सजिलै उच्च शिक्षा र गतिलो आर्थिक कमाइ हुने आसमा आउनेहरू त्यस्तो नपाउँदा निराश हुने गर्छन् । यस्ता विद्यार्थीलाई बेलैमा परामर्शको अभाव हुने गरेको छ । अस्ट्रेलियाभरि झन्डै २ सय हाराहारी नेपाली संगठन भए पनि त्यस्ता विद्यार्थीलाई सहयोग पुर्याउन उल्लेख्य कार्य गरेका छैनन् । एनआरएनलगायत संस्थाले गरेको पहल पनि प्रभावकारी बन्न सकेको छैन । नेपाली दूतावासले समेत यस विषयमा केही गर्न सकेको छैन ।विद्यार्थीहरूको संस्था ‘अस्ट्रेलियन फेडेरेसन अफ इन्टरनेसनल स्टुडेन्ट्स’ ले केही समयअघि सिनेट इन्क्वायरीलाई बुझाएको एक रिपोर्टमा अस्ट्रेलिया सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थीको मानसिक स्वास्थ्यबारे अनुसन्धान गर्न आग्रह गरिएको थियो । उक्त रिपोर्टपछि अस्ट्रेलियामा विभिन्न विश्वविद्यालय र प्राध्यापकको ध्यान यसमा तानिएको छ ।
अस्ट्रेलियाबारे पूर्वजानकारी नलिईकन आउँदा समस्या हुने गरेको एक विद्यार्थी बताउँछन् । ‘एयरपोर्ट ओर्लिएदेखि नै समस्या सुरु हुन्छ । फोटो र गुगलमा देखिएजस्तो छैन अस्ट्रेलिया,’ उनी भन्छन्, ‘यहाँ हुन सक्ने समस्याको सामना गर्न तयार भएर आउनुपर्छ तर धेरै विद्यार्थी सपना मात्रै लिएर आउँछन् ।’ साथीभाइको संगतले पनि फरक पार्ने उनले बताए ।सिड्नीका मानसिक रोग विशेषज्ञ घनश्याम चापागाईंका अनुसार अस्ट्रेलियामा रहेका पाँचमध्ये एक नेपाली मानसिक रोगबाट पीडित छन् । समयमै चिकित्सकको सल्लाह नलिनु ठूलो समस्या भएको उनी बताउँछन् । सल्लाह र उपचार लिन आउँदा ढिलो भइसक्ने उनको अनुभव छ । ‘यसले गर्दा बेलैमा उपचार हुन पाउँदैन,’ उनले भने ।मसँग अहिले ३० जना मानसिक रोगका नेपाली बिरामी छन् । आर्थिक अभाव, गलत संगत, धेरै अपेक्षाले उनीहरू यो रोगको चपेटामा परे,’ मेलवर्नका मानसिक रोग विशेषज्ञ अनुपम पोखरेल भन्छन् ।
उनी पनि दूतावास र एनआरएनलगायत संस्थाले विद्यार्थीलाई प्रभावकारी परामर्श दिनुपर्ने बताउँछन् । अस्ट्रेलिया अध्ययनका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिनुअघि विद्यार्थी तथा अभिभावकलाई अस्ट्रेलियाबारे विशेष जानकारी लिनैपर्ने प्रावधान राख्नुपर्ने उनी बताउँछन् ।भिसा लागेपछि कन्सल्टेन्सीले पनि तालिमको व्यवस्था गर्नुपर्छ,’ उनी भन्छन् । एनआरएन अस्ट्रेलियाका महासचिव नारायण कोइराला सकेसम्म सामाजिक कल्याणकारी कोषमार्फत विद्यार्थीलाई सहयोग गर्ने कोसिस गरेको बताउँछन् । ‘मानसिक समस्यामा रहेकालाई रिफरल, नेपाल फर्किन परे टिकट काटिदिने, अस्पतालमा आवश्यक परे साथी बनिदिने जस्ता काम हामीले गरिरहेका छौँ,’ उनले भने ।
Post a Comment