नेकपा एमालेलगायत विपक्षमा बसेका दलहरुले सत्ताधारी दलको आडमा मधेस केन्द्रित दलका कार्यकर्ताद्वारा तराईमा महिलामाथि हातपात र आक्रमण हुन थालेको भन्दै शान्ति सुरक्षा र मानवअधिकारको रक्षा गर्न सरकारसँग माग गरेका छन्।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोलेका नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाली जनता दल लगायतका सांसदले मधेस क्षेत्रका महिलामाथि आक्रमण गर्ने काम मधेस केन्द्रित दलका व्यक्तिबाट भएको आरोप लगाउदै शान्ति सुरक्षा र मानवअधिकारको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेकपा एमालेका सांसद सत्यनारायण मण्डलले आफ्नो परिवारमाथि आक्रमण भएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताद्वारा परिचालित गुण्डाले मुलुकमा जथाभावी गरेको आरोप लगाए। उनले शान्ति सुरक्षाको प्रत्याभुति दिन सरकार असफल भएको भन्दै मानवअधिकार मुलुकमा छ कि छैन भनि प्रश्न गरे।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मर्यादा क्रमको विवादकै कारण लामो समयसम्म मन्त्रिपरिषद्को बैठक नबसेर मुलुकलाई अनिर्णयको बन्दी बनाइएको भन्दै मन्त्रिपरिषद्को बैठक बस्ने मिति सदनलाई जानकारी गराउन माग गरे।
नेपाली जनता दलका सांसद हरिचरण शाहले सरकारले सदनमा दर्ता गराएको संविधान संसोधन विधेयक प्रस्ताव छलफल गरी छिटो टुंगोमा पुर्याउन माग गरे। उनले एनसेलको कर छलिको विषय चर्चामा रहेको भन्दै सत्ताधारी दलबाट मिलिजुली कर छली गर्ने नाटक भएको भन्दै आपत्ति जनाए।
नेकपा माओवादी केन्द्रका सांसद जनक राज जोशीले सूचनाको हकको आधारलाई समेत मध्यनजर गरी स्थानीय तह पुर्नसंरचना आयोग र गुनासो व्यवस्थापन समितिले दिएको दुवै प्रतिवेदन सदनमा प्रस्तुत गर्न सरकारसँग माग गरे।
बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले सदनमा उठेका विषयको सरकारले सुनुवाई नगरेको, वरियता विवादमा बस्न नसकेको मन्त्रिपरिषद्को बैठक, प्रहरी प्रशासनको प्रमुख नियुक्तिमा भएको ढिलाई लगायत विषयमा सरकारको आलोचना गरेका थिए।
Post a Comment