चाली र ट्युबको मद्दतबाट भारततर्फ काठ तस्करी हुने गरेको छ। नेपालको वनबाट काठ चोरी निकासी हुन थालेपछि निगरानी बढाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ।
Post a Comment