Latest Updates :

म किसानकी छोरी तर प्रधानमन्त्रीको कोठामा दुई रात सुत्न पुगेँ।

SHARE THIS POST :
गत वर्षका दुई रात श्रद्धेय कृष्णप्रसाद भट्टराईको कोठामा बिताएँ। भट्टराईले जीवनका लगभग १५ वर्ष जुन कोठामा बिताए, म त्यही कोठामा दुई रात सुत्न पुगेँ। त्यो सायद प्रारब्धको खेल थियो। म किसानकी छोरी, देशका प्रधानमन्त्रीसम्म भएका एक सन्त नेताको निवासमा जीवनको दुई मात्रै रात बिताउनुलाई पनि म जीवनको सुन्दर र दुर्लभ संयोग मानिरहेको छु।
भैँसेपाटीमा स्वर्गीय भटराई जुन घरमा बसे, त्यही घरमूलीकी छोरी मेरो मिल्ने साथी हुन्। भट्टराई जीवित हुन्थे भने पक्कै पनि मैले उनीसँग समेत भलाकुसारी गर्ने मौका पाउँथेँ। विडम्बना, जिउँदै छँदा मैले उनलाई सम्मुख देख्नसम्म पाइनँ। सादगी ती पुरुषसँग भेट गर्न नपाएकोमा म अहिले खिन्न हुन्छु।

स्व.भट्टराईको राजनीतिक र अध्यात्मिक जीवनको पाटो केलाउने योग्यता म राख्दिनँ। गान्धीदेखि नेहरूसम्म उनका भेटवार्ता र दिग्गज भनिएका भारतीय राजनेताहरूले उनलाई गर्ने सम्मान र अर्को कुरा, उनको निष्कपटता। आफ्नो जीवनको सानो तर दुनियाँलाई ज्यादै भयकंर लाग्ने सत्य उनी कति सजिलै बताइदिन्थे। जब म सानै थिएँ, त्यति बेला भट्टराईको बारेमा चलेको एउटा चर्चा खुबै सुन्थेँ। त्यसको अर्थ त धेरै पछिमात्र बुझे। भर्खर भर्खर बुझेँ। उनी भन्थे रे- म अविवाहित हुँ तर कुमार होइन।

तुच्छ सामाजिक संरचनाको जालोबीच पनि उनी आफ्नो जीवनको त्यो सामान्य सत्यलाई उजागर गरिदिन्थे। त्यसमाथि प्रधानमन्त्री भइसकेका व्यक्ति भएर पनि। बालसुलभ निष्कपटता भएका त्यस्ता महान् आत्मालाई समाजले खिल्ली उडाउला तर त्यस्ता सन्तज्ञानीहरूको खाँचो राजनीति मात्र होइन, समाजका हर क्षेत्रमा छ। यति सानो प्रसंगबाटै पनि उनको जीवन दर्शनबाट धेरै म प्रभावित छु।
सत्य स्वीकार गर्न नसक्ने समाजमा रहेर उनले आफूलाई मैले बिहे नगरे पनि बिहेको एउटा मज्जा लिएको छु है भन्न अप्ठ्यारो मानेनन्। हर रात करोडौँजन सहभागी हुने, सृष्टि सञ्चालनको अत्यन्त पवित्र प्रक्रिया र स्वाभाविक नारीपुरुष देहको कामेच्छालाई उनी कसरी नकार्थे? अझै पनि मनमा लागिरहन्छ। तर, उनले अरु कसैलाई पनि तिमीले पनि यसो गर्‍यौ भनेर औंला उठाएनन्। उनले कसैको निजी जीवनका बारेमा फैसला पनि गरेनन्।

आफैँलाई अविवाहित भए पनि कुमार नभएको बताउने उनले अरुलाई त्यो कुमार हो वा होइन भनेनन्। अनि उनले आफ्ना समकालीनमाथि पनि चोर औँला उठाएनन्। पक्कै पनि कृष्णप्रसादलाई सयौँ मानिसको जीवनको अन्तर्कथा थाहा थियो।

जीवनको कटुसत्यलाई ओकल्ने भट्टराई सरल थिए। हामीमध्ये कति जीवनको सत्यलाई ग्रहण गर्न सकौँला? शायद जीवनका केही सत्य हामी आफैँ ओकल्न चाहँदैनौँ। नमरुन्जेल आफैँभित्र लुकाएर राख्छौँ र मरेपछि आफैँसँग डढाएर जान्छौँ। जीवनको सार जानेरै होला, कृष्णप्रसाद भट्टराईले सत्य बोलेर गए। उनका कतिपय समकालीन भन्छन्- साह्रै कटु बोलेर गए।

यस आलेखमार्फत् मैले जीवनका सबै गोप्य कुरा खोल्नु पर्छ भन्न खाजेको पटक्कै होइन। अनि सन्त नेताले जस्तै जीवनका तमाम सत्यलाई ओकल्नै पर्छ भन्न खोजेको पनि होइन। अनि आजसम्म समाजले लुकाएको धेरै कुराको पर्दाफास गर्नुपर्‍यो भन्ने पनि होइन। बरु, कसैले कसैको जीवन भोगाइलाई पनि नकोट्याउने बानीको विकास गर्नु पर्‍यो भन्नेचाहिँ पक्कै हो।

हामी मान्छेहरूको स्वभाव कस्तो छ भने अरुको जीवनलाई पनि आफ्नो तरिकाले व्याख्या गरिदिन्छौँ। अरुको जीवनलाई बुट्टा भर्ने काम हामी गरिदिन्छौँ। रङ्ग र मसीहरू आफ्नै मर्जीले थपिदिन्छौँ। मानवीय स्वभावलाई लगेर हामी चरित्रसँग जोडिदिन्छौँ।
हामीले कहिले बुझ्छौँ होला, मानवीय स्वभाव र चरित्र फरक कुरा हुन् भनेर। हामी कहिले छोड्छौँ होला अरुको जीवनमा खिसिट्युरी गर्न!
मैले जोड्न चाहेँ, केही समयअघि आफैले भागेको एउटा घटना। नयाँ स्कुटरमा आएकी मेरी केटी साथीसँग छुट्टिएको दुई मिनेट मै मेरो साथमा रहेको केटा साथीले आँखा झिम्क्याउँदै भन्यो- यो केटीले चाँडै उन्नति गर्छे। केटीहरूलाई उन्नति गर्न सजिलो पनि छ।

एकछिन म चुपै लागेँ र सोधेँ- कसरी केटीलाई उन्नति गर्न सजिलो छ? म आफूले बुझेको र भोगेको संसारमा केटी मान्छेले उन्नति गर्न बढी मिहिनेत र कडा परिश्रम नै गर्नुपर्छ, कुनै ठाउँमा पुग्न वा आफू स्थापित हुन्। केटीलाई अप्ठ्यारो पो छ।
मेरो केटासाथीको संकेतले म बढी मर्माहत त त्यतिबेला भए, जति बेला उसले मुखै खोलेर केटीलाई ‘चरित्रहीन’ भन्नसमेत बाँकी राखेन। उसले नामै किटेर भन्यो, ‘यो केटीको र त्यो केटाको अफेयर्स छ।’

मेरो केटा साथीको तर्कबाट यत्ति बुझे कि- मैले कुनै पुरुषलाई मन पराएँ भने मेरो चरित्रको मापन त्यहीँबाट गरिन्छ।
मनमनै सोचेँ- कसले बुझ्छ होला कि कसैलाई मन पराउनु वा कसैको प्रेममा हुनु गलत चरित्रको कुरो हो-होइन। त्यो त उल्टो सद्चरित्र हो। प्रेम कसरी चरित्रहीन होला? प्रेम त मानवीय स्वभाव मात्र हो। संसारका अर्बौँ जीवित प्राणीहरु मायाका भोका छन्। मानवीय स्वभावलाई जबसम्म ‘चरित्र’ भनेर बुझिन्छ, तबसम्म मान्छेले मान्छेलाई बुझ्ने क्रममा त्रुटि भइरहन्छ। त्यही पनि आफ्नो चरित्रको व्याख्या होइन, अरूको चरित्रको।

खासमा मानवीय चरित्र र मानवीय आकर्षण विल्कुल फरक कुरा हुन्। जस्तो कि म केटी मान्छे हुँ। मलाई कुनै पुरुष मन पर्नु त्यो मेरो मानवीय स्वभाव हो। म कुनै पुरुषको प्रेममा परेँ भने त्यो मानवीय आकर्षण हो। सँगै शारीरिक आकर्षण हुनु अर्को प्राकृतिक कुरा हो। तर, हाम्रो सामाजिक व्यवस्थाले मानवीय आकर्षणलाई चरित्रसँग जोडेर हेरिदिन्छ।

मैले कुनै पुरुषलाई मन पराएँ भने मेरो चरित्रको मापन त्यहीँबाट गरिन्छ। तर, थोरै मात्रले बुझ्छन् कि त्यो मेरो चरित्र होइन बरु मानवीय स्वभाव र इच्छा हो। प्रकृतिले मलाई दिएको बरदान पनि हो। अरु कसैलाई नमारिकन, अरुलाई कुनै क्षति नपुर्‍याइकन मैले रोजेको व्यक्तिसँगको निकटता मेरो चरित्र होइन बरु मेरो न्यायोचित हक हो। मैले देखेको इतिहासमा त सन्त नेता भट्टराईले बाहेक आफ्नो चरित्रको खुलासा कसैले गरेन अनि उनीबाहेक हामी कसैले पनि अरुको चरित्रमाथि औँला उठाउन छोडेनौँ।

सन्त भटराई यो समाज व्यवस्थाको यही सत्यमाथि प्रहार गर्ने एक सत्पुरुष थिए। तिनलाई म यसैगरी सम्झन्छु। स्वर्गीय सद्पुरुषप्रति नमन् गर्दछु। AmericaNepal
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger