Latest Updates :

दलितसँग बिहे गरेपछि छोराकै ‘अपहरण’

SHARE THIS POST :
दलित किशोरीसँग बिहे गरेको भन्दै कञ्चनपुर नगरपालिका-९ का शिवनारायण साहले छोरालाई नै बेपत्ता बनाएका छन्। साहले छोरा मनीषलाई अपहरण गरी बेपत्ता पारेका हुन्।

मनीषले स्थानीय किशोरी कविता रामसँग बिहे गरेका थिए। मनीष र कविता सुनसरीको इनरुवामा डेरा लिएर दुई महिना बसेको थाहा पाएपछि शिवनारायणले बिहे नगर्न दबाब दिन थालेका थिए। यो विषयमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा छलफलसमेत भयो। त्यहाँ पनि बुवाले बिहे नगर्न दबाब दिएपछि मनीषले अस्वीकार गरे। उनी सबैका अगाडि कविताको हात समातेर हिँडेका थिए। त्यसको दुई दिनमा उनीहरूले भारदहस्थित कंकालनी मन्दिरमा विवाह गरेका थिए।

‘बिहे गरेपछि मनीषले घरमा बस्न नदिए इनरुवामै कमाएर जीवन बिताउने कसम खानुभयो’, कविताले भनिन्, ‘तर, जसोतसो सँगै बसिरहेका बेला मनीषलाई बुवा र भिनाजुले मुख बाँधेर फागुन ११ गते साँझ अपहरण गरेर लग्यो।’ मनीषलाई बेपत्ता पारेपछि उनले चार दिनदेखि न्यायका लागि प्रहरी कार्यालय धाइरहेकी छन्।

आइतबार इलाका प्रहरीमा भेटिएकी उनले भनिन्, ‘ श्रीमानको अपहरण गरेर बेपत्ता बनाएपछि म इनरुवा प्रहरी कार्यालय गएँ। तर, त्यहाँ मेरो पीडा कसैले बुझेन। कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिन आएँ, यहाँ त जहाँ घटना भएको छ, त्यहाँ नै उजुरी हाल्न भन्यो।’ उताले यता र यताले उता भनेपछि थप अन्यायमा परेको उनको गुनासो छ।

मनीषलाई मुख बाँधेर लगेको दिनदेखि उनको मोबाइल अफ रहेको उनले बताइन्। उनका अनुसार मनीषका बुवाले बोक्ने मोबाइलमा फोन गर्दा रिसिभ गरेर काट्ने गरेका छन्। भनिन्, ‘मनीषले मसँग बिहे गरेर सँगै जिउने-मर्ने कसम खानुभएको छ।’

कवितालाई न्याय दिलाउन अधिकारकर्मीले पनि पहल थालेका छन्। अधिकारकर्मी सविता न्यौपानेले गरिबले कहिल्यै सजिलो र सहज न्याय पाउन नसक्ने गुनासो गरिन्। कविता दलित भएकै कारण उनीसँग विवाह गरेका युवकलाई बुवाले नै अपहरण गर्नु ठूलो अपराध भएको उनले बताइन्। उनका अनुसार शिवनारायणविरुद्ध अपहरण मुद्दा दर्ता गराउने तयारी छ।

जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीका डीएसपी नारायणप्रसाद चिमोरियाले यो घटनाबारे अनभिज्ञता जनाए। पीडित युवतीले उजुरी दर्ता गराए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger