Latest Updates :

पुसभित्रै एकीकृत माझी बस्ती

SHARE THIS POST :
चौतारा : निर्धारित समयमा निर्माण सक्न समस्या आएपछि नायिका श्वेता खड्काले ऋण लिएर पुसभित्र एकीकृत माझी बस्ती ठड्याउने अभियान सुरु गरेकी छन् ।पुनर्निर्माण प्राधिकरणबाट लाभग्राहीले पाउने अनुदान रकम लिन झन्झटिलो प्रक्रियाका कारण ढिला हुने भएपछि नायिका खड्काले आफ्नो घर बन्धकी राखेर लिएको ऋणबाट समयमै बस्ती ठड्याउने अभियानमा लागेकी हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका-१४, झ्याडीको ५३ घर माझी बस्तीलाई पूर्वाधारसहितको एकीकृत बस्ती बनाउन थालेको श्वेता श्री फाउन्डेसनलाई आर्थिक समस्या आएपछि राजधानीमा रहेको श्वेताको घर धितो राखेर निर्माण सुरु गरिएको फाउन्डेसनका सचिव यज्ञराज कार्कीले बताए । आर्थिक अभावका कारण पटक-पटक निर्माण सम्पन्न गर्ने मिति सार्दै आएको फाउन्डेसनले ऋण लिएर भए पनि पुसभित्र एकीकृत माझी बस्ती समुदायलाई हस्तान्तरण गर्ने योजना अघि सारेको छ ।

सरकाबाट प्राप्त हुने अनुदान तीन लाख र बैंकबाट सहुलियत ऋण लिएर व्यक्तिको घर र फाउन्डेसनको आर्थिक सहायताबाट पूर्वाधार निर्माण गरी सुविधा सम्पन्न एकीकृत बनाउने योजना कागजी प्रक्रियामा झन्झटिलो हुँदा आर्थिक संकटमा परेको हो । भूकम्पपीडितले पाउने अनुदान रकम निकाल्न पूरा गर्नुपर्ने प्रक्रियाका कारण आर्थिक स्रोत जुटाउन समस्या परेको फाउन्डेसनका सचिव कार्कीले बताए । ‘आर्थिक स्रोतको समस्या भएपछि श्वेताले २४ प्रतिशत ब्याज तिर्ने गरी घर धितो राखेर २० लाख रुपैयाँ ऋण लिएकी छन्’, कार्कीले भने, ‘व्यक्तिगत पैसा पनि खर्च भएको छ ।’

कार्कीका अनुसार बस्तीमा तीन घरको छाना छाउने काम सकिएको छ भने २२ घर छाना छाउने चरणमा पुगेको छ । १० घरको डीपीसी सकिएको र सात घरको जग खन्ने काम भएको कार्कीले बताए । फाउन्डेसनले आयआर्जनको विकल्पसहित चौतारा साँगाचोकगढी नगरपालिका-१४, झ्याँडीका ५३ परिवार माझी बस्तीको निर्माण गर्दै छ ।

 बस्ती निर्माणका लागि सहुलियत ब्याजमा लक्ष्मी बैंकले ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । ‘हामीले सरकारले तोकेको २ प्रतिशत ब्याजमा ऋण दिने प्रतिबद्धता जनाएका छौं, उहाँहरूले आवश्यक प्रक्रिया पूरा गरेर आउनुपर्छ’, लक्ष्मी बैंक चौतारा शाखाकी प्रबन्धक जमुना मोक्तानले भनिन्, ‘लाभग्राहीको नाममा जग्गा आइनसकेकाले केही समस्या भएको छ ।’

१९ रोपनी क्षेत्रफलमा फैलिएको बस्तीको एक घरले चार सय ६५ वर्ग फिट जमिन ओगट्ने प्राविधिकले बताएका छन् । थाइल्यान्डको प्रविधि अपाइएको प्रतिघर सात लाखका दरले तीन करोड ७१ लाख रुपैयाँ निजी आवास निर्माणमा खर्च हुने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले पूर्वाधार निर्माणमा दुई करोड नौ लाख रुपैयाँ खर्च गर्ने बस्तीकी अभियन्ता एवं फाउन्डेसनकी अध्यक्षसमेत रहेकी नायिका श्वेता खड्काले बताइन् ।

 सामुदायिक भवन, बाल उद्यान, पानीको फोहोरा, सांस्कृतिक रंगमञ्च, चौतारी, मन्दिर, बाल शिक्षण केन्द्रसहितको आकर्षक र परम्परागत बस्ती निर्माण हुने खड्काले बताएकी छन् । ‘समुदायलाई सक्षम बनाउने योजनासहित हामी बस्ती निर्माणमा जुटेका छौं’, खड्काले भनिन्, ‘सोचेजस्तो सपोर्ट पाएको छैन तर हामी जसरी पनि एकीकृत बस्ती निर्माण गरेर छाड्छौं ।’ आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित निर्माण हुन लागेको बस्तीमा होमस्टे सञ्चालनको गृहकार्यसमेत सुरु गरिएको फाउन्डेसनले जनाएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger