नेपाली भूमि कञ्चनपुरको पुनर्वासमा प्रवेश गरेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले प्रहार गरेको गोली लागेर बिहीबार गौतमको मृत्यु भएको छ । गौतमको मृत्यु भएसँगै नेपालमा भारतको ज्यादती विरुद्ध आवाज उठिरहेका बेला शुक्रबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर गौतमको पोष्टमार्टमको रिपोर्ट कूटनीतिक तवरबाट उपलब्ध गराउन आग्रह गरेको हो ।
गोली लागेर नेपालीको ज्यान गएको विषयमा एसएसबीसँग सोधपुछ भइरहेको जारी विज्ञप्तिमा भनिएको छ।स्थिति शान्तपूर्ण र सामान्य बनाउन अहिले नेपाल र भारत तर्फका सीमा क्षेत्रका अधिकारीहरुबीच छलफल भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच टेलिफोनमा कुराकानी पनि भएको थियो।यस्तै बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले उक्त घटनामा एसएसबी संलग्न नभएको भन्दै एसएसबीले गोली नचलाएको दाबी गरेको थियो ।
अस्थायी कल्र्भट निर्माणको विषयलाई लिएर बढेको विवादमा एसएसबीले प्रहार गरेको गोली लागेर घाइते भएका गौतमको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटो अत्याधिक रक्तस्रावले मृत्यु भएको थियो ।
उक्त घटनाको निन्दा गरेको नेपाल सरकारले गौतमलाई शहीद घोषणा गर्ने, राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र उनका सन्तानलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताएको छ ।

Post a Comment