Latest Updates :

डा. क्रिस त्रिपाठी उर्फ गोविन्दप्रसाद तिवारीको ठगि धन्दाको पर्दाफास हुदै – उनको ठगीको माध्यम फेसबुक

SHARE THIS POST :
काठमाडौं, असार १४ | देश नै भद्रगोल भएको अवस्थामा धेरै मानिसहरु ठगि धन्दामा संलग्न भैरहेको खबर बारम्बार आइरहेकै छ | यस्तैमा जापानमा आकर्षक रोजगारमा लगाइदिने भन्दै एक गिरोहले २३ जनासँग करिब दुई करोड रुपैयाँ ठगी गरेको छ। जापानमा मासिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने प्रलोभनमा गिरोहले एकजनासँग ४० लाख रुपैयाँसम्म असुलेको भेटिएको हो। ठगिनेमा अधिकांश महिला छन्। गिरोहले सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेर ठगेको हो।

पीडितका अनुसार कास्की पुरनचौर–३ (पुरानो ठेगाना) का डा. क्रिस त्रिपाठी भनेर आफूलाई चिनाउने तर वास्तविक नाम गोविन्दप्रसाद तिवारी भएका व्यक्तिले ठगी गर्दै आएको खुलेको हो। जापानमा बसेर उनले ठगी गरेको आरोप पीडितको छ। पीडितसँग पैसा उठाउन काठमाडौं र पोखरामा तिवारीले आफ्नै नातेदार प्रयोग गरेको भनाइ पीडितको छ। उनीहरूका अनुसार ठगी गरेको कुरा बाहिर ल्याए मार्ने धम्की तिवारीले दिएका छन्।

‘म र मेरी दिदीका दुई छोरालाई जापानमा मासिक पाँच लाख रुपैयाँ तलब आउने जागिरमा लगाइदिन्छु भनेर मसँग ३१ लाख रुपैयाँ लिएको छ। पछि पसल खोलिदिन्छु भनेर आठ लाखबराबरको १४ बोरा गार्मेन्ट सामग्री पठाएँ। न हामीलाई जापान लगेर जागिर दियो न पसल खोलिदियो,’ गोरखा सौरपानी–४ की अमृता ढकालले भनिन्, ‘तिवारीले मजस्ता थुप्रैलाई ठगेको रहेछ, अहिले बल्ल थाहा भयो।’

ठमेल सातघुम्तीमा सामान्य गार्मेन्ट व्यवसाय चलाउँदै आएकी ढकाललाई फेसबुकमार्फत तिवारीले पहिलोपटक सम्पर्क गरेका थिए। त्यसपछि तिवारी उनको पसलमै आएका थिए। तिवारीले आफूलाई टोकियोस्थित लुइस अस्पतालको वरिष्ठ डाक्टरका रूपमा चिनाउँदै आएका छन्। पीडितलाई तिवारीले आफू १३ वर्षदेखि उक्त अस्पतालमा काम गर्दै आएको बताउने गरेका छन्। उनले आफू जापानस्थित एनजिएन इन्टरप्राइजेजको सिइओ भएको पनि बताउने गरेका छन्

‘गोविन्द तिवारीले जापानमा जागिर लगाइदिन्छु भनेर हालसम्म मसँग पनि २३ लाख ७८ हजार रुपैयाँ लिइसकेको छ। अहिले न मेरो फोन उठाउँछ न उसले नै फोन गर्छ। बैंकसँग ऋण लिएर पैसा बुझाएकी थिएँ,’ झापा दमकमा सामान्य व्यापार गर्दै आएकी पाँचथर रविकी सुमिता राईले भनिन्।

ढकाल र राईले पटकपटक गरी तिवारीलाई उक्त रकम बुझाएका हुन्। राईले १३ पटकमा २३ लाख ७८ हजार रुपैयाँ बुझाएकी हुन् भने ढकालले १० पटकमा ३१ लाख रुपैयाँ र १४ बोरा गार्मेन्ट सामग्री। उनीहरुले यो रकम २०७२ र २०७३ साल गरी दुई वर्षको अवधिमा बुझाएका हुन्।

आफूहरू ठगिएको थाहा भएपछि अहिले उनीहरूले आफूहरूजस्तै ठगिएकालाई एकत्रित गरी तिवारीसँग रकम फिर्ता गर्ने प्रयासमा छन्। तर उनीहरूले न त प्रहरीको साथ पाए न वैदेशिक रोजगार विभागको नै।

२३ जनाबाट तिवारीले एक करोड ९३ लाख ८७ हजार दुई सय ३७ रुपैयाँ ठगी गरेका छन्। ‘ठगिएका तर हाम्रो सम्पर्कमा नआएका कयौं हुन सक्छन्। हामी त ठगियौं, अरू अब नठगियून्,’ ढकालले भनिन्। पीडितका अनुसार तिवारीसँग ०६२४३४२२ र ०९८६८६९७ नम्बरको पासपोर्ट छ। उनी धेरैजसो भारत हुँदै जापान र नेपाल आउजाउ गर्छन्। प्रहरीसँग तिवारीको राम्रो उठबस रहेको दाबी पीडितहरूले गरेका छन्।

तिवारीले कल्पना थापासँग २० लाख, विनिता आचार्यसँग चार लाख ६० हजार, अनिता रानासँग चार लाख ८७ हजार पाँच सय र सञ्जय सापकोटासँग २५ लाख रुपैयाँ ठगी गरेका छन्। यस्तै उनले मीरा ढुंगेलसँग चार लाख ८७ हजार पाँच सय, कल्पना ढुंगेलसँग पाँच लाख ११ हजार र बुद्ध तामाङसँग पाँच लाख ५० हजार रुपैयाँ असुलेका छन्। जापान पठाइदिने प्रलोभनमा तिवारीले रेखा घिमिरेसँग चार लाख २३ हजार चार सय ३२, शर्मिला तिमल्सेनासँग दुई लाख, कमला कोइरालासँग चार लाख ६० हजार र देवी ढकालसँग १० लाख रुपैयाँ असुलेका छन्। उनले रबिन दाहालसँग पाँच लाख, किरण नापितसँग ६ लाख, किशोर शर्मासँग १३ लाख, कल्पना पाठकसँग पाँच लाख ६० हजार र रेजिना क्षेत्रीसँग चार लाख ८० हजार रुपैयाँ बुझेका छन्।

। तिवारी अधिकांश समय जापानमा बस्ने गरेको पीडितहरूको भनाइ छ। पीडितका अनुसार पछिल्लो दुई वर्ष अवधिमा तिवारीले १९ वटा मोबाइल नम्बर परिवर्तन गरेका छन्। उनले पीडितलाई उपलब्ध गराएको मोबाइल नम्बर जापान, दक्षिण कोरिया, भारत, जोर्डन र नेपालका छन्। उनले प्रयोग गर्ने भनिएका नम्बरमा नागरिकले सम्पर्क गर्दा कुनै नम्बर प्रयोगमा नरहेको, कुनै नम्बरमा सम्पर्क नहुने र कुनै सम्पर्क भए पनि नउठ्ने पाइयो।

तिवारीले पीडितसँग रकम सीधै आफैंले बुझेका होइन्। उनले सम्पूर्ण तारतम्य मिलाएपछि काठमाडौं र पोखरामा रहेका आफ्नै परिवारका सदस्य र आफन्तलाई रकम बुझ्न लगाएका छन्। पीडितमध्ये धेरैले प्रशान्त भट्टराई (बर्दिया) नाम गरेका व्यक्तिलाई तिवारीको निर्देशनमा पैसा बुझाएका छन्। भट्टराई तिवारीका भानिज हुन्। नेपालमा रहेर पीडितसँग पैसा बुझी तिवारीलाई सघाउनेमा तिलकराज सुवेदी (पोखरा), अमर घर्तीमगर, तिलक मल्ल (काठमाडौं), सुदर्शन मल्ल (काठमाडौं), कविता ढकाल (चितवन), सुशील पन्त (गोरखा), गीता शर्मा (बाग्लुङ), रेखा घिमिरे (तनहुँ), नरमाया पौडेल, रवीन्द्र पौडेल, खेमराज तिवारी र भेषविक्रम थापा छन्। तिलक र सुदर्शनले मात्र पीडितसँग ३० लाख रुपैयाँ तिवारीको नाममा बुझेका थिए। पीडितले तिवारीले भनेको व्यक्तिलाई प्रत्यक्ष भेटेर नभई मनी ट्रान्सफरमार्फत पैसा बुझाएको देखिन्छ।

तिवारीले पैसा प्राप्त नहुन्जेलसम्म पटकपटक फोन गर्ने, भेट्न आउने र पैसा प्राप्त गरेपछि फोन सम्पर्क बन्द गर्ने गरेको पीडितहरू बताउँछन्। तिवारीले चार महिना अवधिमा ढकाललाई १७ पटक भेटेका थिए। ‘पटकपटक भेटेर कुरा गरेकाले विश्वास लाग्यो। अहिले सबै छर्लंग भयो,’ ढकालले भनिन्।

तिवारीले २०७० सालदेखि नै जापानमा रोजगार लगाइदिने भन्दै ठगेको भेटिएको छ। उनले २०७० सालमा कल्पना थापालाई २० लाख रुपैयाँ ठगेका थिए। जापान जान नपाएपछि उनले त्यतिबेलै प्रहरीमा उजुरी गरेकी थिइन्। त्यसपछि तिवारी पक्राउ त परे तर केही दिनमै छुटेर जापान जान भ्याए। त्यसपछि तिवारी कहिल्यै पक्राउ परेका छैनन्।

‘हामी वैदेशिक रोजगार विभाग गयौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र इन्टरपोल शाखामा गयौं तर कतैबाट न्याय पाउन सकेनौं। हामी कुन दिन सिआइबीमा गयौं, कतिखेर निस्कियौं जापान बसेको गोविन्दले हामीलाई बताउँथ्यो। त्यसपछि हामी सिआइबीमा पनि जान छोड्यौं,’ ढकाल र राईको एउटै अनुभव छ। पीडितले ठगी गर्ने तिवारीको बारेमा टोकियोस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ–जापानलाई पनि जानकारी गराइसकेका छन्। तर त्यहाबाट कुनै कारबाही अगाडी नबढेकोमा पिडितहरु निक्कै चिन्तित छन |  – नागरिक्न्युजबाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger