Latest Updates :

एसइर्इ परीक्षा भाेलिदेखिः कहाँ हराए ८ लाख विद्यार्थी ?

SHARE THIS POST :
काठमाडौं– दस वर्षअघि (विसं २०६४) १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सहभागिता जनाउँदै छन् ।

एक दशकको दौरानमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी बीचैमा हराएको सरकारी तथ्यांकले प्रमाणित गर्छ ।

७ लाख ९६ हजार १३ अर्थात् झन्डै ८ लाख विद्यार्थी कहाँ हराए त ?

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार सरकारले हालसम्म स्कुल भर्ना भएका नानीहरुलाई निरन्तर टिकाइराख्न सिक्ने÷सिकाउने पद्धति बदल्न नसकेका कारण ठूलो संख्याका विद्यार्थीले विद्यालय छाडेका हुन् ।

‘सरकारले हालसम्म शिक्षा प्रणाली सुधारका लागि जति पनि कार्यक्रम ल्यायो, ती सबै शिक्षक र कर्मचारीकेन्द्रित रहे’, शिक्षाविद् कोइरालाले भने, ‘अबका विद्यार्थीलाई विद्यालयको कक्षाकोठामा निरन्तर टिकाउन सरकारले मोबाइल, नेट, फेसबुक, भाइबरजस्ता माध्यममा सीपमूलक शिक्षा सिकाउने कार्यक्रम ल्याए मात्र विद्यार्थीसँग न्याय हुन्छ ।’

कक्षा १ मा भर्ना भएका तीन विद्यार्थीमध्ये १ मात्र कक्षा १० मा पुग्नुले हाम्रो विद्यालय शिक्षा कहाँ पुगेको छ भन्ने प्रस्ट पार्ने उनले औंल्याए ।

शिक्षा विभागका उपसचिव शंकरबहादुर थापाले उपलब्ध गराएको तथ्यांकअनुसार विसं २०६४ सालमा कक्षा १ मा कुल १३  लाख ३४ हजार १ सय ९५ विद्यार्थी भर्ना भएका मध्ये ६ लाख ८२ हजार ३ सय २३ छात्र थिए भने ६ लाख ५१ हजार ८ सय ७२ मात्र छात्रा तर कक्षा चढ्दै जाँदा छात्रभन्दा छात्रा नै बढी छन् ।

२०६८ सालमा ७ लाख ४२ हजार ९ सय ३७ मात्र कक्षा ५ सम्म आइपुगेको विभागको तथ्यांक छ जसमध्ये छात्रको संख्या ३ लाख ६६ हजार ६ सय २८ छ भने छात्रा ३ लाख ७६ हजार ३ सय ९ ।
उपसचिव थापाले कक्षा ५ भन्दा माथि विद्यार्थी टिकाउन मुस्किल पर्ने अनुभव सुनाए । यो घट्नेक्रम कक्षा ८ सम्म देखिएको छ ।

जस्तो कि ०६४ कै भर्ना कक्षा ८ मा पुग्दा ७ लाख १ हजार १ सय ३१ मात्र बाँकी थिए । त्यसमा पनि छात्र संख्या २ लाख  ९३ हजार १ सय ९० मा झरेको छ भने छात्रा संख्या ३ लाख ७ हजार ९ सय ४१ मा ।
उपसचिव थापाले कक्षा ८ सम्म आइपुग्दा ठूलो संख्यामा विद्यार्थीले बीचैमा स्कुल छाड्नुको मुख्य कारण उनीहरु कामको खोजीमा लाग्नु रहेको जनाए ।

‘एक दशकको दौरानमा ठूलो संख्यामा विद्यार्थी विद्यालय बीचैमा छाडेका छन्’, उपसचिव थापाले नागरिकसँग भने, ‘कक्षा ८ पछि तराई र पहाडका धेरै जिल्लामा केटाकेटीलाई काम गर्ने जनशक्तिका रुपमा लिइने भएकाले पारिवारिक जिम्मेवारी वहन गर्न पढाइ छाड्ने गरेको पाइन्छ ।’

शिक्षाविद् कोइरालाले आधाभन्दा बढी विद्यार्थी कहाँ हराए, यसको खोजीनिति गर्न सरकारले अध्ययन–अनुसन्धान गरी नानीहरुलाई स्कुलमै टिकाउने नयाँ कार्यक्रम तय गर्नुपर्ने सुझाए ।

कक्षा १ मा केटाहरु बढी भर्ना भए पनि माथिल्लो कक्षामा केटीहरु बढी हुनु यो समूहका छोरीहरुको जनसंख्या बढी हुनु पनि एउटा कारण हो भने अर्को मुख्य कारण यो समूहका छोराहरु काम गर्न थाल्ने भएकाले छोरीहरुले एसएलसीसम्म पढ्ने अवसर पाएको शिक्षाविद् कोइरालाको ठम्याइ छ ।

सरकारले विद्यालयमा विद्यार्थी टिकाउन केही कार्यक्रम थाले पनि त्यसको सदुपयोग, अनुगमन, नियमन र प्रभावकारितामा कमी भएका कारण यी कार्यक्रम प्रभावहीन भएको विज्ञहरुको विश्लेषण छ ।

सरकारले विद्यालय शिक्षामा विद्यार्थी टिकाउने र गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित तय गरेको विद्यालय क्षेत्र सुधार कार्यक्रम पनि प्रभावकारी भएन भने हाल लागू भएको विद्यालय शिक्षा विकास कार्यक्रम पनि शिक्षक र कर्मचारी पोस्न मात्र रहेको शिक्षाविद् कोइरालाको ठहर छ ।

विद्यार्थीको यो समूह शिक्षाका साथै सीपको पनि आवश्यकता महसुस गर्ने भएकाले प्रत्येक विद्यार्थीले आ–आफनो अध्ययनसाथै सिप सिक्नु पर्ने कार्यक्रम अबको आवश्यक्ता भएको उनले सुझाए ।

शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले सरकारले विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न विद्यार्थीकेन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे । उनले भर्ना भएका विद्यार्थीका लागि विभिन्न किसीमका छात्रवृत्ति व्यवस्था गरिएको, शैक्षिक सुधारका कार्यक्रम सञ्चालन भइरहेको, पूर्वाधार विकासलगायत बालमैत्री विद्यालयको वातावरण बनाउने काम शिक्षा मन्त्रालयले गरिरहेको उनले जनाए ।

तैपनि विद्यार्थी कक्षाकोठामा टिक्दैनन्, किन त ?

‘यति धेरै विद्यार्थी कहाँ गए, सबैका लागि खोजी र चासोको विषय हो’, सहसचिव अर्यालले सुनाए ।
उनका अनुसार १० प्रतिशतजतिले हरेक वर्ष बीचैमा विद्यालय छाड्ने गरेका छन् । कक्षा ५ देखि नै अभिभावकले नानीहरुलाई आम्दानी हुने काममा लगाउनु यसको कारण रहेको उनी औंल्याउँछन् ।
अर्का शिक्षाविद् धनञ्जय शर्माले विद्यार्थी हराउनुमा मुख्य दोष सरकारी तथ्यांकलाई दिन्छन् । उनका अनुसार सरकारी तथ्यांक पनि प्रलोभनमा संकलन गरिएको छ । विद्यार्थी संख्या सही पाउन चुनौती थपिएको छ । अर्को कारण विद्यार्थी भोको पेटमा स्कुल आउन सक्दैनन् । ‘सरकारले प्रत्येक वर्ष वैशाखमा विद्यार्थी भिœयाउन भर्ना अभियान सञ्चालन गरी विद्यार्थी भिœयाउने तर त्यसलाई निरन्तर टिकाइराख्न कुनै ठोस कार्यक्रम गर्दैन’, शर्मा भन्छन्, ‘विद्यार्थी संख्याको तथ्यांक नै मिथ्यांक छ । अझै पनि विद्यालयहरुमा नानीहरु भोकै  पेट पढ्न आउने गरेका छन् । त्यही भएर सरकारले खाजा कार्यक्रम देशभरिकै सरकारी विद्यालयमा कार्यान्वयन गर्नुपर्छ ।’

सरकारले अझैसम्म विद्यालयमा बालमैत्री वातावरणमा पठनपाठन गराउन नसकेको उनले आरोप लगाए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger