Latest Updates :

राजधानीका ‘डन’हरूको हिटलिष्ट ‘लिक’ (नामसहित)

SHARE THIS POST :

दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’को प्रहरी इन्काउन्टरमा मारिएपछि केही समय शान्त रहेको राजधानीफेरि अशान्त हुन थालेको छ ।
राजनीतिक अस्थिरता, नेता, मन्त्री र सांसदहरूको संरक्षणले कथित ‘डन’ अर्थात गुन्डानाइकेहरूले राजधानीमा आफ्ना क्रियाकलाप बढाउन थालेका हुन् ।

काभ्रेली गुन्डानाइके दावा लामाले दरबारमार्गमा दिउँसै मान्छे कुटेर हिँड्न थालेपछि राजधानीफेरि त्रसित बनेको हो । लामालाई कांग्रेसका सांसद तीर्थ लामाले संरक्षण गर्दै आएका छन् । दावा लामालाई तीर्थ लामाकै दबाबमा गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा तारेखमा छाडिएको स्रोतको आरोप छ ।

काठमाडौं अपराध महाशाखामा एसएसपी सर्वेन्द्र खनाल र काठमाडौं प्रहरी प्रमुख बिक्रम सिंह थापा रहँदासम्म दुलाभित्र पसेका थिए । उनीहरूको सरुवा र अवकाससँगै गुन्डा नाइकेहरूले आफ्ना गतिविधिलाई सक्रिय बनाउँदै लगेका छन् ।

प्रहरी प्रशासनले डनहरूको गतिविधिलाई नियन्त्रण गर्न खासै कदम उठाउन नसकेको गुनासो बढ्न थालेको छ । प्रहरीका उच्च हाकिमहरू ‘स्टन्ट’का लागि मात्रै केही समय मिडियामा छाउने र काम नगर्ने प्रवृत्तिले गुन्डानाइकेहरूको चकचकी बढेको आरोप छ ।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी छविलाल जोशी र महाशाखा प्रमुखमा एसएसपी दिनेश अमात्य सरुवा भएर आएका छन् । उनीहरूले पत्रकार सम्मेलन गरेरै गुन्डा तह लगाउने बताएका थिए । उनीहरूको पत्रकार सम्मेलनको प्रतिवद्धता र अभिव्यक्तिले अहिले ‘हावा’ खाएको चर्चा टेकुतिर हुन थालेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’सँग मिलन गुरुङ ‘चक्रे’ (बीचमा)

पहिलो दर्जाको ‘डन’ कहलिएका गणेश लामा (फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य), मिलन गुरुङ ‘चक्रे’, सुजन पौडेल ‘रमेश बाहुन’, दीपक मनाङे, राजु गोर्खाली, साजन महर्जन, तेजेन्द्र गुरुङ, दावा लामा, समीर मानसिंह बस्नेत, बाघबहादुर लामा ‘बाघे’ले जबरजस्ती चन्दा उठाउने, धम्काउने, व्यक्ति अपहरण, ठेक्कापट्टामा हस्तक्षेप आदि क्रियाकलाप गर्दै आएको आरोप सर्वसाधारणहरूले लगाउने गरेका छन् । यी कथित ‘डन’हरूले लामो समयदेखि राजधानीमा सर्वसाधारणहरूलाई हैरान बनाउँदै आएका छन् ।

दोस्रो दर्जाका ‘डन’हरूको दर्जा पाएका प्रकाश माली, युवराज खड्का, सञ्जीव लामा ‘स्याल’, रिनझिन शेर्पा ‘रिङ्की पिङ्की’, निराजन पौडेल, राजेश महर्जन, मानबहादुर तामाङ, भीमराज घले, शोभित तामाङ, राज तामाङ, चन्द्र लामा, शुरेश महर्जन, तेजेन्द्र रायमाझी, निरज लामा, छिरिङ शेर्पा, राजु भण्डारी रहेका छन् । यिनीहरूले सर्वसाधारणलाई धम्काउने, जग्गा प्लटिङमा कमिशन खाने, अपहरण गर्ने जस्तै गैरकानूनी क्रियाकलाप गर्दैै आएका छन् ।

ललितपुर जिल्लामा पछिल्ला दिनमा प्रकाश माली र युवराज खड्काले अरु गुन्डा नाइकेहरूलाई फिटिक्कै प्रवेश गर्न दिएका छैनन् । अपहरण, गुन्डागर्दी, फिरौती र चन्दा आतंकमा प्रहरीले पक्राउ गरेर युवराज खड्का र प्रकाश मालीलाई तारेखमा छाडेको छ । तर, पनि उनीहरूले सुध्रिने कुनै नाम लिएका छैनन् ।

स्रोतले भन्यो, ‘प्रकाश माली र युवराज खड्काले जग्गा प्लटिङ, हाउजिङ, अपहरण, फिरौती आदि गैरकानूनी क्रियाकलाप अहिले पनि गर्दै आएका छन् । स्थानीयलाई हैरान बनाएका छन् । प्रहरी पनि चुप लागेर बसेको छ ।’

पछिल्लो समय चम्केका ‘गुण्डा’ नाइकेमा काभ्रेली समूहका दावा लामा पर्छन् । ज्यान मार्ने उद्योग, अपहरण र लागू औषधमा जेलजीवन भोगेर निस्केका दावा कांग्रेसका सांसद तीर्थ लामाको संरक्षण छ । केही वर्षअघि पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबलमानसिंह गुरुङलाई समेत दावा लामाले कुटपिट गरेका थिए ।

पहिलो वर्गका कथित ‘डन’ चक्रे मिनलले आफ्ना सहोदर भाइ तेजेन्द्र गुरुङलाई पनि गुण्डा नाइके बनाएको आरोप प्रहरी उच्च स्रोतले जनाएको छ । दुबैलाई राजनीतिक संरक्षण छ । महाराजगञ्ज क्षेत्रमा सक्रिय तेजेन्द्र गुरुङ तरुण दलको राजनीति गर्छन् । उनी खेलकुदमा सक्रिय छन् ।

आफूलाई रिङ्की पिङ्की शेर्पा भनेर चिनाउने रिनझिन शेर्पा धापासी क्षेत्रका गुण्डा हुन् । निराजन पौडेल बसुन्धरा क्षेत्रमा, मानबहादुर तामाङ बाँसबारी क्षेत्रमा, भीमराज घले सामाखुसी क्षेत्रमा सक्रिय छन् ।

शोभित तामाङ नयाँ बसपार्क क्षेत्रमा, राज तामाङ जोरपाटी क्षेत्रमा, चन्द्र लामा पुरानो बानेश्वर, सुरेश महर्जन कीर्तिपुर तथा राजु भण्डारी बालुवाटार क्षेत्रमा सक्रिय रहेको प्रहरीले जनाएको छ ।

गुण्डा नाइके समीर मानसिंह बस्नेत काठमाडौं प्रहरीको फरार सूचीमा छन् । बस्नेत काठमाडौंको बाफलका स्थायी बासिन्दा हुन् ।

डिस्को क्लवमा बाउन्सरको कुटाइ खाएपछि सञ्जीव लामा ‘स्याल’ आजकाल थन्किएर बसेका छन् । उनले खासै आफ्ना गतिविधिलाई देखाएर गर्ने गरेका छैनन् । ‘स्याल’ आजकाल लोप्रोफाइलमा रहेको प्रहरी भनाइ छ ।

इचंगुनारायणमा स्थायी बसोबास गर्दै आएका बाघबहादुर लामा ‘बाघे’, कोटेश्वर बस्ने गणेश लामा तथा ठमेल बस्ने दीपक मनाङ्गेले आफ्नो आचरणमा कुनै सुधार ल्याएका छैनन् । उनीहरूलाई प्रहरीले उच्च निगरानीमा राखेको जनाएको छ ।

प्रहरीले यी कहलिएका गुन्डा नाइकेहरूलाई हिटलिस्टमा राखेर निगरानी गरिरहेको जनाएको छ । आवश्यक पर्दा उनीहरूलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने तयारी गरेको स्रोतले जनायो ।
दैनिक नेपालबाट साभार गरिएको |

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger