विराटनगर । विराटनगर ८ की एक महिलाको औंला टोकेर विवादमा मुछिएका टेकबहादुर गिरीका पुराना घटनाहरू एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् ।
आफूलाई नागरिक समाजको अगुवा भन्न रूचाउने गिरीले यसै साता छिमेकी संगीता पोखरेलको कान्छी औंला टोकेपछि घटनाले उग्र रूप लिएको हो । गिरीले संगीताको औंला टोकेरै टुक्रा पारिदिएका छन् ।
न्यूरो अस्पतालको उपचारपछि उनी घर फर्किएकी छन् । यस प्रकारको हिंसाको महिला अधिकारवादी संघसंस्थाले निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । रूखो स्वभावका गिरी जहाँ रहन्छन् त्यहाँ विवाद हुने छिमेकीहरू बताउँछन् ।
वि.सं. २०२८ सालदेखि अन्तशूल्क, राजस्व र भन्सार कार्यालयमा काम गरेर केही वर्षअघि सेवानिवृत्त भएका गिरीले धम्काएरै जागिर खाएको बुझिएको छ । वि.सं. २०५० सालमा विराटनगर भन्सार कार्यालयमा रहँदा आफ्नै सहकर्मी खरिदार स्तरका एक कर्मचारीलाई मुखमा थुकेका थिए ।
कांग्रेस आवद्ध कर्मचारी युनियनको चुनावको मतगणना चलिरहेको थियो, सामान्य विवाद हुँदा गिरीले अध्यक्षका प्रत्यासी नवराज सुवेदीको मुखमै थुकेपछि कुटपिट सुरु भयो- नाम उल्लेख नगर्ने शर्तमा छिमेकीले भने,-गिरी जहाँ रहन्छन् त्यहाँ विवाद वा कुटपिट हुने गर्छ । अहिले विराटनगरको शान्ति चौकको अवस्था यस्तै छ ।
राजस्व कार्यालयमा लामो समय बसेर प्रशस्त धन आर्जन गरेका गिरीले तर्साएर, धम्काएरै धन आर्जन गरेको बुझिएको छ । विराटनगर भन्सारमा खरिदार पदमा रहँदा पनि उनको फूर्ति यस्तै थियो । नजिकका एक कर्मचारीले भने,-कार्यालय प्रमुखहरूलाई धम्काएरै ठूला कम्पनीहरूको जाँचपास गर्थे । ठूला कम्पनीको फारम जाँच गर्दा धेरै पैसा आउँथ्यो प्रमुखलाई धम्काएरै प्रशस्त धन आर्जन गरेका हुन् उनले ।
नागरिक समाज र दशनामी संघको जिम्मेवार पदाधिकारी भएर बसेका गिरीको रवैयाप्रति आफ्नै साथीभाइ पनि खुसी छैनन् । घटनाअनुसार टेकबहादुर र संगीता छिमेकी हुन् ।
बिहान हुने बित्तिकै कुकुर डुलाउने गरेका गिरी सधैं स्थानीय विभिन्न व्यक्तिकै घरअगाडि कुकुरलाई शौच गराउथे । उनका विरुद्धमा कोही छिमेकी बोल्नेसम्म हिम्मत गर्दैनन् । धेरैपटक यस्तै घटना दोहोरिएपछि संगीताका श्रीमान कविरचन्द्र शर्माले मुख खोल्न बाध्य भए । नेपाल आजमा खबर छ ।
घरअगाडि कुकुरलाई शौच गराइरहेको बेला त्यस्तो कार्य नगर्न आग्रह गर्दा गिरी एक्कासि जाई लागे । कुकुर डुलाउँदा सधैं लठी लिएर हिंड्ने गिरीले त्यो आग्रहलाई ठाडै अस्वीकार गरी मरणासन्न हुनेगरी कुटपिट गर्न थालेपछि छुट्याउन पुगेकी संगीतालाई औंलो टोकेर टुक्रा पारिदिए । घाइते भएकी संगीतालाई तत्कालै न्यूरो अस्पताल लगियो ।
सडक अतिक्रमण गरेर नगरक्षेत्र व्यवस्थित गर्न लाग्दा महानगरपालिकाविरुद्ध उनले त्यो बेला सोझासाझा जनतालाई उचालेर काममा अवरोध पुर्याएका थिए । मुटुको बिरामी हुँ भन्दै गिरी अस्पतालमा उपचार गराएर प्रहरी हिरासतमा बस्न मानेका छैनन् ।
स्थानीयले सामाजिक सञ्जालमा पोष्ट गरेर उनलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रहरीले महिला हिंसाको घटना भएकाले गिरीलाई कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।
Post a Comment