Latest Updates :

लौ हेर्नुस् त फरार अभियुक्त रेशम चौधरीको चुनाव प्रचार गर्ने तरिका

SHARE THIS POST :
धनगढी, १० मंसिर, टीकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका रेशम चौधरीको चुनाव प्रचार प्रोजेक्टरबाट भइरहेको छ।

चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा उम्मेदवार छन्। आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या हुने गरी भएको टीकापुर घटनापछि फरार रहेका उनलाई सरकारले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना गरी तीनवटा मुद्दा चलाएको छ।

०७२ साल भदौ ७ गते टीकापुरका सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेश लेख्न गएका बेला भएको भिडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको हत्या भएको थियो भने नाबालक टेकेन्द्र साउदको पनि गोली लागेर ज्यान गएको थियो। त्यही मुद्दामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता लक्ष्मण चौधरीसहित २५ जना थारू समुदायका व्यक्ति दुई वर्षदेखि पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा छन्।

‘उहाँ (रेशम) मेसेन्जरबाट आफ्नो मन्तव्य पठाउनुहुन्छ, हामीसँग दुईवटा प्रोजेक्टर छन्, हामी उहाँको भनाइ मतदाताको घरमा लगेर देखाउँछौं’, रेशमको प्रचारमा खटिएकी रञ्जिता श्रेष्ठ चौधरीले भनिन्।

 ‘मतदाताले राम्रो रेस्पोन्स गरेका छन्।’ रेशमको पार्टी राजपाबाट कैलाली(१ का प्रदेशसभा सदस्यका लागि पनि उमेदवारी परेको छ। प्रदेशसभा १ बाट कृष्णबहादुर चौधरी र प्रदेशसभा(२ बाट चलचित्रकर्मी लक्ष्मण चौधरीले उमेदवारी दिएका छन्।

‘हामीले पनि लक्ष्मणजीका लागि भोट मागिरहेका छौं’, प्रदेशसभा(२ बाट उम्मेदवार लक्ष्मण चौधरीले भने, ‘रेशमजीको भनाइ मतदातासमक्ष पुर्‍याउन उहाँकी श्रीमतीले प्रोजेक्टरको प्रयोग गरिरहनुभएको छ।’ टीकापुरकै स्थानीय दिव्या चौधरी पनि रेशमको प्रचारमा लागिरहेकी छन्। ‘कहिले नयाँ अडियो वा भिडियो आउँछ, होइन भने आएका अडियो र भिडियो देखाइरहेका छौं’, दिव्याले भनिन्।

रेशमको अडियो र भिडियो प्रोजेक्टरबाट मात्रै होइन, प्रचारकहरूले मोबाइल र ल्यापटपबाट पनि मतदातालाई देखाइरहेका छन्। ‘प्रचार टिमका साथीहरू मोबाइलमा र ल्यापटप नै बोकेर पनि रेशमजीको भाषण मतदातालाई सुनाइरहेका छन्’, प्रदेशसभा २ का उम्मेदवार लक्ष्मण चौधरीले भने।

तर, रेशमका प्रचारक उनको भिडियो पहाडी समुदायका मतदातामाझ लगिरहेका छैनन्। ‘बीभत्स टीकापुर घटनाका कारण त्यति हिम्मत गर्न सकिएको छैन’, राजपाका एक नेताले भने। तर, उनले रेशमका लागि भोट माग्न सबै समुदायमा निर्धक्क गइरहेको बताए। ‘भिडियो नै देखाउन सकिरहेका छैनौं तर मत माग्न जाँदा कुनै असहज भएको छैन’, उनले भने।

कैलालीमा त्यही घटनामा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका लक्ष्मण चौधरीले पनि कैलाली ५ नम्बरमा राजपाबाटै प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन्।

एकै घटनाका दुई आरोपीले प्रतिनिधिसभाका लागि दिएको उम्मेदवारीलाई कसैले राजनीतिक अधिकार भनेका छन् भने कसैले आलोचनासमेत गरेका छन्।

नेपाल बार एसोसिएसन कैलालीका पूर्वअध्यक्ष गंगाप्रसाद उपाध्याय राज्यको नजरमा फरार रहेका अभियुक्तले उम्मेदवारी दिन नपाउने तर्क गर्छन् तर दुवै जनाविरुद्ध कसैले पनि गैरकानुनी उम्मेदवारी भयो भनेर निर्वाचन आयोगमा उजुरी भने परेको छैन।

टीकापुर घटनाका आरोपीको तर्फबाट कानुन व्यवसायी गम्भीरसिंह ऐर भने अदालतले अपराधी भनेर फैसला नगरेको व्यक्तिले उम्मेदवारी दिन पाउने तर्क गर्छन्।

 ‘अदालतले अपराधी भने पो अपराधी हो उनीहरू, अहिले त मुद्दा विचाराधीन छ, त्यसैले कानुनसम्मत उमेदवारी हो’, अधिवक्ता ऐरले भने। निर्वाचन अधिकृतका कार्यालयले पनि रेशम र लक्ष्मणको उम्मेदवारी कानुनसम्मत भएको प्रतिक्रिया दिएका छन्। (अन्नपूर्ण पोष्ट दैनिकबाट)

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger