Latest Updates :

वृद्धवृद्धालाई हत्या गरेर घर कब्जामा लिई खसी काटेर रातभर भोजभतेर र नाचगान

SHARE THIS POST :

धनगढी बजारमै एक वृद्ध दम्पतीको नाटकीय शैलीमा बीभत्स ढंगले हत्या गरिएको छ। वृद्धवृद्धालाई हत्या गरेर घर कब्जामा लिई खसी काटेर एक समूहले रातभर भोजभतेर र नाचगान गरेको पाइएको छ।

सदरमुकाम धनगढी बजारमै नाटकीय शैलीमा हत्या भएपछि आफन्त र स्थानीयले असुरक्षा महसुस भएको भन्दै सोमबार प्रहरी कार्यालय र प्रशासन कार्यालयअघि प्रदर्शन गरे।

धनगढी उपमहानगरपालिका–७, छात्रावास टोलमा बस्ने पूर्वशिक्षक ७२ वर्षीय बद्रीप्रसाद जोशी र ६५ वर्षीया कुन्तादेवी जोशीको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।

सोमबार बिहान ताला लगाएको कोठाभित्र हत्या गरिएका अवस्थामा वृद्ध दम्पतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले बताए। सात जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए।

‘घरभित्र हत्या गरेर रातभरि भोजभतेर र नाचगान गरेका छन्’, हत्याको विरोधमा प्रदर्शनमा सहभागी छिमेकी राजुदेवी खड्काले भनिन्। ‘हत्यारालाई खोजेर कारबाही गरिनुपर्छ’, अर्का छिमेकी युवराज अधिकारीले भने।

मृतकका छोरी कमला जोशीले भनिन्।

छोराबुहारी स्पेनमा रहेका र छोरीहरुको पनि बिहे भइसकेकाले वृद्ध दम्पतीमात्रै तीनतले घरको दोस्रो तलामा बस्ने गर्थे। तेस्रो तलामा पूजाकोठा र भान्सा कोठा छ। दोस्रो तलामा तीन कोठा छन। पहिलो तलामा रहेका कोठामा तीनजना भाडामा बस्ने गर्थे।

आइतबार साँझदेखि नै यो घरमा केही मान्छेको चहलपहल सुरु भएको छिमेकी बताउँछन्। ‘साँझमा घरमा मान्छेहरु देखिएका थिए’, छिमेकी आशा सिंहले भनिन्, ‘कोही आफन्त होलान् भन्ने लाग्यो।’

खसी काटेर राति २–३ बजेसम्म भोजभतेर र नाचगान भइरहेको सोही घरमा कोठा भाडामा लिएर भुइँतलामा बस्दै आएका भागीराम चौधरी र वसन्त थापाले बताए।

सोमबार बिहान बिहेको निम्तो दिन पुगेकी छिमेकी हर्कादेवी सिंहले जोशी दम्पतीलाई नदेखेपछि उनीहरुकी छोरीलाई फोन गरिन्। केही बेरमै जेठी छोरी ४२ वर्षीया शारदा जोशी आइन्।

‘कोठाभरि मासु, भात थियो। आमाबुबा कहाँ छन् भनेर सोध्दा त्यहाँ भेटिएकी महिलाले घर मैले किनेकी हुँ, उनीहरु गइहाले भनेर जबाफ दिइन्’, शारदाले भनिन्, ‘प्रहरी बोलाएर ताला खोलेर कोठाभित्र हेर्दा हत्या गरेर भुइँमा सँगै सुताएको अवस्थामा शव फेला पर्‍यो।’

घरमा बझाङ थलारा गाउँपालिका ३ की २० वर्षीया पूजा बटाला, उनका सासू र ससुरा थिए। उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै कञ्चनपुर पुनर्वास नगरपालिका ११ निवासी समीक्षा साउद, जमुना साउद, रन्तलादेवी साउद र सिमरन धामीलाई पनि पक्राउ गरेको प्रहरी उपरीक्षक चन्दले बताए। पूजा चार दिनदेखि सो टोलमा देखिन थालेको स्थानीयले बताए।

पूजाले आफ्नी आमाले घर किनेर बस्न दिएको बयान प्रहरीलाई दिएकी छन। हत्याबारे कुनै जानकारी नभएको उनले बयान दिएको प्रहरी उपरीक्षक चन्दले बताए। आमा लक्ष्मी ओली र मामा नरेश भण्डारीले मालपोतमा समेत लगेर घर आफ्ना नाममा पास भइसकेको भनेकाले सासू र ससुरासमेत घरमा बस्न आएको उनले बयान दिएकी छन्। घर किनेको खुसीमा आफन्त बोलाएर खसी काटेर भोजभतेर गरेको उनको भनाइ छ। आमा लक्ष्मी भारतको बेंगलोरमा बस्ने गर्छिन। उनी केही दिनअघि नेपाल आएकी हुन्।

आइतबार पूजालाई घरमा बसालेर एकछिनमा आउने भनेर उनी र नरेश मोटरसाइकलमा फूलबारी गए। राति खाना खान आउनू भन्दा एकछिनमा आउने भनेर उनले अल्मल्याइरहिन्। ‘राति २–३ बजेसम्म पनि फोनमा कुरा भएको देखिन्छ’, प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘बिहान पनि कुरा भएको छ, प्रहरी घरमा आएको खबर पाएपछि लक्ष्मीको मोबाइल स्विचअफ छ।’

दम्पती हत्यामा लक्ष्मी र नरेशकै संलग्नता भएको आशंका प्रहरीको छ। सुदूरपश्चिम प्रहरी प्रमुख रोमेन्द्र देउजाले घटनाको अनुसन्धान भइरहेको र सत्यतथ्य छिट्टै बाहिर आउने बताएका छन्। ओली मृतक जोशीकी मितिनी रहेको खुलेको उनले बताए।

मिजासिलो स्वभावका जोशीको कसैसँग रिसइबी नभएको उनकी अर्की छोरी कमला जोशीले बताइन्।

घटनापछि सर्वसाधारणले असुरक्षा बढेको भनी चिन्ता व्यक्त गरेका छन्। ‘हामी नागरिक घरभित्र पनि सुरक्षित छौं भन्ने अवस्था रहेन’, स्थानीय शिवप्रसाद जोशीले भने, ‘यस्ता घटना दोहोरिन नदिन हत्यारालाई खोजी गरेर कडा कारबाही गरिनुपर्छ।’

मानवअधिकार कर्मी तथा इन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशीले यो घटनाले नागरिकलाई असुरक्षित महसुस गराएको उल्लेख गर्दै प्रहरी प्रशासनले सुरक्षा संदेदनशिलतामा ध्यान दिनुपर्ने बताए।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger