Latest Updates :

धेरै कमाउछु परिवार पनि लैजान्छु ’ भन्दै युरोप हिँडेका नेपालीको बाटोमै डुंगा दुर्घटनामा मृत्यु

SHARE THIS POST :
धेरै कमाउछु परिवार पनि लैजान्छु ’ भन्दै युरोप हिँडेका नेपालीको बाटोमै डुंगा दुर्घटनामा मृत्यु म्याग्दी, माघ १ । म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन ।

अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् । राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा परेर यूरोप हिँडेका केहीले गन्तब्यमा नपुग्दै ज्यान गुमाएका छन् ।

यस्तैमध्येका एक हुन् – म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका ३६ वर्षीय धनमान पुर्जा । “यूरोप पुगेर धेरै पैसा पठाउँछु र हामीलाई पनि उतै लैजान्छु भन्नुहुन्थ्यो,” धनमानकी श्रीमती दालसुवाले गहभरी आँशु पार्दै भने – “तर कहिल्यै नर्फकने गरी यो संसारबाट बिदा हुनुभयो ।” लिबियादेखि सामुद्रिक बाटो हुँदै इटाली छिर्न नेपालबाट निस्किएका पुर्जाको सपना मानव तस्करले डोर्याएको बाटोमै चकनाचुर भयो । पुर्जाका श्रीमती, चार छोराछोरी र आफन्तले अन्तिम पटक उनको अनुहार समेत देख्न पाएनन् । कात्तिक १२ गते लिबियाबाट ट्युवको डुङ्गामा बसेर इटाली लैजाने क्रममा पुर्जाको निधन भएको उनीसंगै गएका नेपालीहरुले एनआरएनए, स्विट्जरल्याडस्थित नेपाली दूतावासमार्फत परिवारलाई खबर पठाएका थिए । अवैध रुपमा गएको र अर्थाभावका कारण उनको शव नेपाल ल्याउन नसकेपछि उतै सद्गत गरेर परिवारले मगर संस्कार अनुसार काज किरिया गरेका थिए । धनमानका तीन छोरा र एक छोरी छन् । बार्ह वर्षीय जेठा छोरा अपाङ्ग छन् । “गरगहना धितो राखेर, ऋण खोजेर पठाएका थियौं,” दालसुवाले भने । विदेश जाँदा लागेको ऋण तिर्ने, छोराछोरी पढाउने, घरव्यवहार चलाउने जिम्मेवारी दालसुवाको काँधमा आएको छ । खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका पुर्जा परिवार घरमूलीको निधनपछि विचल्लीमा परेका छन् । पुर्जाले वैदेशिक रोजगारीका क्रममा दुई वर्ष युएई र दुई वर्ष बहराइनमा काम गरेका थिए । इटालीस्थित शरणार्थी शिविरमा रहेका धनमानसँगै गएका नेपालीहरुका अनुसार १२ जनालाई दुबई, टर्की र लिबिया हुँदै इटाली छिराउन मानव तस्करहरुले अफ्रिकी मूलका आप्रवासीहरुसँगै सामुद्रिक डुङ्गामा जोखिमपूर्ण यात्रा गराएका थिए । चार वर्षअघि अवैध बाटो भएर अमेरिका जान हिँडेका धौलागिरि गाउँपालिका ७ ताकमका पृथ्वी केसीको समुद्रमा डुबेर निधन भएको थियो । केसीसँगै गएका म्याग्दीकै युवाले सामान बोक्ने डुङ्गामा कोचिएर समुद्र पार गर्ने क्रममा डुबेर केसीको निधन भएको परिवारलाई जानकारी गराएका थिए । पाखापानीका पुर्जा र ताकमका केसीको निधनले म्याग्देली युवा मानव तस्करको फन्दामा परेर अवैध बाटो भएर यूरोप र अमेरिका जाने प्रलोभनमा ठगी र दुःखमा फसेको पुष्टि गरेको छ । देशको अस्थिर राजनीति, विकराल बेरोजगारीको अवस्थाबाट निराश भएका सोझासाझा युवालाई वैदेशिक रोजगारीका नाममा पर्यटक भिसामा खाडीका देशमा लैजाने र अलपत्र पार्ने समस्या पनि उत्तिकै छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले आप्रवासीहरुप्रति अपनाएको कठोर नीतिका कारण अवैध बाटो भएर अमेरिका पुगेका नेपालीहरु फर्कन थालेका छन् । एक वर्ष पहिलेसम्म त्यहाँ पुगेका नेपालीहरु केही महिना शरणार्थी शिविरमा बस्ने र पछि अदालती प्रक्रिया पूरा गरेर वैधानिक हुने गरेका थिए । नेपालबाट भिजिट भिसामा युएईको दुबई पुर्याउने र युएईको सारजाँ अजमानमा कोठा भाडा लिएर महिनौं राख्ने अनि जलमार्ग हुँदै लिबियाको बाटो भएर यूरोप पुर्याउने गरेको अमेरिका पुगेर फर्किएका बेनी नगरपालिका ६ का दीपक शर्माले बताए । यूरोपका बेल्जियम, चिली, क्यानडा, पोर्चुगल, इटाली, स्पेन लगेर रोजगारी दिने भन्दै एक जनाबाट कम्तीमा २०/२५ देखि ५०/६० लाख लिने गरेका उनले गुनासो गरे ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger