Latest Updates :

आमाले २ छोरा र १ छोरीलाई आँप खान जान भन्दै बोलाएर हात समाएर पानीमा डुबाइन्

SHARE THIS POST :
खेम बम/रोजेन्द्र जोशी
डोटी । डोटीको आदर्श गाँउपालिका वडा नं. ४ बस्ने बमबहादुर बोहराको घरमा ब्रजपात भयो । उहाँकी श्रीमती, २ छोरा र १ छोरीले सेती नदिमा सामुहिक रुपमा हाम फालेको भनी सार्वजनिक भएको घटना जिवित उद्दार गरिएका बालक सुरेन्द्र बोहराको बयान सँगै थप रहस्यमय बनेको छ । श्रावण १ गते राती भएको दुखद घटना ढिला गरी श्रावण ३ गते वेलुकी मात्र प्रहरीलाई जानकारी गराईएको थियो भने घटना श्रावण ५ गते जनता समाचार डटकमबाट प्रकाशन भएको थियो ।

घटनाले मुलुक भरमा एक प्रकारको तरंग ल्याए छ । आगोझैं सल्कीएको उक्त घटना भएको ८ दिन वितिसकेको छ तर, घटना घट्नुको रहस्य पत्ता लागेको छैन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताई रहेको छ भने अनुसन्धानकै क्रममा जिवित उद्दार गरिएका बालक सुरेन्द्रले भने प्रहरीमा बयान दिएका छन् । सुरेन्द्र र उनका बाबु बमबहादुर बोहरा, बालकको मावाली बज्यै र स्थानीयको बयानले घटनालाई थप रहस्यमय बनाएको छ ।

घटना सार्वजनिक हुँदा आदर्श गाँउपालिका वडा नं. ४ का अध्यक्ष नारायण पछेरा र जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार धौली देवी बोहराको मानसिक अवस्थामा समस्या रहेका भन्ने बताएका थिए, तर पछिल्लो समय उनका श्रीमान बमबहादुर वोहराले जनता समाचारसँग कुरा गर्दै श्रीमतीको मानसिक अबस्थाको बारेमा समस्या नरहेका बताएका छन् । उनका छोरा र ससुराली तर्फका मानिसहरुले दिएको बयानले पनि घटनाको राज खुल्न नसकेको हो ।

घटना के थियो र कसरी भयो ?

धौली देवीका श्रीमान बमबहादुर बोहरा भारतमा चौकीदारीको काम गर्दै आएका थिए । घटना भएको दिन श्रावण १ गते कान्छो छोरा सुनील बोहराको कान पाकेकोले उपचार गर्नेकुरा भयो । उपचारका लागी धौली आफै जाने कुरा भए अनुसार घरपरिवारका सबै सदस्यहरुले सँगै खाना खाए र श्रीमान बमबहादुर नजिकको पसलतिर लागे भने श्रीमति धौलीले कान्छो छोरोलाई बोकी उपचारका लागी अस्पताल तिर लागेकी थिईन् ।

घर नजिक रहेको जंगलमा १२ बर्षीया जेठी छोरी राधा बोहरा र ८ वर्षीया माहिला छोरा सुरेन्द्र बोहरा बाख्रा चराउनका लागि भन्दै गएका थिए । बाखा्र चराउने अन्य गोठालाले बताए अनुसार धौली देवी वोहराले जंगलमा रहेका दुवै छोराछोरीलाई आँप खान जाने भन्दै बोलाईन् र उनीहरु आमाले भने बमोजिम गएका थिए ।

रातीको समयमा बाख्राहरु घरमा आएपछि छोराछोरी घर नपुगे पश्चात छोराछोरी र उपचार गर्न गएकी श्रीमतिको बारेमा खोजी कार्य हुँदा धौलीले सबै छोराछोरी बोकी गएको जानकारी आए पश्चात आफुहरुले खोजी कार्य थालनी गरेको श्रीमान बमले जनता समाचार डटकमलाई बताएका छन् । श्रीमतीसँगै छोराछोरीको खोजीमा लागेका बम र उनका आफन्तहरुलाई राती जब बच्चा नदिमा फेला परेको र नदिमा हामफालेको भन्ने सूचना आयो तब उनीहरु एकाएक अत्तालिए ।

घटना श्रावण १ गते बेलुकीको समयमा भएपनि आफुहरुलाई राती जानकारी भएपछि उनीहरु घटनास्थल पुगेका थिए । अज्ञात अवस्थामा रहेका श्रीमती र एक छोरी र एक छोराको खोजी कार्य थालनी गरिएको भए पनि श्रीमती र छोराछोरी फेला नपर्दा बलमे वडा अध्यक्षसँग कुरा गरे । वडा अध्यक्षले प्रहरीलाई श्रावण ३ गते घटनाको बारेमा जानकारी गराएका थिए ।

प्रहरीलाई जानकारी आएपछि प्रहरी घटनास्थल पुगेको र घटनास्थलको मुचुल्का बनाउँदा गाँउमा कुनै प्रकारको त्यस्तो झैंझगडा नभएको कोही कसैसँग आर्थिक लेनदेन नरहेका र धौलीलाई मानसिक रुपमा समस्या भएको जस्तो देखिने गरेको प्रतिवेदन प्रहरीले तयार पारेको छ । प्रहरीले घटनाका बारेमा अहिले पनि अनविज्ञता जनाएको छ भने घटनाको बारेमा यर्थाथ जानकारी उद्दार गरिएका बालकबाट आउने आशा थियो त्यो पनि भएको छैन् ।

के भने सुरेन्द्रले प्रहरीलाई ?
सुरेन्दसहितको टोली जिल्ला प्रहरी कार्यालयमा श्रावण ६ गते पुग्ने अनुमान गरिएको भए पनि ६ गते बमबहादुर मात्र जिल्ला प्रहरी कार्यालय पुगे र आफ्नो बयानमा अनविज्ञ भएजस्तै बयान दिएको प्रहरी श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार बमबहादुरले प्रहरीलाई आफुसँगै खाना खाएर गाँउको पसल तिर गएको र बेलुकीको समयमा घरमा श्रीमती छोराछोरी कोहि पनि नआएपछि उनीहरुको खोजी कार्य थालनी गरेको बताएका छन् ।

सुरेन्द्रले प्रहरीमा दिएको बयानमा आफुहरुलाई आमाले नदि पार गरेर जाने भन्दै सल्लाह गरे बमोजिम भाईलाई आमाले पिठ्युमा बाँधेको र दिदिलाई एउटा हातमा र आफुलाई अर्को हातमा बाँधी खोला तर्ने क्रममा उनीहरु वेपत्ता भएको बताएका छन् ।

घटनाका एक मात्र प्रत्यक्षदर्शी भनिएका सुरेन्द्रले दिएको बयानले सेतीमा हाम फालेको भन्दा पनि सेतीमा बगेको भन्ने अर्थ लगाएको छ तर यसभन्दा पहिलेदेखि बम बहादुर वोहरा वडाअध्यक्ष र प्रहरीले दिएको जानकारी अनुसार उनीहरुले सेती नदिमा हाम फालेको भन्ने सूचना बाहिरिएको थियो ।

घटना भएको स्थानसम्म पुग्न धौलीको घर देखि करिब ४–५ घण्टाको पैदल यात्रा गर्नुपर्ने हुन्छ । ३ ओटा बच्चाहरुलाई बाटो भरी ललाइफकाइ गर्दै ४–५ घण्टाको पैदलयात्रा गरी नदीमा बस्नुपर्ने त्यस्तो के परि आयो भन्ने विषयमा कुनै रहस्य खुल्न सकेको छैन् । घटना भएको स्थान नजिक नै पुल भएका कारण पुलबाट नगई पानीको बाटो नै किन तरे भन्ने प्रश्न पनि अनुसान्धानका क्रममा खडा भएको छ ।

प्रहरी के भन्छ ?
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लाल वहादुर धामीले घटनाका बारेमा सुक्ष्म रुपमा अध्ययन अनुसन्धान गरिरहेको बताउनु भएको छ । घटनाका बारेमा अनुसन्धान गर्दै जाँदा के कति कारणले घटना भयो भन्ने कुनै आकलन गर्न सकिने अवस्था नरहेको बताउनु भएको छ ।

हराएका मध्येका व्यक्तिहरु जिवित भेटिए वा मृत अवस्थामा भेटीएपछि मात्र घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरी अधिकारीहरुले बताएका छन् । प्रहरीले अहिले पनि उनीहरुको हुलियासहितको खोजी कार्य जारी गरेको छ । माइतीपक्षका मानिसहरुले पनि आरोप–प्रत्यारोप गर्ने तर्फबाट कुराको उठान नगरेको प्रहरी श्रोतले जनाएको छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger