Latest Updates :

किसानको पचास करोड भुक्तानी बाँकी

SHARE THIS POST :

नवलपरासी, २९ जेठ / पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड भुक्तानी पाएका छैनन् ।जिल्लाका तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी पाउन बाँकी छ । उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार चिनी उद्योगले हालसम्म करीब रु २५ करोड भुक्तानी गरेका छन् ।
पश्चिम नवलपरासीका किसानले भुक्तानी नपाए पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् । पटक–पटक भुक्तानीका लागि माग गर्दैआए पनि उद्योग सञ्चालकले दिन नमानेको तथा सरकारले समेत पहल नगरेको किसानको गुनासो छ ।“भुक्तानी नदिँदा आन्दोलनको बाटो रोज्न बाध्य भएका छौँ,” अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष दूधनाथ गुप्ताले भन्नुभयो ।
उद्योग सञ्चालकले चिनी बिक्री नभएका कारण भुक्तानी दिन नसकिएको बताउँदै आएका छन् । तीनवटा उद्योगले १६ लाखभन्दा बढी क्विन्टल उखु क्रसिङ गरी चिनी उत्पादन गरेका छन् । भुक्तानी नपाउँदा जिल्लाका करीब १० हजार किसान मारमा परेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुई महिनाअघि उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारवाही गर्न निर्देशन दिनुभएको थियो ।पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सबै उद्योगका सञ्चालकसँग समन्वय गरी भुक्तानीका लागि पहल गरिने बताउनुभयो ।
उत्पादन भएको चिनीको उचित मूल्य नपाएका कारण बिक्रीमा समस्या भएको उद्योग सञ्चालकले बताएका छन् । भुक्तानी नपाउँदा जिल्लामा हरेक वर्ष उखु उत्पादन घट्दो छ । दुई वर्षअघि २५ लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा गत वर्ष २० लाखमात्र उत्पादन भएको थियो । यस वर्ष १६ लाख क्विन्टल उखु उत्पादन भएको समितिले जनाएको छ ।
स्रोत:purbelinews
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger