Latest Updates :

मेरो गल्ती भयो दोस्रो बिहे गर्नु: भुवन केसी

SHARE THIS POST :

काठमाडौँ- कुनै जमाना थियो, नेपाली चलचित्रमा भुवन केसीको राज चल्थ्यो । उनको स्टारडम बिक्थ्यो । आज भुवन हिजोको ब्याजमै चलिरहेका छन् । चलचित्रको नयाँ ट्रेन्डमा उनको अभिनय शून्यप्रायः छ । बरु उनी फिल्म बनाउने, निर्देशन गर्ने र छोरा अनमोलको स्टारडम चम्काउन सक्रिय देखिन्छन् ।

जे होस्, चर्चामै छन् भुवन, हिजोको भूमिकाका कारण । उनका कतिपय कदम निकै विवादास्पद रहे, विशेषगरी श्रीमती र गर्लफ्रेन्ड फेरबदलका कदम । यो कुराको महसुस भुवन स्वयंलाई पनि रहेछ । नयाँ पत्रिकाका कृष्ण आचार्यसँग उनले जीवनका केही गल्ती सुनाएका छन् स्

चुरोट सेवन गर्ने बानी
चुरोट खाने खराब बानी छ । धेरै आफन्त, शुभचिन्तक र फ्यानले चुरोट सेवन नगर्न आग्रह गर्दा पनि छाड्न सकिरहेको छैन । १० कक्षा पढ्दादेखि नै साथीहरूको संगतमा लागेर चुरोट सेवन गर्न सिकेँ । चुरोट सेवन गर्नुको कारण थियो, स्टाइल पार्नु र चुरोट खाएपछि हिरो बनिन्छ भनेर भ्रमित हुनु । चुरोट सेवन गरेर ठूलो गल्ती गरेको छु भन्ने महसुस भइरहेको छ, तर छाड्न सकेको छैन । सायद, अब कहिल्यै छाड्न सक्दिनँ ।

गल्तीले चलचित्र फ्लप भए
साथीभाइको मन राख्न खोज्दा पनि मैले गल्ती गरेको छु । मैले खेलेका धेरै चलचित्र हिट छन् । म कथावस्तुबारे राम्रोसँग जानकारी लिएर मात्र चलचित्र छान्ने गर्छु । तर, कहिलेकाहीँ हार्नै नसकिने साथीहरूको आग्रहमा खेलेका चलचित्र फ्लप भएका छन् । यसरी साथीभाइको मन राख्न आफ्नो मन कुँडाएर फिल्म खेलेकोमा अहिले मलाई दुःख लाग्छ । कथावस्तु मन नपरी खेलेका चलचित्र फ्लप भए । अहिले ती चलचित्र खेलेर गल्ती गरेँ भन्ने महसुुस हुन्छ ।

बुवालाई निकै सताएँ
म सानो छँदा मेरो बुबा आर्मीमा जागिरे हुनुहुन्थ्यो । बुवा भनेपछि मलाई निकै डर लाग्ने । तर, मेरो स्वभाव चञ्चले थियो । आर्मीका क्याप्टेन र बुबाका अन्य साथीलाई भनेर १३ वर्षको उमेरमा नै मैले ‘हर्स राइडिङ’ सिके । कहिलेकाहीँ त आर्मीको घोडा लिएर कम्पाउन्डभन्दा बाहिर ९जान नमिल्ने स्थानमा० समेत पुग्थेँ । १४ वर्षकै उमेरमा मोटरसाइकलसमेत हुँइकाएँ । बुवा ट्रेनिङका लागि कतै बाहिर जाँदा मोटरसाइकलमा ५–६ वटा वायरलक लगाएर जानुहुन्थ्यो । तर, मलाई त्यसले कहिल्यै छेकेन । जसरी भए पनि लक खोलेर बाइक चलाउथेँ । यस्तो बदमासी गरेको सजायँस्वरूप बुवाको हातबाट आर्मीको लठ्ठीले समेत कुटाइ खाएको छु । बुवाले सानोमा मलाई गल्ती गर्दा आर्मीको लठ्ठीले पिट्नुहुन्थ्यो । तर, जति पिटे पनि मैले आफूलाई मन लागेको कुरा गर्न कहिल्यै छाडिनँ ।

दोस्रो बिहे गर्नु भूल भयो
जीवनमा मैले गरेको सबैभन्दा ठूलो गल्ती भनेको दोस्रो बिहे हो । यसले मेरो करिअरमै ठूलो धक्का लाग्यो । दोस्रो बिहे नगरेको भए मलाई औँला देखाउने मानिस सायदै हुन्थे होला । अभिनयबाट बटुलेको सफलता र चर्चालाई दोस्रो बिहेले नकारात्मक पाटोमा लगेर ठेलिदियो । तर, यो नचाहँदानचाहँदै भएको एउटा संयोग मात्र थियो । कोही मानिसले एकजनासँग मात्रै जीवन बिताउनुपर्छ भन्ने कुरामा म सहमत छैन । एकजनासँग मात्र जीवन बिते त सुनमा सुगन्ध हो । तर, त्यसो नभएको खण्डमा डिभोर्स गरेर अर्कैसँग बिहे गर्ने अधिकार हरेक मानिसलाई छ । तर, पपुलर भएकालाई चाहिँ यो कुराले निकै अप्ठ्यारो पार्दो रहेछ । ठूलै अपराध गरेजस्तो बनाइँदो रहेछ । जीवनमा सँगै बस्न नसक्ने अवस्था आएर अर्को बिहे हुने हो । मेरो सफलतामा जलेकालाई दोस्रो बिहेले औँला उठाउने मौका दिएको कुरा म स्विकार्छु ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

.

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger