मानिसलाई नियमित खानाको आवश्यकता पर्छ । तर, कामविशेषले गर्दा कहिलेकाहीँ खाना खाने फुर्सदसमेत नमिल्न सक्छ । कति त तौल घटाउने भन्दै फास्टिङ पनि गर्छन् । के एक दिन भोकै बस्दा शरीरमा कुनै असर पर्दैन ? यस्तो अवस्थामा शरीरले कसरी काम गर्छ त ? नयाँ पत्रिकाका विश्वास खड्काथोकीले तयार पारेको एक सामग्री :
भोकै कति दिन बाँचिन्छ ?
खाना खाएको ६ घन्टासम्ममा शरीरले पचाइसकेको हुन्छ । या भनौँ, पाचन प्रणालीको काम सकिसकेको हुन्छ । त्यसपछि पनि नखाँदा शरीरले फरक ढंगले काम गर्न थाल्छ । त्यो के भने अगाडि खाएका खानाबाट स्टोर गरेर राखेको ग्लुकोजबाट शरीरका अंगले काम गर्न थाल्छन् । जसलाई ग्लाइकोजेन भनिन्छ । यस्तो अवस्थामा स्टोर भएर राखेका ग्लुकोजलाई टुक्र्याएर त्यसलाई शरीरले शक्तिका रूपमा प्रयोग गर्न थाल्छ । यस्तो क्रम २४ घन्टासम्म चल्छ । त्यसपछि स्टोर गरेर राखेको ग्लुकोज पनि सकिन्छ ।
त्यसपछि पनि खाना नखाएमा शरीरमा भएको प्रोटिनलाई प्रयोग गर्न थाल्छ । शरीरका मसल्समा भएका प्रोटिनलाई ग्लुकोजको रूपमा विकास गर्छ । यो प्रक्रिया दुई दिनसम्म चल्छ । दुई दिनसम्म पनि खाना नखाँदा शरीरले अन्य विकल्प खोज्न थाल्छ । यतिवेलासम्म शरीरले कार्बोहाइड्रेटबाट ग्लुकोज पाइरहको हुन्थ्यो । तर, त्यसपश्चात् भने शरीरमा भएको फ्याटलाई टुक्र्याएर शरीरले शक्ति लिन थाल्छ । शरीरमा हुने फ्याटी एसिडबाट शरीरले शक्ति लिने गर्छ । मस्तिष्कका लागि पनि ग्लुकोज नभई हुँदैन । यस्तो अवस्थामा मस्तिष्कले बोसोबाट शक्ति लिने काम गर्छ । यस्तो प्रक्रियाले बढीमा एक हप्तासम्म काम गर्न सक्छ ।
मानिसले नखाई कति दिनसम्म बाँच्न सक्छ त भन्ने प्रश्न आउन सक्छ । शरीरले खाना नखाए पनि पानी नियमित लिइरहेको छ भने त्यो मानिस १५ दिनदेखि एक महिनासम्म बाँच्न सक्छ । किनभने, खाना नखाँदा शरीरमा विषाक्त पदार्थहरू उत्पादन भइरहेका हुन्छन् । त्यसलाई पानीले पखाल्ने गर्छ । यदि पानी पनि नखाने हो भने हप्ता–दश दिनभन्दा बढी समय बाँच्न सक्दैन ।
को एक दिन पनि भोकै नबस्ने ?
खासगरी ग्यास्ट्राइटिसको समस्या भएका मानिस एक दिन पनि भोकै बस्नुहुँदैन । या फास्टिङ गर्छु भन्ने कुरा पनि दिमागबाटै हटाउनुपर्छ । यस्ता समस्या भएका मानिसले नखाँदा आमाशय र आन्द्रामा भएको एसिड माथितिर फर्केर आउँछ र ग्यास्ट्राइटिसको समस्यालाई झन् बल्झाउने गर्छ । शारीरिक रूपमा अलि बढी परिश्रम गर्नेहरू पनि भोकै बस्नुहुँदैन । खेलाडीहरू पनि एक दिन पनि भोकै बस्नुहुँदैन । किनकि, उनीहरूमा काम गर्दा इनर्जी लस हुन जान्छ ।
गर्भवती महिलाले पनि फास्टिङ गर्नुहुँदैन । किनकि, यस्तो अवस्थामा उनीहरूलाई बढी मात्रामा पोषणको आवश्यकता हुन्छ । खाना नखाएमा विभिन्न समस्या निम्तिन जान्छ ।
जुनकुनै बिरामी भएमा मानिस एक दिन पनि भोकै बस्नुहुँदैन । हातखुट्टा भाँचिएका, मुटुसम्बन्धी रोगी, मधुमेह, रक्तचाप आदिका बिरामी कहिल्यै भोकै बस्नुहुँदैन ।
बच्चाहरू पनि भोकै बस्नुहुँदैन । उनीहरूको नियमित रूपमा शरीरको वृत्ति विकास भइरहेको हुन्छ । यस्तो अवस्थामा बढी मात्रामा भिटामिन, प्रोटिन, मिनरललगायत तत्वको आवश्यकता हुन्छ ।
बाथको समस्या भएकाहरू पनि कहिल्यै भोकै बस्नुहुँदैन । बाथ भनेकै युरिक एसिड हो । खाना नखाँदा शरीरले प्रोटिनबाट शक्ति लिन थाल्छ । र, प्रोटिनमा युरिक एसिड हुन्छ । जसका कारण समस्या झन् बल्झिएर जान्छ ।
तौल घटाउने भन्दै जथाभावी भोकै बस्नु पनि गलत हो । यसरी भोकै बस्दा तौल त घट्छ तर बोसो होइन कि मासुको मात्रा घटेर तौल कम हुन्छ । जुन राम्रो होइन ।
मृत्यु नै हुन सक्छ
न्यून रक्तचापको समस्या भएका मानिस पनि भोकै बस्नुहुँदैन । उनीहरूमा अपचको समस्या निम्तने गर्छ । यस्ता मानिस भोकै बसे बेहोसीको सम्भावना निकै हुन्छ ।
मधुमेहका बिरामीको शरीरले दिनभर ग्लुकोजलाई सन्तुलनमा राखेको हुन्छ । नखाएको दिनमा बिरामीको शरीरमा ग्लुकोजको कमी हुन जान्छ । या भनौँ मधुमेह एकदमै कम हुन्छ । यस्तो अवस्थामा मानिस जस्तो अवस्थामा छ त्यहीँ ढल्ने गर्छ । र, तत्काल उसलाई अस्पताल नपु-याएमा मृत्यु नै हुन सक्छ ।
स्रोत:.enayapatrika
Post a Comment