सानैदेखि कि त साइन्स पढ्छु, कि खेलाडी बन्छु भन्थी,’ केही क्षणको मौनता तोड्दै चमेली मगर बोलिन्, ‘मलाई छोरीको सपना देखेर डर लाग्थ्यो। कसरी साइन्स पढाउनु, कसरी खेलाडी बनाउनु?’
आमाको बोली फुट्दै गएपछि सँगै रहेकी संगीताले मुन्टो निहुराइन्। उनको मुहारको अनौठो भावले हुनुपर्छ आमा चमेली पनि मौन भइन्। कोठामा सन्नाटा छायो। पिन ड्रप साइलेन्स…।
वसन्तपुर जैसीदेवलको एउटा पुरानो घरको दोस्रो तल्लामा छौं हामी। काठको साँघुरो र होचो भर्याङ चढेपछि आउँछ संगीता बस्ने कोठा। यो साँघुरो कोठामा घाम छिर्दैन। भित्तामा भूकम्पका निसानी प्रस्ट छ। त्यही चर्किएको भित्तामा झुन्डिएको छ, एउटा फ्रेम। फ्रेमभित्र दिवंगत राजा वीरेन्द्रको परिवार मुस्कुराइरहेको फोटो छ। छेउमै छ, नेपालको झण्डा। दुई दर्जन बढी ‘गोल्ड मेडल’ पनि भित्तामै टाँगिएको छ। र्याकमा विनोद चौधरीको आत्मकथादेखि नारायण वाग्लेको पल्पसा क्याफेसम्मका किताब अटाएको छ। यही कोठामा टिभी, दराजदेखि दर्जनौँ सामान अटेको छ। लो बेडमा बसेका छन्- आमा र छोरी। संगीताले अनुहार छोप्न मफलर लगाएकी छैनन्।
‘कस्सम, मेरी छोरी सारै ज्ञानी थिइ। कसैसँग मनमुटाव थिएन। मजदुरी गरेर भए पनि परिवारमा सुख शान्ति थियो,’ अँध्यारो कोठाभित्रको सन्नाटा तोड्दै चमेली बोल्छिन्, ‘यस्को कर्म यस्तै रै’छ। न साइन्स पढ्न पाइ, न खेलाडी बन्न नै।’
संगीता अझै चुपचाप कुनामा बसिरहेकी छिन्। कुराको मेलोमा बेलाबेलामा चमेली भावुक हुन्छिन्। घरिघरि मुस्कुराउँछिन् पनि। अनि फेरि मौन। अतितको स्मृतिले आँखामा आँसु छचल्किरहन्छ। आमाको भोगाइ सुनेर संगीता ‘खिन्न’ देखिन्छिन्।
चमेलीको भरपर्दो जागिर थिएन। न उनको श्रीमान् प्रेमको नै। बिहान बेलुका हात मुख जोर्न धौ धौ। आयको आधार भनेको ज्याला मजदुरीमात्रै। बिहानदेखि घर व्यवहार, दिनभर ज्याला मजदुरी र साँझमा परिवार सबै एकै ठाउँ। संघर्षसहितको उनीहरुको दैनिकी यस्तै थियो, सपनाको संसार भने बेग्लै।
चमेली कहिले क्याटरिङको भाडा माझ्थिन्। कहिले कालिमाटीबाट तरकारी किनेर फुटपाथमा बेच्थिन्। उनका श्रीमान् प्रेम पनि क्याटरिङमा काम गर्थे। छोरा पनि त्यहीँ हेल्पर। सबैको जोडबलले अभावबीच सन्तोष थियो, खुशी पनि।
संगीताको सपना थियो- साइन्स पढ्ने। दोस्रो विकल्प – तेक्वान्दोको राष्ट्रिय खेलाडी बन्ने। चमेलीसँग पनि केही थान सपनाहरु थिए-
पहिलो, संगीताको सबै सपना पूरा गर्ने।
दोस्रो, आफ्नोजस्तो दु:खी जीवनबाट छोरीलाई मुक्ति दिने।
सपना पूरा हुनेमा उनीहरु निश्चिन्त थिए। तर, अकस्मात बज्रपात आइलाग्यो यो परिवारमा। १६ वर्षको कलिलो उमेरमा अनायसै संगीताले एसिडको राप सहनुपर्यो। परिवारका सपना र योजना पनि क्षतविक्षत भए।
तेक्वान्दोमा पहिलो डन हासिल गरिसकेकी थिइन्। त्यो घटना हुन्थेन भने संगीता यतिबेला तेक्वान्दोको स्टार खेलाडी भइसक्थिन्, सायद। देशको लागि अन्तर्राष्ट्रिय खेल खेलिरहेकी हुन्थिन्। हातमा मेडल हुन्थे, अनुहारमा बेग्लै चमक। अनि हिँड्नुपर्ने थिएन, अनुहार छोपेर। नाम र दाम दुइटै हुन्थ्यो। भाँडा माझेर परिवारको जीवन निर्वाह गर्नुपर्ने चमेलीको बाध्यता पनि सायद अन्त्य हुन्थ्यो। एउटा घटना, जसले सबै सपनालाई बालुवाको घर झै ढालिदियो।
***
चार वर्षअघिको फागुन १०। कुहिरो लागेर दिन धुम्म थियो। चमेली बिहानै उठेर घरायसी धन्दा गर्न थालिन्। संगीता ट्युसन पढ्न् गइन्। त्यसको एकैछिनमा बाहिर कोही चिच्याउँदै कराएको आवाज सुनियो। चमेलीले झ्यालबाट चिहाउँदा बाहिर संगीता दौडिँदै थिइन्। विभत्स अनुहार, आधा शरीर कालै डढेको। शरीरबाट मासु फतफति गलिरहेको। लुगा त खरानीमात्रै। चमेलीको कानमा पर्यो, ‘लौन नि कस्ले एसिड फ्याँकेछ।’
छोरीको अवस्था देखेर चमेलीको होस ठाउँमा रहेन। के गर्ने, कसो गर्ने ठम्याउनै सकिनन्। पानी खन्याइदिइन् संगीतामाथि। छोरी बेहोश। ‘दूध खन्याएको भए एसिडले शरीर भित्रैसम्म गल्दैनथ्यो भन्ने सुनेँ, थकथक लाग्यो,’ मलिन स्वरमा भनिन्।
हतार हतार गरेर नजिकैको वीर अस्पताल पुर्याइयो। विभत्स शरीर देखेर वीरले भर्ना लिएन। सँगै एसिडको सिकार भएकी सीमा बस्नेत भने वीरमै भर्ना भइन्। संगीतालाई काठमाडौं मेडिकल कलेज सिनामंगल लगियो।
केएमसी अस्पतालमा बिताउँदाका दिन चमेलीका लागि सबैभन्दा पीडादायी थिए। मिडियामा आउने खबरले घाउमा नुनचुक छरेजस्तै भइरहन्थ्यो। अनुसन्धान गर्ने प्रहरीको प्रश्नले मन भतभती पोल्थ्यो। अपराधी पत्ता लाग्ने कुनै संकेत नमिल्दा झनै डराएकी थिइन् उनी। ‘किन यस्तो भयो केही जवाफ पाएको थिइन। ती दिन कसरी सम्झुँ? त्यस्तो पीडा व्यक्त गर्न शब्द छैन,’ भनिन्।
ठ्याक्कै सात दिन लाग्यो संगीतालाई होश आउन। ‘नरुनू ममी म चाँडै ठीक हुन्छु,’ होसमा आएपछि संगीता बोलिन्। त्यसपछि सुरु भयो, प्रहरीको अनुसन्धान।
प्रहरीहरु आएर सोध्थे।
स्रोत:sagunkhabar
Post a Comment