Latest Updates :

कोरियामा ८१ नेपाली कामदारको मृत्यु ! कारण यस्तो छ

SHARE THIS POST :
काठमाडौं । सन् २०१८ को शुरुमै जनवरी १० मा कोरियाको पुछानमा कार्यरत एकजना नेपाली कामदारको शव आफ्नै कम्पनीको पछाडि झुण्डिएको अवस्थामा भेटियो । शव महोत्तरी बर्दीबासका २५ बर्षीय प्रकाश थापा मगरको रहेको कोरियास्थित नेपाली दुतावासले जानकारी गराएको छ । ७ महिनाअघि मात्रै उनी कोरिया पुगेका थिए । उनले आफूलाई गम्भीर रोग लागेको भन्दै घर फर्किने टिकट पनि काटिसकेका थिए । उनले आत्महत्या गरेको बताइए पनि स्थानीय प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको छ । ईपीएस नेपालको तथ्याङ्कअनुसार २००८ मा ईपीएस प्रणाली शुरु भएदेखि अहिलेसम्म दक्षिण कोरियामा ८१ जना नेपाली कामदारले ज्यान गुमाएका छन् ।

९ वर्षको अवधिमा यसरी ज्यान गुमाएकामध्ये सुतेको समयमा मृत्यु हुनेको संख्या १८ रहेको छ भने आत्महत्या गर्नेको संख्या पनि उत्तिकै रहेको छ । आत्महत्याबाट ज्यान गुमाउनेको संख्या १७ रहेको ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले बताए । त्यसबाहेक कम्पनीमा भएका दुर्घटनामा १० जना, सडक दुर्घटनामा ७ जना, साथीसँगको आपसी झगडामा २ जना, स्वभाविक ढङ्गबाट १ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । बाँकी २६ जनाको मृत्युको कारण भने नखुलेको अधिकृत भण्डारीले बताए ।

सुतेकै अवस्थामा मृत्यु

कोरियामा भाषाको समस्या, औद्योगिक ज्ञान र सिपको कमी लगायत मृत्युका कारण देखिए पनि आत्महत्या के कारणले भइरहेको छ भन्ने बारेमा अहिलेसम्म निश्चित हुन नसेकेको ईपीएस शाखाले जनाएको छ । कामदारमा भएको उच्च महत्वाकांक्षा र यथार्थको तालमेल नहुनु प्रमुख कारण मान्न सकिने भए पनि यसैलाई मुख्य आधार मान्न नसकिने ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडा बताउँछन् । बाह्रखरीसँगको कुराकानीमा उनले भने, “एक त व्यक्तिको महत्कांक्षासँग यथार्थताको तालमेल नहुनु हो, अर्को कारण कामदार कोरिया लैजाने छनोट प्रक्रिया नै गलत हुनु पनि हो ।”

उनका अनुसार काम गर्न लैजाने कामदार छनोट प्रक्रिया लेखापढि गर्न लैजानेसरहको हुँदा समस्या बढिरहेको छ । खतिवडा भन्छन्, “घरमा रहँदा काम गर्न नखोज्ने र काम गर्न नपर्ने युवा नै भाषा परीक्षा धेरै मात्रामा उत्तीर्ण हुन्छन्, जसले यहाँ रहँदा कलमको काम गरिरहेका हुन्छन् तर त्यहाँ गएर मेसिनहरुसँग खटिनुपर्छ जसका कारण उनीहरुमा फ्रस्टेसन आएको हुन सक्छ ।”

खतिवडाले कोरियामा गएर परिवर्तित अवस्थाअनसार आफूलाई तयार गर्न नसक्नु पनि यसको कारण रहेको बताए । आत्महत्या जस्तै सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै छ । सुतेकै अवस्थामा मृत्यु हुनुका सबै कारण पत्ता नलागे पनि धेरै रक्सी पिएर सुत्नु, कोठामा अक्सिजनको कमी हुनु लगायतका कारण देखिएको निर्देशक खतिवडाको भनाई छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger