Latest Updates :

प्रहरीकी छोरीको प्रचण्ड र ओलीलाई चेतावनी: ‘आफ्नै देशमा फेरि पनि बन्दुक बोक्नु नपरोस्’

SHARE THIS POST :
अर्पना कार्की
आदरणिय प्रचण्ड र ओली सरकार !
न म तपाईंहरूको राजनीति बुझ्छु ,न यो घिनलाग्दो राजनीति बुझ्न जरुरी छ । मेरो यो पढ्ने बेला हो तर म यी विविध विषयको कारण मानसिक तनाव झेल्दैछु । म त्यो बेला एक बर्षकी थिएँ । मेरा पीडाहरू र सानै देखिका यादहरू सम्झदै गर्दा म जस्ता हजारौं टुहुराहरूले अधिकार बिना छट्पटाएको पनि थाहै नपाई १९ बर्ष बितेछ । म १३ बर्षको हुँदा मेरो बाबा यो संसारमा नभएको थाहा पाएँ ।

मलाई ठूलो मान्छे बनाउने सपना बोकेकी मेरी आमाले आफू दिनरात घोटिएर भए पनि उचित शिक्षा दिलाउने अभिलाषा राखेर स्कुल टाढा भएकोले मलाई बोर्डिङ स्कुलमा बोर्डस गर्नु भएको थियो ।

म कक्षा १ देखि कक्षा १० सम्म बाबा आमाको न्यानो काख बिना दश बर्ष जेल सरहको जीवन बिताएकी हुँ । कुरा म कक्षा ७ मा अध्ययन गर्दैगर्दा तिरको हो स्कुल छुट्टी हुनाले मेरो बाबा त्यो बेलासम्म म ठूलो बाबा नै मेरो बाबा सम्झिन्थें । आमाहरू दुइवटा हुनुहुन्छ भन्थें ।

दाइ, भाइ ,बैनी लगायत हामी सात जना हौं भन्थें (मलाई लिन होस्टल जानुभयो र म घर आएँ । भोलि पल्ट बिहान घर सफा गरेर आँगनमा सफा गर्दै थिएँ त्यो बिहान छिमेकी हजुरआमा आइपुग्नु भयो र मेरो नजिक आएर मलाई सुमसुमाउँदै भन्नलाग्नु भयो ‘हेर ठ्याक्कै बाउ जस्ती छ स्वभाव उस्तै छ बाउ झैं केही काम नगरी बस्न सक्दिन ।

यति ठूली भई छोरी पनि आज बाउ हुँदो हो त कस्तो हुन्थ्यो होला । सानै देखि दुख पाएको तेरो बाउलाई मारीदिए पापी बजियाहरूले । धेरै दुख पाएर पुलिसमा गएको थियो बिचरा आज जहान छोराछोरी सँगै जीवन बिताउन पाएन ।’ यो कुरा त्यो बेला सम्म मलाई परिवारमा कसैले बताएको थिएन ।

म काम्न लागें चिच्याएर रुँदै हातको कुचो भुइँमा मिल्क्याएर आमा छेउमा गएर रुँदै भन्न लागें । ‘मेरो बाबा खोइ ? कसले र्मायो ? किन र्मायो ?

मेरो बाबा मारीनुको कारण के हो ?आमा रुनु भयो । मेरो आँसु पुच्छन् । आफूले आँसु पिउँदै भन्नलाग्नु भयो । बाबा पुलिसमा हुनुहुन्थ्यो छोरी द्वन्द्वमा दोहोरो भिडन्तमा त्यहीँ हजरियामा माओबादीले मारे । पुलिस भएकै कारण उहाँको ज्यान गयो ।

अरु कारण के छ ? के गल्ती छ मेरो पतिको भनेर म पनि सोध्दैछु ती माओबादी भनाउँदा सँग जवाफ पाएकी छैन । तिमी नरोउ तिम्रो लागि म छु मेरो औकातले भ्याएसम्म बाबा आमाकै कर्तब्य निभाउनेछु । आमा रुँदै हुनुहुन्थ्यो । म रोएकै बेला ठूलो बाबालाई तपाइँ मेरो बाबा होइन मेरो छेउ नआउनु भनेर दिल दुखाउन पुगेछु ।त्यो दिन सबै परिवार रुवाबासी चल्यो मेरो घरमा चुल्हो बलेन ।त्यसै दिन देखि मेरो हृदयमा ज्वालामुखी फुटेको छ ।

सरकार १ तपाँईहरूको चर्तिकला मैले हेरिरहेकि छु मनन गरिरहेकी छु । मैले सोधेकी छु के त्यो द्वन्द्वमा तपाइँहरूको आफन्त परे त ? आफ्नो मान्छे गुमाउनुको पीडा भोग्नुभएको छ त ? यदी परेका भए निरीह भएर यसरी बस्न सक्नुहुन्थ्यो ?

तपाइँहरू त कहिले मिले जस्तो कहिले फुटे जस्तो गरेर घुमाउने कुर्सिको खेल खेलेको जस्तो देख्दैछु । जसको रगतको होली खेलेर आज त्यो कुर्सी ओगटिएको छ फर्केर हेर्नुस् त साच्चै त्यो रगतको मूल्य चुकाउने काम गर्नुभएको छ त ?

हाम्रो देशको न्याय यहि हो त ? गर्नु भएकै छ भने किन हजारौं पीडितहरू सडकको चिसो खाएका छन् ? यहि ब्यवस्थालाई न्याय मानिन्छ भने मेरो भन्नू केही छैन होइन भने यो २० बर्षमा मैले हजारौं आमाहरूको दुःख पढेकी छु ।पतिको वियोगान्त पनि कयौं आमाहरूले समाज र देशको निम्ति पसिना बगाएका छन् सन्तानका लागि हड्डि घोटिरहेका छन् ।

हाम्रा तमाम बाबाहरूको रगतमा होली खेलेको सरकार मुकदर्शक बनेर हाम्रा पीडालाई गिज्याइरहेको तीतो अनुभुती बटेलेकि छु। आज उच्च शिक्षा हासिल गर्ने बेलामा न सरकारको सहयोग न आमाको औकातका कारण उचित शिक्षा लिन नसकेर नमिठो अनुभव गरेकी छु ।

नेता ज्युहरू, अन्तिममा भन्दिन भन्दा भन्दै रोक्न सकिन र यो भन्दैछु हाम्रो देशका संचालकले न मेरो बाबा जस्ता हजारौं हाम्रो बाबाहरूको रगतको मुल्याङ्कन गरे, न आमाहरूको आँसुको महत्व बुझे न त म जस्ता लाखौं टुहुराहरूलाई बाबाको न्यानो काखको स्पर्शको खाँचो बुझे । मेरो अन्तरआत्माले धिक्कार्दैछ तपाइँहरूलाई ।

केवल आफ्नो भुँडिको लागि गरिएको हाम्रो देशको राजनितिले म जस्ता हजारौंलाई पीडित बनेर जिउन बाध्य बनाएको छ । यदी तपाईहरूले राज्यको ढुकुटीबाट दिएको १० लाख नै हाम्रो बाबाहरूको सिमित मुल्याङ्कन हो भने मलाई यो उमेरसम्म ल्याउन जिम्मेवारी बोकेकी मेरी आमालाई समयानुसार त्यो १० लाखले अवस्य पुगेको छैन ।

अब त म पनि ठुली भएकी छु । म आफू खाँडिमा बेचिएरै भए पनि त्यो १० लाख फिर्ता दिन तयार छु । होइन भने देशको लागि ज्यान गुमाएका सुरक्षाकर्मिलाई उचित न्याय दिइयोस् । न्यायको लागि म जस्ता हजारौंले आफ्नै देशमा फेरिपनि बन्दुक बोक्न नपरोस् भन्दै बिदा चाहान्छु ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger