उनले फिल्म निर्माणका क्रममा हिरो प्रभासलाई आफूहरूले निकै कडा डाइट फ्लोमा राखेको बताए । उनले भने, ‘प्रभास खानपिनसम्बन्धी यति कडा नियममा बस्नुपरेको थियो कि, उनले मौका मिल्नेबित्तिकै पन्ध्रथरीका बिर्यानी खाइहाल्थे । त्यसैले उनीमाथि निगरानी गरिरहनुपर्दथ्यो ।’ प्रभासलाई आफूले महिनामा एक दिन उनको चाहेको खाने कुरा खान छुट दिएकोसमेत राजामौलीले बताएका छन् । प्रभासले बाहुबली २ का लागि ३० किलो तौल बढाएका थिए ।
‘उनले आफ्नो खुसीले खान पाएको दिन पन्ध्रथरीका बिर्यानी खान्थे । तीमध्ये कतिको नाम त हामीले पहिलोचोटि सुनेका हुन्थ्यौँ,’ राजामौलीले बताए ।
बाहुबली २ निर्माणमा करिब चार सय करोड रुपैयाँ लागेको निर्देशक राजामौलीले खुलाएका छन् । चार सय करोडमध्ये क्लाइमेक्स फाइटमा मात्रै ५० करोड रुपैयाँ लागेको थियो । क्लाइमेक्स करिब २० मिनेट लामो छ । पहिलो बाहुबलीको क्लाइमेक्स खिच्न भने दोस्रोको आधा अर्थात् २५ करोड लागेको उनले बताए । बाहुबली २ को चारवटा क्लाइमेक्स खिचिएकोमा त्यसमध्ये छानेर एउटा राखिएको हो । यसबारे निर्देशक राजामौलीले पहिले कहीँ बताएका थिएनन् ।
सोनी टिभीले बाहुबली २ को हिन्दी भर्सनको स्याटेलाइट अधिकार ५१ करोड भारुमा किनेको थियो । यो डब फिल्मको सर्वाधिक महँगो रकम हो । यसअघि कुनै फिल्मले पनि यति ठूलो रकम पाएका थिएनन् ।
प्रभासले पहिलो बाहुबलीमा अनुबन्धित भएपछि चार वर्ष अरू कुनै फिल्म साइन गरेनन् । उनलाई निर्देशक राजामौलीले अरू फिल्म खेल्न नपाउने सर्त राखेका थिए । प्रभासले स्विकारेर बाहुबलीमै लागिरहे । तर, प्रभासका आफन्त तथा अन्य फिल्मकर्मी भने उनको यो निर्णयप्रति खुसी थिएनन् । अन्ततः प्रभासकै निर्णय सही साबित हुन गयो ।नयाँ पत्रिकाबाट
Post a Comment