Latest Updates :

बाढीले सबै कुरा बगाइदिएपछि सप्तरीका बासिन्दा शनिबारदेखि भोकै बसेका छन्(भिडियो सहित)

SHARE THIS POST :
रुपनी,असार १९ | भौगोलिक विकटताले हामी नेपालीहरु पिडित छौ भन्ने कुरा सबैलाई सर्वविदितै छ अझ भनौ बर्खायाम सुरु हुने वितिक्कै प्राकृतिक प्रकोपको पिडा त सबैले भोग्दैनै आइरहेको छौं त्यस्तै भयो रूपनी गाउँपालिका–२ पौवाटोलका अधिकांश घरमा शनिबार दिउँसोदेखी खाना पाकेको छैन । खाडोखोलाको बाढी गाउँ पसेर खाद्यान्न बगाइदिएको छ । घरभित्रै भल पसेर बसिसाध्य छैन । केही परिवारले आफन्तले ल्याइदिएको खानाले बालबालिकाको भोक मेटाएका छन् भने केही परिवार भोकभोकै छन् ।

शनिबार पसेको बाढीले पौवाटोलका अढाई सय घर डुबेका थिए । पानी पर्न रोकिएपछि पानीको सतह घटे पनि माटोको भुइँ हिलाम्मे रहेकाले भित्र बस्न सकिने अवस्था छैन । त्यसमाथि खाद्यान्न सबै बगेकाले खाना बनाउन नसकेको सुनरीदेवी खंगले बताइन् । उनले भने, ‘शनिबारदेखि भोकै छु, चामल सबै बाढीले बगायो । न खाद्यान्न छ न त दाउरा, कसरी बनाउनु खाना ?’ उनको ६ जनाको परिवार बिचल्ली परेको छ ।

सात जनाको परिवार रहेको ललितादेवी मण्डलको अवस्था पनि उस्तै छ । ‘मिस्त्री काम गर्ने श्रीमान्ले कमाएको पैसाबाट एक ड्रम चामल किनेर राखेको थिए, बाढीले सबै बगायो, अब ७ जनाको परिवार के ले पाल्नु’ उनले भनिन्, ‘सुकुम्बासी छँदै थियांै, अब भोकै बस्न बाध्य भइयो ।’

चार फिटसम्म पानी पसेकाले अन्नपात, लताकपडा र बुहुमूल्य सरसामान बगेको मुनिलाल मण्डलले बताए । ‘बहाव तेज भएकाले केही जोगाउन सकिएन,’ खाली बाकस देखाउँदै उनले भने, ‘परिवारको सारा सम्पत्ति यसमै थियो, सबै बाढीले बगायो, हामी घर न घाटका भयौं ।’ मुनिलालका २ वटा घर कामै नलाग्ने गरी भत्केका छन् । पौवाटोलका डुम समुदायका घुरन मरिकको पनि बिजोग छ । घुरनको छानै बगेको छ । आइतबार दिउँसो उनी खुला आकाशमुनि खाना पकाउने प्रयास गर्दै थिए । तर, चुलोमा आगै टिपेन । ‘चुलो, दाउरा सबै भिजेका छन्,’ उनले भने, ‘कसरी पकाउनु खाना ?’

शनिबार बिहान खाडो, महुली, सुन्दरी, जतालगायत खोलामा आएको बाढीले डुबानमा परेका मयनाकरहेडी, त्रिकौल, मधवापुर, तिलाठी, सकरपुरा, मलेठ, रायपुर, रघुनाथपुरका अधिकांश बासिन्दालाई खाना जुटाउनै समस्या छ । बालबालिका र वृद्धवृद्धाको बिजोग छ । चौपाया अलपत्र छन् । ‘घरमा खाद्यान्न भए पो खाना बनाउनु ?’ तिलाठीका त्रिलोकीनाथ मिश्रले भने, ‘खाद्यान्न बाढीले बगाइसक्यो, भान्सा र आँगनमा हिलैहिलो छ ।’ फेरि पनि कतिबेला वर्षा होला र घर छाडेर भाग्नुपर्ला भनेर उनीहरू त्रस्त छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समिति संयोजकसमेत रहेका प्रजिअ कृष्णबहादुर कटुवालले शनिबार मलेठ र मयनाकरेडीका ५ सय ५० परिवारलाई मुरै र चिउरा वितरण गरिएको बताए । उनले बाढीका कारण अति प्रभावित भएका र २ छाक खानै समस्या भएका परिवार पहिचान गरी तात्कालिक राहत व्यवस्था मिलाइने जानकारी दिए । नेपाली सेनाले पीडितको घर पुनर्निर्माणमा सघाउने तयारी गरेको छ ।

राजविराजस्थित नेपाली सेनाको कृष्ण दल गणले आइतबार मलेठ र रायपुरको पौवाटोलमा भत्केका घरको लगत संकलन गरेको छ । गणका गणपति प्रमुख सेनानी डम्बरबहादुर बोहराले घर निर्माणमा स्थानीय स्रोत साधन परिचालन गर्दै नेपाली सेनाले पुनर्निर्माण र मर्मतमा श्रम खर्चने जनाए । उनले सोमबार बिहानैबाट घर मर्मतमा जुट्ने बताए ।

‘स्थायी समाधान देऊ’ बाढीपीडितले तात्कालिक राहतभन्दा पनि बाढी समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । तिलाठीका युवा बिटु मिश्रले भने, ‘हामी वर्षौंदेखि डुबान भोग्दै आएका छौं, वर्षभरि कमाउँछौं अनि घर जोड्छौं वर्षामा बाढीले सबै बगाइदिन्छ । हामीलाई राहत होइन, स्थायी समाधान चाहिएको छ ।’तिलाठीका अधिकांश बाढीपीडितले राहतभन्दा पनि बाँध निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।

‘हामीलाई कसैले सहयोग गर्न चाहन्छ भने बाँध निर्माणका लागि दबाब सिर्जना गरिदिनुस्’ तिलाठीका अर्का युवा ज्योतिष झाले भने, ‘अहिले राहत लियो फेरि उस्तै दिन आइहाल्छ ।’

वर्षौंदेखि तिलाठीमा खाडोखोलाका कारण बस्ती डुबानमा पर्दै आए पनि बाँध बनाइएको छैन । कुनै बेला राज्यले आवश्यक बजेट नछुट्टयाउने त कहिले नम्बरी जग्गामा बाँध बनाउन नदिने अडान लिँदा समस्या थपिएको थपियै छ ।-कान्तिपुर बाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger