Latest Updates :

पैसाको बिटो देखाउँदै यातायातका हाकिमले भने-नक्कली लाइसेन्सको अनुसन्धान गरौं (भिडियोसहित)

SHARE THIS POST :
यातायात व्यवस्था विभागको सवारी चालक अनुमति कार्यालय एकान्तकुनामा मंगलबार बिहानै एक हुल महिलाहरुले हाकिमलाई घेरेर र्‍याखर्‍याख्ती पारे । कार्यालय प्रमुख तेजनारायण यादवले महिलाहरुलाई सम्झाउने क्रममा आफ्नो गोजीबाट पैसाको बिटो निकालेर देखाए । बिहान ७ बजे ‘सर्भर डाउन भएको’ भन्दै सवारी चालक लाइसेन्सको आवेदन लिन बन्द गरिएपछि मध्यरातदेखि लाइनमा बसेका महिलाहरुको धैर्यको बाँध टुटेको थियो ।

उनीहरु हुल बाँधेर कार्यालय प्रमुखको कार्यकक्षमा छिरेका थिए । सुरुमा उनीहरुले दिनदिनै बिगि्रने कस्तो सर्भर हो भन्दै यादवलाई प्रश्न राखे । यादवले प्रष्टीकरण दिँदै भने, ‘कार्यालयको गल्ती त स्वीकार्छु म । तर, यो हाम्रो काबु बाहिरको परिस्थिति हो, हामी सूचना प्रविधिको दास भएका छौं । म तपाईंहरुसँग माफी माग्छु ।’ ‘यहाँको अफिस टाइम कति बजेदेखि कति बजेसम्म हो ?’ सबैभन्दा टाठी महिलाले कडा स्वरमा सोधिन् ।

 ‘बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म,’ यादवले जवाफ दिए । ‘त्यसो भए बिहान सातै बजे सूचना निकालेर अनलाइन आवेदन बन्द किन गरियो ? बेलुका ६ बजेभित्रमा त सर्भर बन्थ्यो होला नि ?’ महिला च्याँठि्ठइन् । यादवले स्पष्ट पारे, ‘२ बजेसम्म मात्र हामी राजस्व लिन्छौं किनकि ३ बजे बैंक बन्द हुन्छ । दिनको २५ लाख राजस्व कलेक्सन हुन्छ । बैंकले पैसा नलगेपछि त्यो पैसा कहाँ लैजाने ?’ ‘त्यसो भए २ बजेसम्म त खोल्नुपर्‍यो नि ? किन बिहानै सुचना निकालियो ?’ महिलाले सोधिन् । ‘बिहानै सूचना नगरेको भए मास झन् इमोसनल बन्थ्यो । १०० जनाको आवेदन लिएर अरुलाई लखेट्नुपथ्र्यो ।

उनीहरुले झन् बबाल गर्थे कि गर्दैनथे ?’ यादवले भने । ‘तपाईंहरुको अफिसको फोन किन कहिल्यै लाग्दैन ?’ अर्की एक महिलाले गुनासो गरिन् । ‘सिधै मलाई गर्नुस, लाग्छ’ यादवले भने र आफ्नो नम्बर महिलाहरुलाई टिपाए । त्यसपछि अघिसम्म चुप बसेकी अर्की महिला बोलिन् । उनले आफूले लाइसेन्सका लागि लिखित परीक्षा दिएको ९० दिन पुग्न लाग्दा पनि ट्रायल दिन नपाएको गुनासो पोखिन् । यादवले सर्भर बनेपछि ९० दिन पुग्न लागेकालाई पहिलो प्राथमिकता दिइने उल्लेख गरे ।

उनले भने, ‘तपाईंहरुलाई टोकन सोकन केही चाहिँदैन, सिधै नाम लिएर ट्रायल गराउनेछौं ।’ टाठी महिलाले अर्को प्रश्न गरिन्, ‘मेरो एउटा साथी लिखितमा पनि आएको छैन, ट्रायल पनि शो गरेको छैन, तर २५ हजार दिएर लाइसेन्स निकालेको छ । उसको लाइसेन्स कसरी निस्कियो ?’ यादवले भने, ‘मलाई त्यो लाइसेन्स नम्बर दिनुस, नाम भन्नुपर्दैन । होइन भने तपाईंहरुमध्ये को इच्छुक हुनुहुन्छ ? एकजना भित्र बस्नुस । (खल्तीमा हात हाल्दै) २५ हजार पैसा म दिन्छु । अहिल्यै दिन्छु । यसलाई अनुसन्धान गरौं । एक जना पुलिस इन्सपेक्टर राख्छु । एक जना पत्रकार राख्छु । तपाईंको नाम पनि नदिनुस् ।

