- अतुल मिश्र, स्वरुप आचार्य, काठमाडौं
मंसिर ३, २०७४-पुष्पकमल दाहालका छाेरा प्रकाश (साकार) दाहालको मृत्युको कारण आकस्मिक ह्रृदयघात भएको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले प्रेस नाेट जारी गर्दै बताएको छ । आइतबार दिउँसाे दाहालको निधनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ मुटुराेग विषेशज्ञ डा. जेपी जैसवालले उक्त जानकारी दिएका हुन् ।
'आइतबार बिहान ५ बजेर ५० मिनेटमा प्रकाश दाहाललाई उनका २ जना सहयाेगीले अस्पताल ल्याएका थिए,' उनले भने, 'हामीले उनकाे नाडी र मुटुको धड्कन बन्द भइसकेकाे पायौं। यस्तै अाँखाको नानी पनि 'डाइलुट' (जालाे लागिसेकाे अवस्था) भइसकेको थियो । शरिर पनि चिसाे र कडा भइसकेको थियो । तैपनि हामीले उनलाई बचाउन सकिन्छ कि भनेर अन्तिम प्रयास गर्यौं। त्यसपछि ईसीजी गर्दा पनि मुटुमा कुनै चाल नभएको पाएपछि हामीले निधन भएको घोषणा गरी परिवारलाई जानकारी गराएका थियौं।'
डा. जैसवालले दाहाललाई चिकित्सकले ५ बजेर ५९ मिनेटमा मृत घोषित गरेको बताए । उनले दाहालको अस्पताल ल्याउनु लगभग ३ घण्टा अघि नै निधन भइसकेको दाबी समेत गरे ।
अस्पताल ल्याउनु पूर्व नै उनको निधन भइसकेको दाबी गर्दै उनले भने, ' उनलाई ९९ प्रतिशत हृदयघात भएको हो भने १ प्रतिशत मस्तिष्कघात भएको पनि हुन सक्छ । हामीले हेर्दा ती बाहेक अन्य कुनै कारण रहेकाे पाएनाैं ।'
डा. जैसवालले मृत्युको ९९ प्रतिशत कारण आकस्मिक हृदयघात देखिएकोले पाेष्टमार्टम गरिरहन नपर्ने समेत दाबी गरे । 'हामीले उनको शरिरमा कुनै चाेटपटक र मुखाबाट समेत केही पनि दुर्गन्ध नआएको पायौं। त्यसैले यस्तो केसमा पाेष्टमार्टम गरिरहनु पर्दैन,' उनले भने।
प्रकाशित: मंसिर ३, २०७४
कान्तिपुर ›समाचार ›स्वरुप आचार्य
Post a Comment