साउदी अरेबियाले अहिले भ्रष्टाचारको विषयलाई अघि सारेको छ, यसलाई गलत भन्न मिल्दैन । यो राम्रो कुरा पनि हो तर यसले कस्तो सन्देश दिइरहेको छ र यसको वास्ताविकता के हो भन्ने विषयमा विशेष ध्यान दिनु जरुरी हुन्छ । अहिले साउदी अरेबियामा भ्रष्टाचारको मुद्दामा ११ राजकुमारहरु ७० भन्दा बढी मानिसहरु पक्राउ परिसकेको विभिन्न सञ्चारमाध्यमहरुले बताएका छन् । यसको अर्थ साउदी अरेबियामा अहिले केही न केही मात्रामा राजनीतिक प्रभावको विषयलाई लिएर लडाइँ सुरु भएको मान्न सकिन्छ । कुनै पनि मुलुकको लागि आफ्नो मुलुकमा राम्रो कुराले मात्र प्रश्रय पाओस् र सबै किसिमका अनियमितताहरु पाखा लागून् भन्ने चाहना हुन्छ । यसै चाहनाअनुसार साउदी अरेबिया पनि आफ्नो भ्रष्टाचार नियन्त्रणको बाटोमा अघि बढिरहेको साउदीका अधिकारीहरुको भनाइ रहेको छ ।
साउदी अरेबियामा अहिले भइरहेको गतिविधिलाई बाहिरबाट सामान्य हिसाबमा बाहिरबाट हेर्दा नराम्रो केही देखिँदैन । यद्यपि यसको जरामा पुग्ने हो भने निकै खराब किसिमको राजनीति स्पष्टरुपमा देख्न सकिन्छ । साउदी अरेबिया विश्वको सबैभन्दा संकुचित शासन प्रणाली भएको मुलुक हो । साउदी अरेबियाका अहिले यथावत रहेका नियमहरुको विषयमा अध्ययन गर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ । त्यसैले साउदी अरेबियाले उदार किसिमको शासन व्यवस्था अहिलेसम्म अपनाएको इतिहास छैन तर अहिले देखिएको केही सुधारले राजनीतिक शक्तिको टकराव भएको देखिन्छ । साउदी युवराज मोहम्मद बिन सलमान केही महिनाअघि मात्र युवराज बनेका हुन् । उनी साउदी राजा सलमानका भाइलाई हटाएर यो पदमा आसीन भएका हुन् ।
साउदी अरेबियाको युवराज पदमा आसीन भएसँगै मोहम्मद बिन सलमानले राजनीतिक हिसाबमा शक्तिको विस्तारको काम गरिरहेका छन् । साउदी अरेबियामा केही दिनअघि भ्रष्टाचारविरुद्धको कारबाहीमा परेका ११ जना राजकुमारहरु पनि युवराजको नेतृत्वमा रहेको समितिको सिफारिसमा पक्राउ परेका हुन् । यसले साउदी अरेबियामा शक्तिको आडमा युवराज आफ्ना विरोधीहरुलाई पाखा लागाउने खेलमा रहेको देखिएको छ । साउदी एक राजा भएको मुलुक हो । यो मुलुकमा जहाँनियाँ शासन रहेको कारण अबको सत्तामा आउने पालो युवराजको हुनेछ तर सत्ता हत्याउनका लागि साउदीमा राजकुमारहरुको संख्या भने अनगिन्ती छ । त्यसैले सबै राजकुमारहरुलाई पाखा लागाउँदै आफू निर्विकल्प राजाको रुपमा प्रस्तुत हुने क्रममा साउदी युवराज रहेका छन् ।
साउदी अरेबियामा ११ राजकुमारहरुलाई पक्राउ गरेको भोलिपल्टै अर्का एक राजकुमारको यमनको सीमामा हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएको बताइएको छ । यो दुर्घटनाको विषयमा पनि विभिन्न किसिमका आशंकाहरु भइरहेका छन् । यो दुर्घटना पनि नियोजित रहेको केहीले आशंका गरेका छन् । ११ राजकुमारहरु पक्रउ परेको भोलिपल्टै यस किसिमको दुर्घटना हुनुले आशंका बढाउनु कुनै नौलो कुरा होइन । दुर्घटनामा परेका युवराज पनि केही समयअघि मात्र साउदी अरेबियाको गृहमन्त्रीबाट निकालिएका थिए । केही समयअघि आफ्नो प्रभाव बलियो होस् भन्नका लागि साउदी युवराजले आफ्नो मुलुकको केही महत्वपूर्ण जिम्मेवारीहरु हेरफेर गरेका थिए । यसले पनि साउदी अरेबियामा एक किसिमको तरङ्ग ल्याएको थियो ।
अहिले देखिएको राजनीतिक अस्थिरताले राजनीतिक हिसाबमा ठूलो परिवर्तन वा संकट आउनसक्ने स्पष्ट देखिन्छ । सत्ताको लागि संघर्ष गर्नु कुनै पनि मुलुकको लागि नौलो कुरा होइन । यो कुरा साउदी जस्तो संकुचित मुलुकको लागि भने झन् महत्वपूर्ण हुन जान्छ । यो मुलुकमा जो अलि शक्तिशाली बन्न सक्यो उसैको हातमा नेतृत्व पुग्ने निश्चितजस्तै छ । अहिले साउदीका राजा ८१ वर्षका भए । यो हिसाबले अब उनले केही महिनामात्र साउदीको सत्ता सम्हाल्ने बताइँदै आएको छ । यस्तोमा अहिले जो शक्तिमा आयो, त्यति अबको राजा हुने भएकोले पनि साउदीका राजकुमारहरु सत्ताको लागि आफ्नो शक्ति बढाउने योजनामा देखिएका हुन् ।
साउदी अरेबियामा निकै संकुचित किसिमको नियमहरु रहेको अवस्थामा साउदी युवराज बलियो भएसँगै महिलाहरुलाई सवारी लाइसेन्स दिने, रोबोटलाई नागरिकता दिनेलगायतका कामहरु भइरहेका छन् । यसको सोझो प्रभाव नागरिकहरुमा परोस् र आगामी दिनमा आफ्नो प्रभाव बलियो होस् भन्ने चाहना युवराजको रहेको छ । यसले साउदी अरेबियालाई भने राम्रो दिशामा भने नलैजाने विश्लेषकहरुको भनाइ रहेको छ । साउदी अरेबियाले यमनका विद्रोहीहरुमाथि जारी राखेको कारबाहीले पूरा हुने संकेत भने देखाएको छैन । यस मामिलामा पनि साउदी अरेबिया आगामी दिनमा बलियो रुपमा प्रस्तुत हुनु जरुरी रहेको छ तर साउदीमा अहिले बूढो उमेरको राजा रहेको कारण यमनका विद्रोहीहरुबाट साउदीमा केही खतरा जन्मिनसक्ने भएकोले साउदी युवराज आफू बलियो रहेको प्रमाणित गरेर मात्र साउदीको राजगद्दीमा बस्ने विचारमा देखिन्छन् ।
साउदी युवराज आफूलाई एक आधुनिक युवराजको रुपमा परिभाषित गर्न चाहन्छन् । यद्यपि साउदी अरेबियाको राजगद्दीमा बसेपनि उनको कार्यकाल त्यति सहज भने नहुने विश्लेषकहरुको भनाइ रहेको छ । राजनीतिक हिसाबमा मात्र होइन कूटनीतिक हिसाबमा पनि साउदी अरेबियाको छटपटाहट अलि बढी नै देखिन्छ । साउदी अरेबियाले केही समयअघि कतारमासथि लगाएको प्रतिबन्धले खासै असर नगरेपछि अहलिे साउदी अरेबिया अन्य मुलुकहरुलाई आफ्नो पक्षमा पारेर कतारलाई एक्ल्याउने दिशामा पनि अघि बढेको छ । यो हिसाबमा विदेश नीति पनि साउदी अरेबियाको लागि आगामी दिनमा भारी हुनसक्ने देखिएको छ । यमनमा भएका विद्रोहीहरु इरान समिर्थत रहेको कारण उनीहरुको प्रभाव यमनमा बढ्दै जानु र साउदी अरेबियाले त्यसलाई शान्त पार्न नसक्नुले आगामीदिनमा कूटनीतिक हिसाबमा साउदी अरेबियाको अर्को असफलता हुनसक्ने देखिन्छ । यस्तो अवस्थामा साउदीले आन्तरिक शुद्धीकरण गरी मुलुक बलियो बनाउनु त राम्रै कुरा हो तर सत्ताको स्वार्थमा भाइभाइलाई बढारेर आफू सत्तामा पुग्ने अभिलाषाले भने जोखिम पनि निम्त्याउन सक्छ ।
साउदी अरेबियाले कतारको पक्षमा साथ दिने वा नदिने भन्ने विषयमा स्पष्ट पार्नका लागि पाकिस्तान लगायतका मुलुकहरुसँग पनि आग्रह गरेको थियो । यद्यपि अहिलेसम्म चार मुलुकबाहेक अन्य मुलुकहरुले खुलेर कतारको विरोधमा भने उत्रिएका छैनन् । अहिले कतारको संकट पनि विस्तारै कम हुँदै गएको छ भने समस्या थप बढ्नसक्ने बताइएको छ । कतारमाथि नाकाबन्दी लगाए पनि आशा गरिएअनुसारको प्रतिफल साउदी अरेबियालाई हासिल नभएको कारण कतार संकटमा साउदी अरेबिया असफल भएको देखिन्छ । साथै यमनमा पनि साउदीको प्रभाव निकै कम हुँदै गएको छ । साउदी अरेबियाले यमनमा आफ्नो विद्रोहीविरुद्धको कारबाही जारी राखेको भए पनि नतिजा भने करिब शून्यको हाराहारीमै रहेको छ ।
यसरी हेर्ने हो भने चारैतिरबाट अहिले साउदी अरेबिया संकटको सामना गरिरहेको छ । तेलको मूल्यमा पनि आशा गरिएअनुसारको वृद्धिदर हासिल हुन नसकेको अवस्थामा यो मुलुकमा भने सत्ताको लागि ठुलो षडयन्त्र तथा अर्कोलाई कमजोर बनाउने प्रयासहरु तीव्र गतिमा भइरहेका छन् । यस्तोमा शक्तिको दुरुपयोग गरेर जो कोही पनि साउदीको सत्ता अहिलेको अवस्थामा सम्हाल्नु भने फलामको चिउरा चपाउनुसरह हुनेछ ।

Post a Comment