Latest Updates :

युवाले गाउँ छाडे, दाहसंस्कार महिलाले गर्छन्

SHARE THIS POST :

सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन् । गाउँका दिदी-बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए ।

उनीहरूले शव बोकेको देख्दा र मलामी जाँदा गाउँमा धर्म हराएको मान्नेहरू पनि भेटिए । तर, कतिले उनीहरूको हिम्मतलाई सम्मान पनि गरे । तर, सत्यवती गाउँपालिका मात्रै होइन, वरपरका अन्य गाउँमा समेत महिला शव बोकेर घाट जान्छन् ।

अरू जोखिमपूर्ण कामहरू पनि गर्छन् । कोही बिरामी परेमा महिला नै अघि सर्नुपर्छ । ‘यो संस्कार महिलाले रहरले अपनाएका भने होइनन्, बाध्यता पनि हो । गाउँका सबैजसो युवा विदेशिएका छन्, सजिलो अप्ठ्यारो सबै काम महिलाकै जिम्मा आएको छ’सत्यवतीका कृषि राना भन्छन् ।

केही वर्ष अघिसम्म गाउँ टोल छर–छिमेकमा विवाह, व्रतबन्ध वा कुनै संस्कारमा युवाको उल्लेख्य सहभागिता हुन्थ्यो । नाचगानको बेग्लै रमाइलो पनि हुन्थ्यो । मालिका गाउँपालिका मोतीलाल घिमिरे भन्छन, ‘एक छोरा र एक बुहारी कामको सिलसिलामा बाहिर छन्, बिरामी पर्दा पानी तताएर दिने घरमा छैनन्, ठूलो समस्या परे सहयोग गर्ने गाउँमा छैनन् ।’

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै रोजगारी र अवसर खोज्दै सर्वसाधारण गाउँबाट सुगम, सुगमबाट सहर जाने क्रम बढेकाले गाउँ सुनसान हुन थालेको बताए ।

‘वैदेशिक रोजगारीले मान्छेको स्तर बढ्दै गएको छ, त्यसको पनि प्रभाव हो’,उनी भन्छन् । अनुसन्धान गरेर त्यहीअनुसारको विकासको अवधारणा गराउन नसके आगामी ५ वर्षमा धेरै गाउँ रित्तिने सम्भावना बढेको उनले बताए । जनगणना २०५८ कै तुलनामा लैंगिक असन्तुलनको अनुपात ६ प्रतिशतले बढेको छ ।

‘गाउँमा प्राकृतिक र दैवी विपत्ति आइलाग्दा धेरै गाह्रो हुन्छ, संचारकर्मी लोकप्रसाद छन्त्याल भन्छन्,‘मलामी जान मात्र होइन, कसैको बिहे उम्काउनुपरे पनि महिला नै अघि सर्छन् । ’जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार प्रत्येक वर्ष आठदेखि १० हजारले राहदानी बनाउने गर्दछन् । अवसरको खोजिमा युवा धमाधम गाउँ छाड्दै छन् । त्यसैले गाउँबस्ती रित्तिदै छन् ।

२०६८ को जनगणना अनुसार जिल्लाका १० गाविसमा ५ सयभन्दा कम घरपरिवार छन् । जिल्लाकै सबैभन्दा दुर्गम मानिएको जयखानी गाविसमा अहिले जम्मा २ सय ७० घरपरिवार मात्र छन् । त्यस्तै अर्को पश्चिम क्षेत्रको दुर्गम अर्खाबाङमा तीन सय १० घरपरिवार मात्र बसोबास गर्दै आएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger