सुकदेव लामो समयदेखि सोनुसँग जोडिएको नाम हो। उनी सोनुका विश्वास पात्र भित्र पर्छन्। सोनुको मुम्बईस्थित गोरेगाउँमा रहेको निवासमा भएको भेटमा उनले कुराको सिलसिलामा नै नेपाल र नेपाली फिल्मबाट गरे। ‘नेपाली फिल्म कस्तो बन्छ?’ उनको पहिलो प्रश्न थियो।
उनी पहिलो भेटमै हामीसँग खुले। र, उनले बलिउडमा जम्न आफूले निकै पापड पेलेको घटना सुनाए। भारतमा वर्षेनी सयको हाराहारीमा फिल्म बन्छन्। तर, यसमध्ये ७–८ वटा फिल्मको मात्र चर्चा हुन्छ। यी फिल्ममा कतै न कतै सोनु सुद जोडिएका हुन्छन्। उनी अभिनित फिल्म ‘मनीकर्णिका’ अहिले सुटिङको क्रममा छ। झासीकी रानी लक्ष्मीबाईको कथावस्तुमा बन्न लागेको यो फिल्म २०१८ को अप्रिलसम्म रिलिज हुने आशा गरिएको छ। सुदलाई यो फिल्मबाट ठूलो आशा छ।
सोनु हिन्दी फिल्म मात्र होइन, प्रादेशिक भाषामा बन्ने फिल्म पनि खेल्ने गर्छन्। उनको नेपालीप्रति ठूलो सम्मान छ। उनी हिन्दी फिल्म इन्डस्ट्रीमा जम्न नेपाली दाजुभाईको हात रहेको स्पष्ट भन्छन्। ‘मेरो जीवनमा एक पल्ट यस्तो क्षण आयो। कसैले मलाई पत्याउँदैन्थे। त्यतिबेला पनि सुखदेव मसँग थिए,’ उनले भने।
सोनु सुखदेवलाई आफ्नो भाईजस्तै व्यवहार गर्छन्। भन्छन्, ‘मसँग अहिले ठूला ब्यानरका थुप्रै फिल्म छन्। तर, म दमदार स्टोरी हेरेर मात्र साइन गर्छु।’ सोनुलाई उनले अभिनय गरेको फिल्ममा द्वन्द्वमा अर्का नेपालीले सघाउने गर्छन्। उनको नाम हो, राम कार्की। राम मार्सल आर्टका गुरु पनि हुन्। रामलाई आफ्नो गुरु भन्न रुचाउँछन्, सोनु। भन्छन्, ‘मेरो जीवनलाई सफल बनाउन नेपालीहरुको भूमिका ठूलो छ।’
सलमान खानले अभिनय गरेको फिल्म दबंगमा डरलाग्दो शरीर र अभिनय गरेर उत्कृष्ट खलनायकमा आफूलाई स्थापित गरेका सोनु नेपाली दर्शकले पनि आफूलाई रुचाएकोमा आभार व्यक्त गर्छन्। ‘संसारभरी नेपालीहरुको ठूलो इज्जत छ। भारतमा पनि। नेपालीहरु साहसी र मेहनती हुन्छन,’ उनले भने।
उनलाई नेपालमा सगरमाथा र पशुपतिनाथको दर्शन गर्ने ठूलो इच्छा छ। उनी आफ्ना नेपाली सहयोगी सुकदेवसँगै नेपाल आउन चाहन्छन्। तर, कामको चाप बढी भएको हुनाले तत्काल यो सम्भव नभएको उनको भनाई छ। उनीसँग छोटो कुराकानी पछि फर्किने बेला उनले भने,‘म कुनै दिन पशुपतिनाथको दर्शन गर्न नेपाल आउछु।’
स्रोत : नेपाल लाइभ
साभार-http://www.pnpmedianepal.com
Post a Comment