 आफ्नै लाइसेन्स पनि ननिकाल्नुस । -पैसाको बिटो गोजीबाट निकालेर देखाउँदै) २५ हजार अहिले दिन्छु, लाइसेन्स निकालौं र त्यसलाई अनुसन्धान गरेर जेल हालौं । त्यो पक्षमा छु है म । तपाईंको पैसा लाग्दैन ।’ यादवले फेरि भने, ‘रिन्यू गर्नेमा टोकन सिस्टम लगाइदिएको छु । तपाईं आउनेवित्तिकै ढड्डा पि्रन्ट र टोकन दिइन्छ । भित्र बस्ने व्यवस्था मिलाएको छु । तैपनि बाहिर छातावाल दलाललाई तपाईंहरुले पैसा दिनुहुन्छ भने मेरो दोष कहाँ छ ? मैले पुलिसलाई चिठी लेखेको छु ।

तैपनि भाग्दैनन् । त्यो काम मेरो होइन । त्यो पुलिसको प्रशासनको काम हो ।’ फेरि महिला कड्किइन्- ‘एकछिनका लागि त्यो लाइसेन्समा तपाईंले हस्ताक्षर गर्नुभएको छैन मानौं । २५ हजार पनि लिनुभएको छैन । ठीक छ । हामी लाइसेन्सवाला मान्छेलाई पक्राउछौं । तपाईंले यहाँ दर्ता छ कि छैन चेक गरेर त्यसको लाइसेन्स रद्द गर्नुहुन्छ कि गर्नुहुन्न ?’ ‘अहिले दिनुस, म तुरुन्तै कारवाही गर्छु । नाम नभन्नुस् लाइसेन्स नम्बर मात्रै दिनुस् । बाँकी काम गर्न पुलिस छ, हामी छौं ।’ यादव बोले । उनले थपे, ‘मेरो टेबुलमा १२ वटा लाइसेन्स छ बदर गरेको । अहिलेसम्म २१ जना दलाल पक्रेर मुद्दा चलाएको छु । ७० जना डुब्लिकेट परीक्षार्थीमाथि मुद्दा चलाएको छु ।

यदि खराब नियत हो भने म यो सबै किन गर्थेँ ?’ ‘यो देशमा डुब्लीकेट जे पनि हुन्छ,’ यादव भन्दै गए, ‘हिजोअस्ति बबरमहलका अगाडि डुब्लीकेट लाइसेन्स बितरण गर्ने समातिए । जति ओरिजिनल लाइसेन्स छ, सबै जारी गर्ने सिंगल अधिकार मेरो हो । पुलिसले ट्रायल लिन्छ । र, मलाई इच्छा लागेन भने लाइसेन्स दिन्न । मेरो अधिकारको कुरा हो । सबै निर्णय म गर्छु । चेकलिष्ट हेर्छु । पास भएको मान्छेको फोटोमुनि सही गर्छु । कसैले पैसा खाएर काम गरेको छ भने पक्रौं न । मलाई सहयोग गर्नुस । पैसा कसैको खर्च हुँदैन । म दिन्छु ।

 ( यादवले गोजीमा फेरि हात हाले) ‘हामीले के दिनुपरो सरलाई ? त्यही लाइसेन्स नम्बर होइन ? बकाइदा दिन्छौं ।’ महिलाले आश्वस्त पारे, ‘त्यसको लाइसेन्स तुरुन्तै बदर गर्नुपरो ।’ यादवले भने, ‘रद्द गर्नुभन्दा पहिले लाइसेन्स होल्डरलाई थाहा नदिई चेकलिष्ट हेर्ने, ट्रायलवालालाई सोध्ने, क्यामरा हेर्ने, प्रमाण जुटाउने र त्यसलाई निलम्बन गर्ने । अनि त्यो मान्छेलाई पक्राउ गर्ने । कसलाई पैसा दियो, पछि त बक्छ नि । त्यसको नम्बर मात्रै दिनुस्, बाँकी केही पर्दैन ।’ अन्ततः महिलाहरुको स्वर अलि मत्थर हुँदै गयो । सर्वर डाउन भएको सूचना जारी भएपछि मंगलबार यातायात कार्यालय बाहिर सेवाग्राहीहरुले नाराबाजी गरिरहेका थिए । त्यहीबेला केही महिलाहरुले कार्यालयका हाकिमलाई घेरेका थिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger