जतिबेला निरुता नेपाली चलचित्रमा जमेकी थिइन्, अनमोल केसी सानै थिए । उनी ज्ञानोदय स्कुलमा पढ्ने गर्थे । निरुता फिल्म सुटिङको सिलसिलामा सो स्कुल आसपास पुगिरहन्थिन् । ‘ज्ञानोदयको नजिक पुगेको बेला कहिल्यै पनि अनमोललाई नभेटी फर्किन्नथेँ,’ निरुता सम्भिmन्छिन् ।
अनमोल सानैदेखि क्यूट थिए । निरुता उनलाई काखमा बोक्थिन् । भुवन केसीसँग निकट सम्वन्धका कारण अनमोल उनलाई निकै प्यारा थिए । तर, अनमोल ठूला भएपछि निरुताले एकपटक पनि देखेकी छैनन् । उनी हिरो भए रे भन्ने सुन्दा निरुतालाई अचम्म लागेको थिए । अहिले त नेपाली चलचित्रका सुपरस्टार नै हुन् भन्ने सुनेकी छिन् । उनलाई औधि हर्ष लागेको छ ।
‘अनमोलको बारेमा धेरै राम्रा कुरा सुनेकी छु, अति खुशी लागेको छ,’ निरुताले भनिन्, ‘यसपाली भेट्न पनि औधि मन छ । हेरौं कत्तिको अवसर मिल्छ ।’ यतिबेला निरुता नेपालमा छिन् । उनी पाँच वर्षको अन्तरालमा नेपाल आएकी हुन्, एउटा अवार्ड समारोहमा भाग लिन । अनमोल फिल्मी कार्यक्रमहरुमा उतिसारो पुग्दैनन् । त्यसैले त्यहाँ उनीहरुको जम्काभेट हुन सक्ने सम्भावना न्यून छ ।
अनमोललाई भेट्नेबाहेक निरुतामा अर्को इच्छा पनि बढेको छ । अनमोलकी हिरोइन भएर फिल्म खेल्ने । तर, जोडी सुहाउँदैन कि भन्ने डर पनि छ । ‘किन नसुहाउनु, तपाईं अहिले पनि पहिले जस्तै जवान देखिनुहुन्छ नी,’ भनेर फुक्रयाएपछि उनी हौसिइन् । ‘तपाईंको जिभ्रोमा सरस्वतीको बास होस, मलाई अनमोलको हिराइन भएर खेल्ने अवसर जुरोस,’ निरुताले भनिन् । त्यसो त उनको नेपाल बसाई धेरै लामो छैन । १३ गते आयोजना हुने अवार्ड फङ्सनमा उनको नृत्य प्रस्तुति हुने छ । त्यसपछि १४ गते नै फर्किने योजनामा छिन् । यद्यपि, यो बीचमा कुनै गतिलो फिल्मको अफर आयो भने प्लान अदलबदल पनि हुन सक्छ । झन् अनमोलकै अपोजिटमा आयो भने त कुरै भएन । पहिले बाबुसँग स्क्रिन सेयर गरेकी निरुताको अब छोराकी हिरोइन बन्ने रहर के पुरा होला त ?
Post a Comment